• १३ असोज २०८१, आइतबार

काभ्रेका १२ जना उम्मेदवारले सय मत पनि पाएनन्

blog

केदार तिमल्सिना 

काभ्रेपलान्चोक, मङ्सिर ११ गते । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ मा काभ्रेपलान्चोक जिल्लाको दुई प्रतिनिधि सभा र त्यसअन्तर्गतको प्रदेश सभामा उम्मेदवारी दिनुभएका उम्मेदवारमध्ये एक दर्जन उम्मेदवारले एक सयभन्दा कम मत प्राप्त गर्नुभएको छ । जिल्लामा दुई प्रतिनिधि सभा र त्यस अन्तर्गतका प्रदेश सभामा गरी कुल ६४ जनाले उम्मेदवारी दर्ता गराउनुभएको थियो । 

निर्वाचनको मत परिणाम अनुसार प्रतिनिधि सभा १ मा पाँच जना, प्रतिनिधि सभा २ मा छ जना र प्रतिनिधि सभा १ को प्रदेश सभा (ख) मा उम्मेदवारी दिनुभएको एक उम्मेदवारले एक सयभन्दा कम मत पाउनुभएको हो । निर्वाचन आयोगले तथ्याङ्क अनुसार काभ्रेपलान्चोक जिल्लाको प्रतिनिधि सभा १ का नेपाल मजदुर किसान पार्टीका उम्मेदवार पूर्णसिंह तामाङले ९४ मत, राप्रपा नेपालका गोविन्दराज गिरीले ८५ मत, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रकाश लामाले ४६ मत मात्रै पाउनुभएको  छ । यस्तै स्वतन्त्र उम्मेदवार राजन घोरासाइनेले ५९ मत र माधवप्रसाद कँडेलले ३३ मत पाउनुभएको छ । यसै गरी जिल्लाको प्रतिनिधि सभा २ मा  नेकपा माओवादी समाजवादीबाट उम्मेदवारी दिनुभएका योकबहादुर घिसिङले ९९ मत, मङ्गोल नेशनल अर्गनाइजेशनका अचम्म लामाले ९२ मत पाउनुभएको छ । 

प्रतिनिधि सभा २ मा नेकपा परिवर्तनबाट उम्मेदवारी दिनुभएका उत्तरकुमार लामाले ८६ मत, स्वतन्त्र उम्मेदवार बोधनाथ न्यौपानेले ८३ मत, कृष्ण खत्रीले ४५ मत र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विजय तामाङले ३५ मत प्राप्त गर्नुभएको छ । जिल्लाको प्रतिनिधि सभा १ को सदस्य पदको लागि १७ जना र प्रतिनिधि सभा २ मा १६ जनाले उम्मेदवारी दिनुभएको थियो । यस्तै जिल्लाको प्रतिनिधि सभा १ अन्तर्गतको प्रदेश सभा (ख) का उम्मेदवार दुर्गाबहादुर घर्तीले ५० मत पाउनुभएको छ । यो प्रदेश सभामा नौ जनाले उम्मेदवारी दिनुभएको थियो ।