• १३ साउन २०८१, आइतबार

बारामा सबै सभाको नतिजा सार्वजनिक

blog

शिवशङ्कर मिश्र 

बारा, मङ्सिर ११ गते । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको बारा जिल्लाका चारवटै निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । यसअघि तीन वटा सम्पन्न भए पनि निर्वाचन क्षेत्र नं. २ को अन्तिम परिणाम ढिलो आएको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत बाराको क्षेत्र नं २ मा जसपाका उम्मेदवार रामसहायप्रसाद यादव १३ हजार ८ सय २२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का शिवचन्द्रप्रसाद कुशवाहालाई ३५४ मतान्तरले पराजित गरेका हुन् । कुशवाहा १३ हजार ४ सय ६८ मत प्राप्त गरेका हुन् । 

क्षेत्र नं १ को प्रतिनिधि सभामा एमालेका अच्युत मैनालीले ३९ हजार १९५ मत ल्याएर विजयी भएका हुन् । काँग्रेसका उमाकान्त चौधरीले ३० हजार ५६ मत प्राप्त गरेका हुन् ।

क्षेत्र नं २ मा जसपाका रामसहाय यादवले १३ हजार ८२२ मत ल्याएर विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका शिवचन्द्र कुशवाहा १३ हजार ४६८ मत प्राप्त गरेका हुन् ।

क्षेत्र नं ३ मा एमालेकी ज्वालाकुमारी साहले २० हजार २५१ मत प्राप्त गरी विजयी भएकी छिन् भने, जसपाका रामबाबुप्रसाद यादवले १७ हजार २६९ मत प्राप्त गरेका हुन् ।

क्षेत्र नं ४ मा नेकपा एसका कृष्णकुमार श्रेष्ठ (किसान)ले २९ हजार ५०५ मत प्राप्त गरी विजयी भएका छन् भने एमालेका एकबाल मियाँ १९ हजार ४३९ मत प्राप्त गरेका हुन् ।

यस्तै,  मधेस प्रदेशसभामा नेकपा (एमाले)ले चार सिट, जसपाले दुई, लोसपाले एक र स्वतन्त्रले एक सिट जितेको छ ।