• ८ मंसिर २०८१, शनिबार

आमा सिनेमाका साक्षी

blog

मधेश प्रदेशस्थित जनकपुरको एउटा श्रेष्ठ परिवार विभिन्न कामका क्रममा भारतको बनारसमा बस्थ्यो । यदाकदा नेपाल आउजाउ गर्ने त्यो परिवारका काशीबहादुर श्रेष्ठले सुरु गर्नुभयो ‘उदय’ साहित्यिक पत्रिका । उदयमा महाकवि लक्ष्मीप्रसाद देवकोटादेखि विश्वेश्वरप्रसाद कोइरालासम्मका रचना प्रकाशित हुन्थे । 

बनारसमा रहेर नेपाली मुद्रण उद्योगलाई विकसित गर्नमा काशीबहादुरको पनि सार्थक उपस्थिति रह्यो । तत्कालीन राजाले वार्षिक रूपमा छ सय रुपियाँका दरले उदयलाई विज्ञापन दिएर सहयोग गर्न लगाए । यो सहयोग काशीबहादुरले स्वीकार पनि गर्नुभयो । सेखपछि उहाँका छोरा दुर्गाप्रसाद श्रेष्ठ ‘उपेन्द्र’ले आजसम्म पनि उदयलाई बचाइरहनुभएको छ । 

यहाँ दुर्गाप्रसाद श्रेष्ठको साहित्य यात्राभन्दा पनि नेपाली चलचित्रको प्रवद्र्धन यात्रालाई समेट्न खोजिएको छ । यस पटकको जगदम्बाश्री पुरस्कारलाई आफ्नो पोल्टामा पार्नुभएका दुर्गाप्रसादलाई मदन पुरस्कार गुठीले दिएको सम्मानपत्रमा नै प्रारम्भिक चरणको नेपाली चलचित्रको उत्थानमा महìवपूर्ण योगदान दिएको भनी उल्लेख गरिएबाट उहाँको नेपाली चलचित्रको क्षेत्रमा रहेको योगदानको आकलन गर्न सकिन्छ । 

हिन्दी साहित्यमा एम.ए. गर्नुभएका दुर्गाप्रसाद सुरुमा डाक्टर बन्न विज्ञान विषय लिएर बनारसको हरिश्चन्द्र इन्टर कलेजमा भर्ना हुनुभएको थियो तर विज्ञान र गणितका निरस सूत्रहरूसित उहाँको मन जागेन । बल्लबल्ल आई.एस्.सी. त उत्तीर्ण गर्नुभयो तर त्यसपछि उहाँ अङ्ग्रेजी र हिन्दी साहित्यको अध्ययनमा प्रवेश गर्नुभयो । उहाँ नेपाल कहिलेकाहीँ आइरहनुहुन्थ्यो । एक पटक उहाँका छिमेकमा रहेका तत्कालीन प्रचार विभागका सचिव नारायणप्रसाद बास्कोटासित सम्पर्क हुन पुग्यो ।

बास्कोटाको पहलमा उहाँ शाखा अधिकृत स्तरको जिम्मेवारीमा प्रचार विभागमा काम गर्न थाल्नुभयो । यसैबेला राजा महेन्द्र बम्बई (हाल मुम्बई)मा रहेका बेला देहरादुन निवासी हीरासिंह खत्रीको भेट भयो । यो भेटले नेपालमा सिनेमा विधाको उन्नत बीउ रोपिन पुग्यो । खत्री राजाका एडीसी शेरबहादुर मल्लका देहरादुन पढ्दाका सहपाठी पनि थिए । प्रचार विभागअन्तर्गत फिल्म डिभिजन गठन गरी हीरा सिंहलाई नेपाल बोलाई ‘आमा’ सिनेमा निर्माण गर्ने जिम्मेवारी दिइयो ।

बुढ्यौली उमेरमा रहनुभएका दुर्गाप्रसादलाई आमा सिनेमा निर्माणको सेरोफेरो सबै थाहा छ । हुन त सुरुमा उहाँ अवैतनिक रूपमा प्रचार विभागमा प्रवेश गर्नुभएको थियो तर केही समयपछि नै उहाँले पारिश्रमिक पाउन थाल्नुभयो । राजा महेन्द्रको धाप र नारायणप्रसाद बास्कोटाको पहलमा दुर्गाप्रसादलाई आमा सिनेमाका निर्देशक हीरा सिंहको सहायक भई काम गर्ने जिम्मेवारी दिइयो । 

