एकाधबाहेक सबै कैदी प्रत्येक दिन बिहानको कलिलो घाम ताप्न बाहिर चौरमा निस्कन्छन् र झन्डै तीन घण्टा ठाउँ सरीसरी पहार तापेर समय कटाउने गर्छन् । हिजोजस्तै आज पनि ती दुई जनाका लागि कुटका कार्टुनमा दुई कार्टुन फलफूल बिहान घाम तापिरहेको बेला जेलभित्र आइपुग्यो । त्यो देख्नासाथै होरीलाल हत्त न पत्त उनीहरूका अगाडि गएर हात जोड्दै उभिइरहे । उनी त्यतिबेलासम्मै त्यहाँ उभिइरहे जतिबेलासम्म उनीहरूले फलफूल प्लास्टिकका झोलामा खन्याएर ती दुई खाली कार्टुन उनलाई दिएनन् । त्यसरी कार्टुन हात पार्दा हिजो र आज दुवै दिन होरीलालको कालो र बूढो अनुहार पनि निकै उज्यालिएको छेउछाउका सबैले देखे । ती दुई जना खाइलाग्दो ज्यान भएका मान्छेहरू तीन दिनअघि मात्र जेलमा आएका हुन् । नयाँ भएकाले उनीहरू को हुन् र के मुद्दामा आएका हुन् भन्ने कसैलाई थाहा छैन । तर एउटा कुरा के भने उनीहरू आएकै दिनदेखि जेलभित्र खानेकुराको छेलोखेलो नै हुने गरेको छ । उनीहरू दुई जनालाई बिहान बेलुका दुई छाकका लागि आउने खाना पन्ध्र÷बीस जनाका लागि पुग्दो हुन्छ । झन् फलफूल त जेलभरिकै कैदीका निम्ति बाँडचुँड गरेर खान पुग्छ ।
सार्वजनिक अपराध ऐनअन्तर्गतको मुद्दामा तीन महिना जेल सजाय तोकिएर हामी यहाँ आएको आज चौधौँ दिन भयो । त्यसो त हामीमाथि ज्यान मार्ने उद्योगकै मुद्दा लागेको हो तर अदालतले त्यो ठहर नगरी सार्वजनिक अपराध प्रमाणित गरिदियो । हाम्रा साथीहरू पनि हिजो अलिअलि फलफूल लिएर भेट्न आएका थिए । हाम्रा लागि के ल्याइदिए भन्नेभन्दा पनि त्यति टाढाबाट ती भेट्न आए, त्यही नै ठूलो कुरा हो । हिजो नै उनीहरू आउनुभन्दा अघि शेखरबाबुका मान्छे पनि हामीलाई भेट्न आएका थिए । त्यसो त उनी कुनै खाइखुइ मान्छे नभएर शेखरबाबुका आफ्नै भान्जा र सुगरमिलका अदेखा साझेदार पनि हुन् । आफ्ना भानिजलाई शेखरले हामीलाई भेट्नभन्दा पनि लोभ्याउन पठाएका रहेछन् । भेटमा उनले हामीसमक्ष यदि बाहिर गएर किसानलाई नभड्काउने हो भने हामी दुईको हिसाब तुरुन्तै चुक्ता गर्ने र जेलबाट छिटो निस्कनका लागि पनि सहयोग गर्ने प्रस्ताव गरेका थिए । यस्तो कुरा सुन्नेबित्तिकै साथी बुदिरामले आक्रोसित भएर उनको मुखभरि थुकिदियो र भर्खरै उनैले ल्याइदिएको प्लास्टिकको झोला जो मेरो हातमा थियो, त्यो खोसेर बाहिर मिल्काइदियो । अनि मैले किन थुकेको भनी प्रश्न गर्दा रिसाएर भन्यो, “कालिचरण ! तिमी अझ यस्तै सोझो र सहने भयो भने यिनीहरूले हामीलाई झन्झन् हेप्दै जानेछन् ।”
त्यसरी फाल्दा झोलाका बदाम र सुन्तला भुइँभरि छरिए । तनावको स्थिति उत्पन्न भएपछि नजिकै रहेका सुरक्षाकर्मीले हस्तक्षेप गरेर हाम्रो भेटघाट टुङ्गाइदिएका थिए । शेखरबाबुका भान्जा ओझेल नपरुन्जेलसम्म बुदिरामले उनलाई तथानाम गाली गरिरह्यो । पछि भेट्न आएका हाम्रा साथीहरूले भनेअनुसार हामी गिरफ्तार भएपछि शेखरबाबुले बाहिर भएका हाम्रा साथीहरूमा फुट ल्याउन निकै कोसिस गरेका रहेछन् । त्यसका लागि साम, दाम, दण्ड, भेद सबै उपाय अपनाउँदा पनि उनले सोचेजति सफलता भने पाउन सकेनछन् । हुन त त्यसअघि पनि गाउँका किसानलाई विभिन्न राजनीतिक दलमा आबद्ध बनाएर फुट ल्याउने र सधैँ एकअर्काविरुद्ध झगडा गराइ आफूले शोषणका निम्ति अनुकूल वातावरण बनाउने कोसिस उनले गरेकै थिए । त्यो योजना सफल हुन नदिएकाले पनि उनी हामीहरूसँग थप आक्रोशित भएका हुन् भन्ने कुरा त हामीले बुझेकै थियौँ ।
