• १३ साउन २०८१, आइतबार

नाटक महोत्सव अपाङ्गतामैत्री बनाइने

blog

काठमाडौँ, मङ्सिर ९ गते । आजबाट सुरु भएको नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवको दोस्रो संस्करणलाई अपाङ्गता भएका दर्शकका लागि पनि पहुँचयुक्त बनाइने आयोजकले जनाएको छ । 

‘विविधताको उत्सव’ नारासहित मङ्सिर ९ देखि १७ गतेसम्म मण्डला नाटकघरमा सञ्चालन हुने महोत्सवमा विविध प्रकारका अपाङ्गता भएका व्यक्तिको पनि सक्रिय सहभागिता होस् भन्ने उद्देश्यले अपाङ्गतामैत्री बनाइने भएको हो । 

आयोजक मण्डला थिएटरसँग सहकार्य गरिरहेको डाइभर्सन प्याट्रन्सले यस नाटक महोत्सवलाई अपाङ्गतामैत्री बनाउन साङ्केतिक भाषाको प्रयोग, अडियो डिस्क्रिप्सन, प्रचार सामग्री ठूला अक्षरमा वितरण गरिने जानकारी दिएको छ । 

डाइभर्सन प्याटर्नका निर्देशक सागर प्रसाईँले महोत्सवमा प्रदर्शन गरिने नाटक हेर्नका लागि अपाङ्गता भएका व्यक्तिका लागि एक सयवटा टिकट निःशुल्क वितरण गरिने र यस्ता टिकट प्राप्त गर्न अपाङ्गता परिचयपत्र देखाउनुपर्ने व्यवस्था गरिएको पनि जानकारी दिनुभयो । 

उहाँले यस अन्तर्राष्ट्रिय नाटक महोत्सवमा धेरै अपाङ्गता भएका व्यक्तिको सहभागिता रहने अपेक्षा रहेको बताउनुभयो ।  

नाटक हेर्न इच्छुक अपाङ्गता भएका व्यक्तिहरूलाई टिकट अग्रिम सुरक्षित गर्न वा अग्रिम पहुँचको सहयोगका लागि फारम भर्न पनि आयोजकले अनुरोध गरेको छ । महोत्सवका सबै नाटक मण्डला थिएटरको ह्विलचियरको पहुँचयुक्त हलमा प्रदर्शन हुनेछन् । 

महोत्सवमा खुवालुङ, टुगेदर एन्ड अलोन, कुभिन्डोको कथालगायतका विश्वका  १४ वटा देशका २१ वटा नाटक प्रदर्शन हुने आयोजकले जनाएको छ ।