दुर्गाप्रसाद भन्नुहुन्छ, “यो सिनेमाको पूर्ण आलेख (स्क्रिप्ट) पूर्वनिर्मित थिएन । आज एउटा सिचुएसनको दृश्य खिचिन्थ्यो र त्यसबारेमा सम्बद्ध निकायमा जानकारी गराएपछि सोही निकायको समन्वयमा आगामी सट र सिनको आलेख बनाइन्थ्यो र अर्काे दिन खिचिन्थ्यो ।” आलेखको जिम्मेवारी पनि दुर्गाप्रसादले नै लिनुभएको थियो । कतिपय अवस्थामा पटकपटक सिनेमाको आलेख पुनर्लेखन गर्नुपरेको उहाँ बताउनुहुन्छ । काठमाडाैँको ककनी, वीरगञ्ज र रक्सौलमा यो सिनेमाको छायाङ्कन भएको थियो । दुर्गाप्रसादलाई तत्कालीन शाही नेपाली सेनाको जिपमा चढेर रक्सौल गएको क्षण आज निकै रोमाञ्चक लाग्छ । रक्सौलबाट सिनेमाका नायक शिवशङ्कर मानन्धरसित नेपाल फर्किंदै गर्दाको दृश्यमा उहाँको अभिनयसमेत रहेको छ । करिब दुई मिनेट लामो संवाद र दृश्यमा उहाँ दौरा, सुरुवाल, टोेपी र मफलरमा सजिनुभएको छ । सिनेमामा रहेको एउटा गीतको छायाङ्कन गर्न दुर्गाप्रसादसहितको सिनेमा युनिट ककनी गएको थियो । उहाँ हाँस्दै भन्नुहुन्छ, “एक दिन युवा उमेरको मलाई के लाग्यो कुन्नि सहनायिका वसुन्धरा भुसालसित कसैलाई नसोधी जयनेपाल हलमा सिनेका हेर्न गयौँ । एउटी तरुनी युवतीसित सिनेमा हेर्नुको मज्जा त बेजोड थियो नै तर भोलिपल्ट सिनेमाका निर्देशक वा टोलीनेता हीरा सिंहको नराम्रो खप्की खानु परेको स्मृति आज पनि ताजै छ ।”

साहित्यको पछिल्लो पुस्ताले त उहाँलाई आज चिन्दैन तर उहाँको हँसिलो अनुहारभित्र साहित्यिक पत्रकारिताको एउटा युगको चित्र र नेपाली सिनेमाको प्रारम्भिक चरणको उत्थानकर्ताको छवि छ ।

त्यो बेलाको नेपाली समाजमा युवा केटा र केटी कसैलाई नसोधी सिनेमा हेर्न जाँदा समाजमा पर्ने असरलाई लिएर हीरा सिंहले गाली गर्नुभएको होला भन्नुहुन्छ दुर्गाप्रसाद । झन्डै १० लाख रुपियाँको लागतमा बनेको यो सिनेमाका काठमाडौँमा घर नभएका कलाकार तथा अन्य प्राविधिक तथा सहभागीलाई सेतो दरबारको इम्पेरियल होटलमा राखिएको थियो तर दुर्गाप्रसाद प्रचार विभागअन्तर्गतको फिल्म डिभिजनका कर्मचारी भएकाले उहाँले यो सुविधा भने पाउनु भएन ।  

काठमाडाँैको ककनी, रक्सौल र वीरगञ्जमा सिनेमाको छायाङ्कन सक्न मात्र तीन महिना लागेको थियो भन्नुहुन्छ दुर्गाप्रसाद । नेपालको छायाङ्कन सकेर गायक तथा नायक शिवशङ्कर र गायिका तारादेवीसहित कलकत्ता गयो सिनेमा टोली । उता सम्पादक हरिष पठारे र पाश्र्व सङ्गीतकार भी. बलसारासित समय मिलाइसकिएको थियो । भी. बलसाराको निर्देशनमा कलकत्ताको न्यु थिएटरमा तारादेवी र शिवशङ्करको स्वरमा गीतहरू रेकर्ड गरिए र सम्पादन कार्य पनि त्यहीँ भयो ।  छायाङ्कन, रेकर्डिङ, डबिङ गर्न टोली कलकत्तामा एक महिना बसेको थियो । श्रेष्ठलाई कलकत्ताको महाराष्ट्र भवनमा रहेको गेस्ट हाउसमा समग्र सिनेटोली बस्दाको अर्को रोमाञ्चक क्षणको आज पनि सम्झना छ । उहाँ सम्झिनुहुन्छ, “त्यतिखेर त्यो गेस्ट हाउसमा बसेका कलाकारहरू जो नेपालबाट गएका थिए तिनलाई प्रतिव्यक्ति २० भारतीय रुपियाँ दैनिक खर्चबापत दिइएको थियो । आजको हिसाबमा त्यसको मूल्य औधी बढी हुन आउँछ ।”

