• १३ साउन २०८१, आइतबार

‘नेपालका देवीदेवता’ कला प्रदर्शनी हुने

blog

काठमाडौँ, मङ्सिर ९ गते । नेपाल कला परिषद्को ६०औँ वार्षिकोत्सव तथा नेपाल हस्तकला महासङ्घको स्वर्ण वर्षको अवसरमा ‘नेपालका देवीदेवता’ कला प्रदर्शनी गरिने भएको छ । 

मङ्सिर ११–२५ सम्म नेपाल कला परिषद्को भवनमा सो प्रदर्शनी आयोजना गरिने जनाइएको छ । वाङ्मय शताब्दीपुरुष स्व. सत्यमोहन जोशीप्रति समर्पित प्रदर्शनीमा नेपालका देवीदेवताका चित्रकला, मूर्ति, हस्तकला प्रदर्शनी गरिने बिहीबार अयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रदर्शनी उद्घाटन गर्नुहुने जनाइएको छ ।

प्रदर्शनीमा राखिने चित्रकला, मूर्तिलाई सार्वजनिक आह्वानमार्फत कलाकारबाट माग गरिएको हो । विशेषगरी प्रदर्शनीमा कलाकृतिको प्रदर्शनले हिन्दु, बौद्ध धर्मको उत्पत्तिको आधारभूत सिद्धान्त र नेपालको मौलिक धर्म र दर्शनप्रति जानकारी गराउने अपेक्षा आयोजकको छ ।

नेपाल कला परिषद्को कला ग्यालरीमा हिन्दु र बौद्ध धर्मका आधारभूत सिद्धान्त, ग्रह देवता, लोकेश्वरलगायत देवीदेवताका कला प्रदर्शनी गरिने जनाइएको छ । ग्यालरीको पहिलो तलामा वैष्णव र विष्णु अवतार, शैव शक्ति आदि बुद्धको जीवनी प्रस्तुति रहनेछ । माथिल्लो तलामा काठमाडौँको सबैभन्दा ठूलो चाड इन्द्रजात्राको विशेष प्रस्तुति रहने नेपाल कला परिषद्का अध्यक्ष सागरशमशेर राणाले जानकारी दिनुभयो ।

अध्यक्ष राणाले नेपालको कला, कलाकारलाई उत्थान गरी हस्तकला र कलाकृतिको मागलाई पूरा गर्न सकोस् भन्ने उद्देश्यले प्रदर्शनी गर्न लागिएको बताउनुभयो ।

प्रदर्शनीमा १६० कलाकारका २४६ कला राखिनेछ । नवोदित कलाकारदेखि वरिष्ठ कलाकारहरूका कलाकृति सङ्कलन गरिएको जनाइएको छ ।