• १३ साउन २०८१, आइतबार

मण्डला थिएटरमा ‘निटफेस्ट–२०२२’

blog

काठमाडौँ, मङ्सिर १० गते । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०७९ (निटफेस्ट–२०२२)को दोस्रो संस्करण सुरु भएको छ । 

काठमाडौँको थापागाउँस्थित मण्डला थिएटरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अतिथि तथा सहभागीबीच शुक्रबार महोत्सव समुद्घाटन गरिएको हो । 

‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च : विविधिताको उत्सव’ नाराका साथ भारतका सुप्रसिद्ध रङ्गकर्मी तथा अभिनेत्री शबाना आजमीको विशेष आतिथ्यतामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले महोत्सव समुद्घाटन गर्नुभएको हो ।

समारोहमा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मी, जीआईजेड नागरिक शान्ति सेवाकी स्टेफिन थेइसलगायतले महोत्सवलाई शुभकामना दिनुभयो ।

कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालको कला–संस्कृति प्रवद्र्धन र विकासका लागि नाट्य महोत्सवको उल्लेखनीय भूमिका रहने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै मेयर बालेन्द्र शाहले एउटा नगरपालिका समृद्ध हुनका लागि कलाको भूमिका र गतिविधिहरू उत्तिकै हुनुपर्ने महसुस गरेको बताउनुभयो । 

भारतबाट महोत्सवका लागि आउनुभएकी अभिनेत्री शबाना आजमीले नेपालमा नाटक महोत्सवमा सहभागी हुन पाउनु खुसीको कुरा रहेको बताउँदै भन्नुभयो, “नेपालमा कलाकारहरू मिलेर आफैँ नाटकघर निर्माण गर्नु र नियमित नाटक मञ्चन गरी यस्तो महोत्सव आँट्नु आश्चर्यजस्तो लागेको छ । यो निकै सराहनीय कार्य हो, यसलाई निरन्तरता दिनुहोला ।”

समुद्घाटनका क्रममा मण्डला थिएटरले आयोजना गरेको नाटक लेखन कार्यशालाबाट छानिएका सात नाटकको सङ्ग्रह ‘इन्द्रधनुष ः यस छिमलका नाटकहरू’ विमोचन गरिएको थियो । महोत्सव समुद्घाटनमा नयनराज पाण्डेको कथामा आधारित दिया मास्के निर्देशित नेपाली नाटक ‘कथा कस्तुरी’ मञ्चन गरियो ।

महोत्सवको पहिलो दिन अनिल सुब्बा निर्देशित नेपाली नाटक ‘बुद्ध र भिखारी’ पनि मञ्चन भएको छ । पहिलो दिन बिहान ‘डिभाइजिङ अपेरेटिक ड्रामाटर्जी कार्यशाला’ सम्पन्न गरेको महोत्सवले साँझ ‘ब्रिथ एन्ड बिट’ शीर्षकमा शलिल सुवेदी र नवरा गुरुङको साङ्गीतिक कार्यक्रम आयोजना गरेको थियो ।

१२ देशका १८ नाटकको ३० मञ्चनसहित कार्यशाला, मास्टर क्लास, अन्तरक्रिया–विमर्शका कार्यक्रम हुने महोत्सवमा विश्वभरिबाट दुई सयभन्दा बढी नाट्य कलाकारको सहभागिता छ । 

महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश छन् ।