नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा अग्रणी भूमिका निर्वाह गर्दै आएको नेपाली कांग्रेस र शीर्षस्थ नेताहरूको सामान्यदेखि असामान्य व्यक्तित्वसम्मको मूल्याङ्कन गर्न ‘काठमाडौँ कांग्रेस र तीर्थराम’ पुस्तकलाई एकपल्ट गहिरिएर अध्ययन गर्नैपर्ने हुन्छ । वि.सं. २०४६ अघिसम्म प्रतिबन्धित अवस्थामा रहेको नेपाली कांग्रेसलाई ‘काठमाडौँ कांग्रेस’ ले नै नेतृत्वदायी ऊर्जा प्रदान गरेको तथ्य तीर्थराम डङ्गोल, मार्सल जुलुम शाक्य, हरिबोल भट्टराई, मनमोहन भट्टराई, भीमसेनदास प्रधान, वीरनाथजी, योगेन्द्रमान शेरचन, अनङ्गमान शेरचन, दलसिंह थापा, अरविन्द ठाकुर, चिरञ्जीवी तिवारी, कपिलेश्वर श्रीवास्तव, लीलाबहादुर क्षेत्री, कमलबहादुर खड्का, दयानन्द वैद्य, पीएल सिंह, श्रीरामजी, नीलमणि शर्मा, वीरेन्द्रभक्तजस्ता त्यागी व्यक्तित्वको, बलिदान र सङ्घर्षले पुष्टि गरेको छ । ‘जय नेपाल’को उद्गमदेखि ‘छायाचित्र’ सम्मको पटाक्षेपमा आइपुग्दा ९८ वटा अध्यायले कांग्रेसलाई चित्रित गर्न सघाउ पु¥याएको देखिन्छ । संस्मरणका रूपमा तीर्थराम डङ्गोलद्वारा तयार पारिएको आत्मकथात्मक चरित्रको यो कृतिले तत्कालीन नेपालको राजनीतिक परिदृश्यलाई सशक्त ढङ्गबाट प्रस्तुत गरेको छ । ४४७ पृष्ठमा ‘काठमाडौँ कांग्रेस र तीर्थराम’ले डङ्गोल परिवारको कथा र व्यथा सँगसँगै काठमाडौँ कांग्रेसको दर्द र विरहलाई पनि इमानदारीपूर्वक छर्लङ्ग पारेको देखिन्छ । तीर्थराम स्वयं त्यागी, इमानदार, सङ्घर्षशील, कर्मठ र देशभक्त सिपाहीका रूपमा चित्रित यस आत्मवृत्तान्तले सुवर्णशमशेर, बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र रामचन्द्र पौडेलसम्मको प्रतिविम्बलाई जस्ताको तस्तै उतारेको छ । तीर्थराम डङ्गोलको ‘राजनीतिक जीवन र क्रियाकलाप’ थाहा पाउन उहाँका प्रेरक व्यक्तित्व गौरीप्रसाद दवाडी नहुनु भएको भए यो कृति लेखिने थिएन र नेपाली राजनीतिका जिज्ञासु र अध्येताहरूले काठमाडौँ कांग्रेस र त्यहाँ भएका अन्योल, तिकडम र गुटबाजीका कारक तìवहरूबारे अनभिज्ञ रहनुपर्ने थियो । गौरीप्रसाद दवाडीजस्तै डा. विजय कटुवाल पनि दोस्रो प्रेरक व्यक्तित्व देखिनुहुन्छ, तीर्थरामको लेखनमा प्राण सञ्चार गर्न ।
वि.सं. २०३६ मा वीरेन्द्र दाहालले बीपी कोइरालाका भाषणका तीन पुस्तक प्रकाशन गरेको देखिन्छ । ती पुस्तकमा अनेक महìवपूर्ण सामग्री छन् । त्यहाँ बीपीको एउटा प्रसङ्ग बृहत मार्मिक र गम्भीर छ । बीपीका दुई स्वीकारोक्तिहरू– आफ्नो जीवनकालमा बीपीले नेपाली कांग्रेसलाई अनुशासनमा राख्न नसकेको आत्मबोध र नेपाली कांग्रेसको क्रियाकलापको सिद्धान्त र आदर्शभन्दा रुचि र अरुचिले काम गरेको तितो सत्य टड्कारो रूपमा दर्शाइएका छन् । साढे चार दशकअघि बीपीले स्वीकारेको कटु सत्यलाई वर्तमान कांग्रेसले देखाइसकेको छ ।
बीपीको कुशल नेतृत्व र सुवर्णशमशेरको त्यागका अगाडि अन्य नेता त्यति अग्लो देखिएका छैनन्, भन्ने कुरालाई पुष्टि गर्ने प्रयास गरिएको छ यस पुस्तकमा । गणेशमानजीलाई गणेशमान बनाउने पीएल, बीपीमाथि आक्रमण, क्षेत्रपाटी दरबारको आदेश, विदेश भ्रमणको स्मृति, पुस्तक पढ्ने आदत, पार्टी विभाजन, नेपालमा दाउमा पनि खाने भाउमा पनि खाने प्रवृत्ति, दरबार हारेको दिन, पाकिस्तानमा भुट्टोलाई फाँसी दिइएको प्रसङ्ग, जनमत सङ्ग्रहको घोषणा, २०१८ सालको क्रान्तिका नायक सुवर्णशमशेरको उच्च छवि, साहित्य र साहित्यकारहरूले आकर्षित गरेको सन्दर्भ, इन्दिरा रेष्टुरेन्टको जमघट, कांग्रेस हुनुको जरो–साहित्य, घरबाटै अपमानित हुनुको पीडा, योगेन्द्रमानको काठमाडौँमा रहेको उर्लिदो प्रतिष्ठा, लथालिङ्ग देशको भताभुङ्ग चाला, समृद्ध नेवारी संस्कृतिको व्याख्या, तरुण पत्रिकाको महìव, ‘भेट्रन कांग्रेस’ गाथा, पञ्चायत बहिष्कार, गणेशमानजीले किशुनजीको नाम प्रधानमन्त्रीमा प्रस्ताव गर्नुको रहस्य, भारतीय दूतावासको हस्तक्षेपलगायत अन्य विविध महìवका कथा र व्यथाले भरिएको यो कृतिभित्र तीर्थरामको कथा मात्रै छैन । प्रजातन्त्र आउनुअघिको नेपाल र प्रजातन्त्र हुँदै लोकतन्त्रमा प्रवेश भएको नेपालको पूर्ण शब्द छवि छ । ‘काठमाडौँ कांग्रेस र तीर्थराम’ का वृत्तान्तकार तीर्थरामले ‘मलाई कसले पढ्ला र’ भनेर गौरीप्रसाद दवाडीसित सङ्कोच मान्नुभएको प्रसङ्गलाई हेर्दा उहाँको सरलता र विनम्रता प्रस्ट हुन्छ । तीर्थरामले पानी चुहुने घरमा बसेर, आम्दानीको स्रोतबाट अलग रहेर, अभाव र गरिबीसित जुधेर, पञ्चायतको क्रूर दमन भोगेर, आफ्ना शीर्षस्थ नेताका कुटिल जालझेलमा रहेर पनि ‘काठमाडौँ कांग्रेस’ निर्माण गर्न जुन भूमिका निर्वाह गर्नु भएको छ, त्यो स्वयंमा प्रशंसनीय छ । पत्नी तेजमाया डङ्गोल र भाइहरू बलराम र पुरुषोत्तमले उहाँलाई पु¥याएको साथ र सहयोग बिर्सिनसक्नुको छ । गणेशमानजी र किशुनजीको कारण उहाँको निकटता र घनिष्ठता गिरिजाबाबुसित हुनुपर्ने प्रयोजन र सङ्गठनात्मक शक्ति विस्तार गर्न त्यहाँ प्रवेश गर्नुपरेको तथ्य स्पष्ट हुन्छ ।
पुस्तकमा वर्णित घरेलु एवं राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिहरूको राजनीतिक उहापोहको साङ्गोपाङ्ग वर्णन यथार्थपरक छ । तीर्थराम डङ्गोलको सङ्घर्ष र कठिन चुनौतीको राजनीतिक जीवनमा उहाँले स्वीकारेको आत्मबोध कम रोमान्चकारी छैन । उहाँ भन्नुहुन्छ, ‘प्रजातन्त्रको पुनस्र्थापना (२०४६ साल) पूर्वको कुरा गर्ने हो भने राजनीतिमा लागेर मैले जुन भूमिका पाएँ, जुन ठाउँसम्म पुग्न सफल भएँ, त्यसको अपेक्षा म स्वयंलाई थिएन । तर नेपाली जनता तथा साथीभाइहरूको सल्लाह, सहयोग र अनुकम्पाले यो ठाउँसम्म आइपुग्न सफल भएँ ।’
अश्विनीजी र कृष्ण ढुङ्गेलको श्रम र लगनबाट निर्मित यो पुस्तक अत्यन्त रोचक र पठनीय छ । त्यसो हुँदा पुस्तकको मूल्य रु. ६४९।– त्यति अस्वाभाविक देखिँदैन । कांग्रेसको इतिहास बुझ्न उत्सुकहरूले नपढी नहुने बनाइएको छ, यो कृतिलाई ।