• १३ असोज २०८१, आइतबार

वडाको बजेट निर्माणमा विवाद

blog

कालीगण्डकी गाउँपालिका वडा नम्बर तीन जयखानीमा रहेको वडा कार्यालय । तस्विर: तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, मङ्सिर ११ गते । कालीगण्डकी गाउँपालिका वडा ३ का अध्यक्षले वडा सदस्यहरुलाई थाहा नै नदिई बजेट बनाउने गरेको पाइएको छ । 

वडाध्यक्ष रुपबहादुर श्रीसले वडा सदस्यहरुसँग समन्वय नै नगरी एकलौटी रुपमा बजेट निर्माण गर्ने गरेको वडा सदस्य तारा रानाले गुनासो गर्नुभयो । 

यस आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा वडा सदस्यहरुसँग समन्वय नगरी बजेट निर्माण र योजनाहरु समावेश गरेकाले एकलौटी रुपमा काम गर्न खोजेको उहाँको गुनासो छ ।

पटक पटक कार्यालयमा बैठक बसेर सामान धारण निर्माण गरी जाउँ भन्दा पनि अध्यक्षले अटेरी गर्ने गरेकाले काममा एक रुपता ल्याउन समस्या भएको रानाको भनाइ छ ।

यता, वडाध्यक्ष रुपबहादुर श्रीसले आफूले बैठक बस्नका लागि पहल गरे पनि परिणाम भने आउन नसकेकाले अन्तिममा वडाका योजनाहरु समावेश गरी बजेट निर्माण गरेको बताउनुभयो । 

आफूलाई पाँच वर्षका लागि जनताले निर्वाचित गरेको भन्दै यही अवस्था जारी रहिरहे आगामी दिनमा वडा एक्लै चलाउन चेतावनी समेत दिनुभयो ।

यता, गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले वडाको विवाद आन्तरिक रुपमै मिलाउन सुझाव दिएको बताउनुभयो । 

जिल्ला समन्वय समिति, गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले वडामा एक महिनाको समयमा तीन वटासम्म बैठक बस्न सक्ने प्रावधान रहेको जानकारी दिनुभयो । जयखानीमा देखिएको समस्यालाई आफूले पनि पहल गर्ने र समस्याको समाधान गर्ने बताउनुभयो ।

वडाध्यक्ष नेकपा एमालेबाट निर्वाचित हुुनुहुन्छ भने तारा राना नेकपा (माओवादी केन्द्र) निकट हुनुहुन्छ ।