सम्पादक तथा पाश्र्वसङ्गीतकार तथा अन्य केही युनिटका सदस्यहरू अन्यत्रको महँगो होटलमा बसे पनि यसरी रमाइलो वातावरणमा एक महिनाको कलकत्ता बसाइपछि सिनेमाको सबै काम सकियो । यसबीचमा सिनेमाको काममा निर्देशक खत्री र सम्पादक हरिस पठारे एक पटक बम्बई गएको पनि सम्झिनुहुन्छ उहाँ । तत्कालीन शाही नेपाली सेनाको डकोटा विमानबाट कलकत्ता गएका सिनेमा टोलीले काम सकिएपछि सिनेमाको मास्टरकपी कलकत्तामा रहेको नेपाली कन्सुलेट अफिसको सहयोगमा नेपाल ल्याएका थिए । 

यसरी आमा सिनेमाको निर्माण कार्यका साक्षी दुर्गाप्रसादले सन् १९६४ को अक्टोबर ७ तारिखका दिन तत्कालीन राजपरिवार र शाही नातेदारसित बसेर काठमाडाँैको जय नेपाल हलमा यो सिनेमा हेरेका थिए । राजा महेन्द्रद्वारा नेपाली सिनेमाको इतिहास निर्माण गरेकामा प्रसन्न भई निर्देशकसहित सिनेमाको सम्पूर्ण नेपाली टोलीलाई इनामस्वरूप प्रतिव्यक्ति दुई हजार रुपियाँ दिइएको क्षण पनि उहाँले सम्झनुभयो । हुनसक्छ त्यतिखेरको दुई हजार आजको बीस लाख रुपियाँजति होला । बिस्तारै यो सिनेमा नेपालका थुप्रै स्थान र भारतका देहरादुन, बनारस तथा दार्जिलिङमा प्रदर्शन भएको थियो । यसरी नेपाली सिनेमाको एउटा जीवन्त साक्षी रहनुभयो दुर्गाप्रसाद श्रेष्ठ । 

छोटो समय सहकार्य गर्दाको अनुभवमा निर्देशक हीरा सिंहलाई सिनेमा निर्माणमा क्षमता भएको व्यक्ति ठान्नुहुन्छ उहाँ । हीरा सिंहले आमापछि ‘परिवर्तन’ र ‘हिजो आज भोलि’ दुईवटा सिनेमा बनाउनुभयो । हीरा सिंहको व्यक्तिगत जीवनबारे त उहाँ धेरै जानकार हुनु हुन्न तर प्रचार विभागबाट पेस्की गुट्मुट्याएर हीरा सिंह भारत भाग्यो भनेर कति साहित्य र सिनेमाका हस्तीहरूले चलाएको हल्लालाई उहाँ शतप्रतिशत झुटो मान्नुहुन्छ । श्रेष्ठको पुख्र्यौली पेसा बनारसमा छँदै थियो, जसका कारण लामो समयसम्म उहाँ नेपाल बस्न नपाएपछि आमाबाट नै उहाँको सिनेमायात्राले विश्राम लिन पुग्यो । उहाँ बनारस नै बस्न थाल्नुभयो तर साहित्य र साहित्यिक पत्रकारिताका क्षेत्रमा भने आजपर्यन्त उहाँ लागिरहनुभएकै छ । उदयलाई पाठकमाझ पु-याइरहनुभएको छ ।

काठमाडौँको भैँसेपाटीमा रहेका छोराको घर र बनारसमा बाबुले बनाएको घरमा आधा आधा समय बस्ने श्रेष्ठ जीवनको आठौँ दशक पार पर्दा पनि सक्रिय नै हुनुहुन्छ । वागबजारको रत्न पुस्तक भण्डारमा आएर सधैँ दिनको एक दुई घण्टा लेखक साहित्यकारसित भलाकुसारी गर्नुहुन्छ । साहित्यको पछिल्लो पुस्ताले त उहाँलाई आज चिन्दैन तर उहाँको हँसिलो अनुहारभित्र साहित्यिक पत्रकारिताको एउटा युगको चित्र र नेपाली सिनेमाको प्रारम्भिक चरणको उत्थानकर्ताको छवि छ ।