• १३ असोज २०८१, आइतबार

बागमतीको लगातार तेस्रो जित

blog

म्यान अफ दि म्याच घोषित बागमतीका अहमद राजा । तस्बिर : क्यान

काठमाडौं, मंसिर १० गते । बागमती प्रदेशले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । मूलपानी क्रिकेट मैदामना शनिबार भएको खेलमा बागमतीले मधेश प्रदेशलाई एक सय ५२ रनले हरायो ।

बागमतीले दिएको दुई सय १८ रनको विजयी लक्ष्य पछ्याएको मधेश प्रदेश २५.५ ओभरमा सबै विकेटको क्षतिमा ६५ रनमा समेटिएको थियो । मधेश प्रदेशका लागि कप्तान अविशेक तिवारीले सर्वाधिक १८ र मयन यादवले ११ रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन जोड्न सकेनन् ।

बलिङमा बागमतीका अहमद राजाले पाँच विकेट लिनुभयो । अभिशेक कोइरालाले तीन तथा प्रतीक श्रेष्ठ र सक्रिय कार्कीले एक एक विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको बागमतीले ४७.३ ओभरमा सबै विकेटको क्षतिमा दुई सय १७ रन बनाएको थियो ।

बागमतीका लागि उत्तम मगरले ७१ रन बनाउनुभयो । योगेश भाटले ५९, प्रतीक श्रेष्ठले ३० र रोशन विकले १४ रन बनाउनुभयो । बलिङमा मधेशका राजेश यादवले चार विकेट लिनुभयो । अविजित मण्डलले तीन, रञ्जित कुमारले दुई र कप्तान अविवेक तिवारीले एक विकेट लिनुभयो । जितसँगै ६ अङ्क बनाएको बागमती शीर्षस्थानमा छ । अङ्कविहीन मधेश अन्तिममा छ । 

यसैगरी त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई ६ विकेटले हराएको छ । कर्णालीले दिएको एक सय एक रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले २०.५ ओभरमा चार विकेटको क्षतिमा एक सय दुई रन जोड्दै पूरा गरेको थियो ।

लुम्बिनीको जितमा आकाश त्रिपाठीले अविजित ५२ रन बनाउनुभयो । कप्तान विशाल विक्रम केसीले १३ र प्रज्वल थापाले १० रन बनाउनुभयो । बलिङमा कर्णालीका अनुज चनाराले दुई तथा सन्दीप शाही र मोहन विकले एक एक विकेट लिनुभयो । 

यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले २२.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय रन बनाएको थियो । कर्णालीका लागि कप्तान विपिन रावलले ३६ रन बनाउनुभयो । सुवास एयरले २३ रन जोड्नुभयो । बलिङमा लुम्बिनीका विशाल विक्रम केसीले चार विकेट लिनुभयो । अविवेक गौतमले दुई विकेट लिनुभयो ।

पहिलो जितसँगै लुम्बिनीले दुई अङ्क बनाएको छ । लगातार दोस्रो हार खेपेको कर्णाली अङ्कविहीन छ । सात प्रदेशको सहभागिता रहेको प्रतियोगितामा लिग चरणका शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपियाँ पुरस्कार पाउनेछन् । यस्तै म्यान अफ दि सिरिजलाई १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजक नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।