• १२ असोज २०८१, शनिबार

झोलुङ्गे पुल उद्घाटनदेखि मतदाता सम्मानमा निर्वाचित शर्मा व्यस्त

blog

झोलुङ्गे पुल उद्घाटनदेखि मतदाता सम्मानमा निर्वाचित शर्मा व्यस्त

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर १० गते । नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले जनताको विश्वासअनुसार आफूहरू कुराभन्दा बढी काम गरेर देखाउने बताउनुभएको छ ।

शनिबार बिहान आफ्नो निर्वाचन क्षेत्रको मेचीनगर १५ स्थित बिचार्नी बजार र हेल्दुबारी जोड्ने निन्दा खोलामा निर्माण हुने झोलुङ्गे पुलको शिलान्यास गर्दै शर्माले स्थानीय आवश्यकताको आधारमा विकास निर्माणका कार्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने जनाउँदै यस्तो बताउनुभएको हो ।

शर्माले आफ्नो जित यस क्षेत्रका सबैको जित भएको भन्दै आफूले निर्वाचनको समयमा गरेका प्रतिबद्धता र बाचा पुरा गर्ने जनाउनु भएको छ । यहाँहरूले गरेको विश्वासलाई म मर्न दिने छैन, शर्माले भन्नुभयो ।

यस पुलका लागि सङ्घीय सरकार भौतिक पूर्वाधार मन्त्रालयले ७५ लाख बजेट विनियोजन गरेको जनाइएको छ । ३५० मिटर लम्बाइको यो पुल बढीमा दुई वर्षभित्रमा निर्माण सम्पन्न हुनेछ ।

शर्मा मतदाता सम्मानमा व्यस्त

यसैबीच, नवनिर्वाचित शर्माले मतदाताहरूलाई सम्मान गर्ने अभियान सुरु गर्दै विजय उत्सवलाई फरक रूपमा मनाइरहनुभएको छ । उहाँले यस क्षेत्रका चिया मजदुर, सडकमा व्यवसाय गर्ने व्यवसायी, विभिन्न खेलाडी, शहीद तथा शहीद परिवारलगायतलाई उनीहरूको कार्यस्थल र घरमा पुगेर नै सम्मान गर्नुभएको छ ।