जिल्लामा नाम कहलिएका प्रोफेसर भान्जालाई कासेली बोकाएर भेट्न पठाउँदा जेलमा परेको बुदिरामले मुखभरि थुकेर अपमान गरेको हिजोको घटनाले सुगरमिलका मालिक शेखरबाबुको आत्मसम्मानमा लागेको चोटले हाम्रो मुद्दालाई अब थप पेचिलो बनाउने कुरा हामीले अनुमान गरिसकेका छौँ । अब वारपारको अवस्था आएकोले त्यसका निम्ति हामी तयार हुनुपर्ने कुरा गरेर हिजो हामीले हाम्रा साथीलाई पठाएका थियौँ । हुन त यो एक न एक दिन वारपारको तहमा पुग्नुपर्ने विषय नै हो । शेखरले आफ्नो मान, प्रतिष्ठा र दौलत गुमाउन चाहँदैनन् र हाम्रा निम्ति त झन् जीवन मरणकै विषय भएको हुँदा यो त्यति सहज कुरा पनि होइन । शान्त रहेको पोखरीमा जे जसरी भए पनि ढुङ्गा हानेर आजको अवस्थामा ल्याउने काम त पहिले उनले नै गरेका हुन् । आफ्नै लयमा चलेको सुदूरको गाउँ नजिकै चिनी कारखानाको स्थापना गरेपछि चार वर्षअघि शेखरले त्यस भेगका किसानलाई अन्य खेतीबाट भन्दा नगदेबालीको रूपमा रहेको उखु लगाउनाले तेब्बर फाइदा हुने भनी हौसाएका थिए । किसानले उखु खेती गरेको खण्डमा उचित मूल्यमा आफूले त्यो सबै खरिद गर्ने कुरामा विश्वस्त बनाउँदै उनले उखु खेतीका निम्ति पछि हिसाबमा मिलान हुनेगरी प्रतिपरिवारलाई दस हजारका दरले बैना रकम पनि दिएका थिए । नजिकै चिनी कारखानाको स्थापनाले साँच्चै नै आफूहरूको भाग्य फर्केको ठानी स्थानीय किसानहरू परम्परागत खेती किसानीबाट पूरै पराङ्मुख भएका थियौँ ।
जब किसानहरूका उखुले सुगरमिल राम्रोसँग चल्न थाल्यो तब शेखरले किसानहरूलाई ठूलो धोका दिन थाले । मिलले उखुसँगै किसानका आशा, भरोसा, विश्वास र आँसु पसिना पनि पेल्न थाल्यो । उखुको मूल्य नदिने र त्यसका निम्ति दबाब दिने किसानका उखु समयमै खरिद नगरी खेतमै सुकाइदिने पापकर्म उनले गर्न थाले । उखु बिक्री नहुने र भए पनि पैसा नपाउने भएपछि किसानका परिवार भोकले छट्पटिन थाले । त्यस्तो हालतमा पु¥याएर हाम्रा जग्गा कौडीका भाउमा हडप्दै उठीवास लगाउने दाउमा रहेछन् शेखर । यो षड्यन्त्रको भित्री पक्ष खुलेपछि किसान आन्दोलन उठ्यो र त्यसले स्वतःस्फूर्त रूपमा उनलाई कालोमोसो दल्ने र जुत्ताको माला लगाएर घुमाउने गरेको हो । त्यसैबापत अगुवाका नाताले बुदिराम र ममाथि सार्वजनिक अपराधको मुद्दा लागेको हो ।
ए ! कुरा त होरीलालबाट सुरु भएर हामीमा पो केन्द्रित हुन आइपुगेछ । जेलमा भएका थुप्रै मान्छेमध्ये हामीलाई होरीलाल नै सबैभन्दा विचित्रका लाग्ने गर्छन् । जेलमा सबैका आआफ्नै समूह वा साथी छन् तर उनी भने नितान्त एक्लै छन् । उनका थप विशेषतामा कसैसँग गफगाफ नगर्ने; दिनभरि चौरमा बसेर काम गरिरहने; आफूले खाना नपकाउने मात्र होइन उनको आफ्नो भान्सा पनि छैन । भाँडा माझिदिए बापत जसले जे दिन्छ, त्यही खाने र सबैभन्दा ठूलो कुरा आफूले केही काम नगरेसम्म अथवा आफूले केही नदिएसम्म अरूले दिएको केही पनि नलिने, नखाने उनको कठोर व्रत नै रहेछ ।
