• १३ असोज २०८१, आइतबार

एक सय मत नकटाउने चौबीस उम्मेदवार

blog

मकवानपुर समाचारदाता

हेटौँडा, मङ्सिर ११ गते । गत आइतबार भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मकवानपुरमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि गरी ६९ जना उम्मेदवार रहेकोमा २४ जना उम्मेदवारको सयभन्दा कम मत आएको छ। निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार प्रतिनिधि सभाको दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा प्रतिनिधि सभा सदस्यका २६ जना उम्मेदवार रहेकोमा नौ जनाले एक सयभन्दा कम मत प्राप्त गरेका छन्। आठ मत मात्र पाउने उम्मेदवारसमेत छन्।

नेपाल मजदुर किसान पार्टी, नेकपा माले, जनता समाजवादी पार्टीलगायतका कतिपय पुराना दलले मत पाउन नसक्दा र कांग्रेस, एमाले र माओवादी केन्द्रप्रति असन्तुष्टि बढ्दै गर्दा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी राम्रै मत प्राप्त गर्न सफल भएको छ।

मकवानपुरका प्रतिनिधि सभा क्षेत्र नं. १ मा सय मत नकटाउने चारवटा दल र दुई स्वतन्त्रसहित छ जना छन्। १६ जना उम्मेदवार रहेको यस क्षेत्रमा दुई स्वतन्त्रसहित १२ जना प्रतिनिधि सभा सदस्यका उम्मेदवारको एक हजारभन्दा कम मत आएको छ।

गणना भएको मत ९१ हजार १०९ मा बदर मत पाँच हजार ५४ मत। प्रतिनिधि सभा क्षेत्र नं. १ को (क)मा दुई स्वतन्त्रसहित तीन जना उम्मेदवारको सयभन्दा कम आएको छ। दुई स्वतन्त्रसहित १० जना प्रदेश सभा सदस्य उम्मेदवार रहेको यस प्रदेश सभा क्षेत्रमा सात जना उम्मेदवारले एक हजारभन्दा कम मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ। यस क्षेत्रमा ४५ हजार ९९८ मत गणना भएकोमा एक हजार ६६३ मत बदर भएको थियो। यस्तै प्रतिनिधि सभा क्षेत्र नं. १ को (ख)मा छ जना स्वतन्त्रसहित १५ जना प्रदेश सभा सदस्य उम्मेदवार रहेकोमा पाँच जना स्वतन्त्रबाहेक सबै उम्मेदवारले सयभन्दा बढी मत ल्याएका छन्। 

यस्तै चार जना प्रदेश सभा सदस्य उम्मेदवारको मात्र एक हजारभन्दा बढी मत आएको छ। यस क्षेत्रमा ४५ हजार ८० मत गणना भएकोमा एक हजार ५०४ मत बदर भएको छ। यस्तै प्रतिनिधि सभा क्षेत्र नं. २ मा एक जना स्वतन्त्र उम्मेदवारसहित तीन जनाले सय मत कटाउन सकेका छैनन्। एक जना स्वतन्त्रसहित १० प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेको यस क्षेत्रमा एक हजार मत पनि प्राप्त नगर्ने उम्मेदवारको सङ्ख्या पाँच रहेको छ। यस क्षेत्रमा ८६ हजार ३०१ मत गणना भएकोमा चार हजार १०२ मत बदर भएको थियो।

प्रतिनिधि सभा क्षेत्र नं. २ को (क)मा तीन स्वतन्त्रसहित आठ जना प्रदेश सभा सदस्य उम्मेदवार रहेकोमा दुई स्वतन्त्र उम्मेदवारको सयभन्दा कम मत आएको छ भने एक हजारभन्दा कम मत ल्याउनेमा पाँच हजार उम्मेदवार रहेका छन्। यस क्षेत्रमा ४५ हजार ८५३ मत गणना भएकोमा एक हजार ५९९ मत बदर भएको थियो।

त्यसैगरी प्रतिनिधि सभा क्षेत्र नं. २ को (ख)मा तीन स्वतन्त्रसहित १० जना प्रदेश सभा सदस्य उम्मेदवार रहेकोमा पाँच उम्मेदवारले सयभन्दा कम र सात उम्मेदवारले एक हजारभन्दा कम मत प्राप्त गरेका छन्। यस निर्वाचन क्षेत्रमा ४० हजार ३७८ मत गणना भएकोमा एक हजार ४४९ मत बदर भएको छ। दुई प्रतिनिधि सभा सदस्य रहेको मकवानपुरमा एमाले र राप्रपाले एक–एक प्रतिनिधि सभा सदस्य तथा माओवादी केन्द्रले दुई, कांग्रेस र एमालेले एक÷एक प्रदेश सभा सदस्य जितेको छ।