होरीलाल तराईका धर्तीपुत्र । जस्तोसुकै गर्मीमा पनि खुला ठाउँमा बसेर काम गर्ने हुँदा कुनै कालोवस्तुको परिचय दिनुपर्दा उनैको शरीर देखाए पुग्नेजस्तो छ । मुखमा टमक्क दाँत भए पनि ती सेता हुन्थे होला तर दाँत दुईवटा मात्र छन् र ती पनि बेरङ्गी नै छन् । खासमा होरीलालको हुलिया र स्वभाव जति विचित्रको छ, उनको जीवनकथा पनि त्यत्तिकै अनौठो रहेछ । हिजो साँझ जेलका पुराना कैदी चुन्निलालले हामीलाई होरीलालको कथा यसरी सुनाए ।
“होरीलाल खासमा देहाती मान्छे हुन् । उनको गाउँको सबैभन्दा ठूलो परिचय भनेकै गरिबी थियो । आफ्नो सम्पत्ति भन्नु गाउँमा डेढ कठ्ठा जग्गा थियो । तर सानैदेखि लगनशील र मेहनती होरीलाल युवावस्थामा पुग्दानपुग्दै सिपालु सिकर्मी भइसकेका थिए । आफ्नो त्यही सीपले गर्दा उनले एउटा छोरोसमेत तीन जनाको परिवार सजिलै पालेका थिए । उनको सीप र इमानदारी देखेर होला, गाउँको जमिन्दार हरिश्चन्द्रले आफ्नो पुरानो घरको मर्मतसम्भार गर्ने जिम्मा होरीलाललाई दियो । होरीलालले त्यतिबेला आफ्नो सीप, क्षमता र इमानदारी सबै खन्याएर हरिश्चन्द्रलाई रिझाए र त्यसको पुरस्कारस्वरूप जागिरका लागि उनी काठमाडौँ आउन पाए । काठमाडौँमा हरिश्चन्द्रका छोराहरूको ठूलो व्यापार थियो । उनीहरूकै कम्पनीमा होरीलाल जागिरे भए । जागिरमा उनले खासै गर्नुपर्ने काम त केही थिएन तर आफ्नो नागरिकता भने कम्पनीलाई बुझाउनु परेको थियो । बसीबसी तलब हातमा पर्ने सजिलो जागिर उनले पाएका थिए । फुर्सदको समयमा उनले आफ्नो सिकर्मी सीपको पनि सदुपयोग गर्थे । कहिलेकाहीँ जमिन्दारका छोराहरूले कुनैकुनै कागजपत्रमा उनको ल्याप्चे लगाउँथे तर ती के लेखिएका कागज थिए उनी पटक्कै बुझ्दैनथे र बुझ्नुपर्छ भन्ने पनि उनलाई लाग्दैनथ्यो । आफूमाथि त्यति सजिलो जागिरको निगाह गर्नेहरूप्रति होरीलाल विश्वस्त मात्रै होइन नतमस्तक नै थिए । पछिपछि त होरीलाल गाउँमै गएर दुई÷चार महिना बसे पनि पूरा तलब पाइरहने गर्न थाले ।
एक पटक त्यसरी गाउँमा गएर बसेका बेला आठ÷दस जना प्रहरी गएर उनलाई समाए । होरीलाललाई त्यसबेला नौ रेक्टरभन्दा माथिको भूकम्प गएजस्तो लाग्यो । केही बुझ्न नपाउँदै उनीहरूले अड्डासार गर्दै काठमाडौँ ल्याए र १२ करोडभन्दा बढी राजस्व छली गरेबापतको कसुरमा जेलमा हालियो । अरू त के भन्ने आफू किन जेल परेको भन्ने कुरा अलिअलि मात्रै बुझ्न पनि होरीलाललाई छ, महिनाभन्दा बढी समय लाग्यो । त्यति बेला जेलमा आउने र जाने सबैले उनीप्रति सहानुभूति देखाउँदै भन्ने गर्थे– कुरा यति प्रस्ट छ, औँठाछाप मान्छेले करोडौँ पुँजी भएको कम्पनी चलाउन सक्छ कि सक्दैन भन्ने कुरा कम्पनी दर्ता गर्ने बेलामा नै बुझिने कुरा हो । कम्पनीले १२ करोड राजस्व छली गर्न अर्बौंको कारोबार गर्नुपर्छ । त्यति ठूलो कारोबार गर्दा सरकारी कर्मचारीले कम्पनीको मालिक को हो भनेर सोधखोज त पक्कै गरे होलान् । त्यति ठूलो राजस्व छलीको कारोबार एक/दुई दिनमा नभई लामो समयसम्म भइरहँदा र त्यसबापतको राजस्व प्राप्त नहुँदा सम्बन्धित निकायले के हेरेर बसे होला ? एकातिर राज्यलाई प्राप्त हुनुपर्ने राजस्व गुमेर अपराध भएको छ, अर्कातिर एउटा निर्दोष मान्छे फसेर पापकर्म भएको छ । यति ठूलो चक्रब्यूहमा फसाउने त अपराधी नै भए । अनि सुन्दै लाज लाग्ने घटना हुँदा देशको नीति निर्माणको तहमा बसेकाहरू कसरी एकैचोटि अन्धो र बहिरो हुन सके होलान् । मुद्दा लगाउने र न्याय दिनेहरूको मनमुटु त्यतिबेला कहाँ गएको थियो होला ?” यस्ता कुरा सुन्दा सुन्दा अलिअलि त होरीलालले पनि बुझ्न थालेका थिए । तर अहिले होरीलाल जेलमा बसेको त्यही मुद्दामा होइन । त्यस पटकका लागि तोकिएको जेलसजाय भुक्तान गरेर उनी छुटेका थिए । तर त्यस बेला उनले आफूलाई बिनाकसुर फसाउनेहरूलाई काट्छु भन्दै हिँडे । होरीलालको त्यही घोषणाबाट डराएर हरिश्चन्द्रका छोराहरूले उनलाई लागूऔषधको नक्कली मुद्दा बनाएर पैसाको बलमा फेरि फसाए । जीवनमा नदेखेको, नछोएको र नामसमेत नसुनेको लागूऔषध मुद्दामा उनी झन् लामो समयसम्म जेल बसे ।
अहिले त होरीलालको त्यो पछिल्लो मुद्दाको सजाय भुक्तान भएको पनि दुई वर्ष भयो । तर यसबीचमा उनमा अलिकति मानसिक समस्या देखियो । उनी बिस्तारै बिस्तारै विगतका र अलि परपरका कुरा सम्झिन र सोच्न नसक्ने हुँदै गए । श्रीमती र छोरालाई सम्झिन छाडेको पनि चार पाँच वर्ष भयो । उनलाई जेलबाट बाहिर पठाए पनि कहीँ जान सक्दैनन् । चार पाइला पर नपुगी फर्केर आइहाल्छन् । यहाँ आउने जेलर र सुरक्षाकर्मीहरूलाई उनका बारेमा थाहा त छ तर केही भन्दैनन् । बाहिरका मान्छे वर्षौंदेखि उनलाई भेट्न कोही आएका छैनन् । भित्रकाहरू कसैको केही बिगार नगर्ने बरु सहयोगी नै हुने हुँदा उनीप्रति सबैको सहानुभूति छ । जसले जे काम अह्राए पनि बिना कुनै हिच्किाचावट उनले गर्छन् । त्यसरी काम गरेबापत उनले सुर्तीको आशा गर्छन् तर त्यो पनि माग्न चाहिँ माग्दैनन् । होरीलालले जानेको सिकर्मी सीप अहिले पनि यथावतै छ । भान्साका ज्यावल प्रयोग गरेर कुटका गद्दा काटकुट पार्दै विभिन्न सामान बनाउँछन् । कसैले माया गरेर रङ किनिदयो भने उनी असाध्यै खुसी हुन्छन् र आफूले बनाएका सामान सिँगारेर यहीँका मान्छेलाई दिन्छन् । बिहान सबेरै उठेदेखि बेलुका अबेरसम्म यस्तै कामका लागि उनलाई भ्याइनभ्याइ हुन्छ ।
नभन्दै होरीलालले अघि कुटको कार्टुन जोबाट लिएका थिए त्यसबाट बनेको चिटिक्कको घर लगेर उनीहरूलाई नै उपहार दिए । अघि कार्टुन लिन गएको बेला स्याउ र सुन्तला दिन खोज्दा लिन नमानेका उनले अहिले भने थपक्क ती समाते । मुसुक्क हाँस्दा उनका दाँत नभएको गिजा देखियो । शरीर जेलभित्र भए पनि उनमा कुनै पश्चाताप छैन । बरु अथाह सन्तुष्टि पो छ त । सुर्तीको आशाले धेरैबेरसम्म नबोलिकन उभिइरहे पनि नपाएपछि फेरि आएर आफ्नो काममा मग्न भए ।