• १३ साउन २०८१, आइतबार

नयाँ चरणमा मुलुक

blog

बहुप्रतीक्षित प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन आइतबार  सम्पन्न भएसँगै मुलुक नयाँ चरणमा प्रवेश गरेको छ। केही छिटफुट घटनाबाहेक तुलनात्मक रूपमा निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न भएको छ। एक चरणको निर्वाचन हुँदा निश्चय नै सुरक्षा चुनौती थियो तर त्यसको प्रभावकारी सामना गर्दै निर्वाचन सम्पन्न भएको छ। केही स्थानमा निर्वाचन स्थगित हुने गरी भएका सामान्य घटना पक्कै पनि राम्रो होइन। अझ निर्वाचनकै झडपका कारण ज्यान जानु राम्रो होइन। ती घटना दुःखद छन् तर विगतको तुलनामा यो निर्वाचन बढी शान्तिपूर्ण सम्पन्न भयो। आममतदाताले बिनाभय विवेकपूर्ण ढङ्गबाट आफ्ना प्रतिनिधिलाई मतदान गर्न सफल हुनु नै यो निर्वाचनको सफलता र सुन्दर पक्ष हो। मतदानका क्रममा बाजुरालगायतका केही स्थान अप्रिय घटना भए। ती नभएका भए अझ राम्रो हुने थियो। बाँकी सम्पूर्ण स्थानमा शान्तिपूर्ण तवरले मतदान सम्पन्न भएको छ। निर्वाचनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले समेत सराहना गर्नु खुसीको विषय हो। यसबाट नेपाली लोकतन्त्र सुदृढ हुनुका अतिरिक्त नेपाली आममतदाता लोकतान्त्रिक तवरले परिपक्व हुँदै गएको सन्देश प्रवाहित गरेको छ। 

विगतका आमनिर्वाचनका तुलनामा यस पटकको आमनिर्वाचनमा केही कम प्रतिशत मतदान भएको पाइएको छ। झन्डै एक करोड ८० लाख मतदाता रहेकामा यस पटकको प्रारम्भिक अनुमानअनुसार एक करोड नौ लाख मतदाताले मात्र मताधिकारको सदुपयोग गरेका छन्। यो विगतका आमनिर्वाचनका दाँजोमा कमै हो। जानकारहरूले यस पटकको मतदान प्रतिशतलाई अनपेक्षित रूपमा कम रहेको बताइरहँदा सरकार, निर्वाचन आयोग तथा राजनीतिक दलहरूले यसको कारक तत्व खोजेर निवारणतर्फ लाग्नुपर्ने आवश्यकता देखिएको छ। निर्वाचनमा बढी मतदाताको सहभागिताले संस्थागत अभ्यास समृद्ध हुनेछ।

अब क्रमशः केही दिनभित्रै यो आमनिर्वाचनको परिणाम सार्वजनिक हुँदै जानेछ। जनादेशअनुसार मुलुकमा लोकतान्त्रिक तवरले सरकार निर्माणको प्रक्रिया थालनी हुनेछ। आइतबार सम्पन्न निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक गरी २७५ जना प्रतिनिधि सभा सदस्य निर्वाचित हुनेछन्। यसैगरी प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट ५३० जना प्रदेश सभाका सदस्य चुनिनेछन्। मुलुकले आगामी पाँच वर्षका लागि जनप्रतिनिधि प्राप्त गरेको छ। जनप्रतिनिधिले विधायिकी कार्यसम्पादनका साथै सबल, सुदृढ सरकार निर्माणको जिम्मेवारीसमेत लिनुपर्नेछ। मुलुकलाई बालिग मताधिकारका आधारमा गति दिन लोकतान्त्रिक तवरले निर्वाचन प्रक्रिया अगाडि बढाइँदा मतदातासमक्ष अनेकौँ वाचा गरिएको छ। अब ती वाचा पूरा गर्ने समय जनप्रतिनिधिलाई प्राप्त हुनेछ। यस अवस्थामा मुलुक तथा मुलुकवासीको विकास, समृद्धि तथा भलो नै सर्वोपरि हुन आउँछ। जुनसुकै सिद्धान्त वा वाद बोकेका राजनीतिक दलहरू भए पनि उनीहरूको एकै अर्जुनदृष्टि मुलुक र मुलुकवासीको सर्वोपरि हित नै हुनुपर्छ। 

निर्वाचनमा जित्नका लागि गरिएका तिता मीठा क्रियाकलापलाई बिर्सेर सबै राजनीतिक दलहरूले होस्टेमा हैँसे मिलाउँदै मुलुकलाई समृद्धिको बाटोमा लैजान ढिला गर्नुहुँदैन। यस पटकको आमनिर्वाचनका मतदाताको मतदान गर्ने तौरतरिकामा केही भिन्नता आएको अनुभव सबैले गरेकै हुन्। मतदानको यो शैली अर्थात् तौरतरिकामा आएको फरकपनलाई मूलाधारका राजनीतिक दलहरूले शिक्षाका रूपमा लिनु आवश्यक देखिन्छ। यसैअनुरूप यस आमनिर्वाचनबाट उदाउने नयाँ पार्टी तथा स्वतन्त्र उम्मेदवारले पनि आफ्नो उदयको कारणलाई शिरोधार्य गर्नु जरुरी छ। अरूले गरेको गल्ती कमजोरी हेरेरै अग्रगामी कदम चाल्नु वाञ्छनीय छ।

आमनिर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न भएसँगै यससँग सम्बद्ध सुरक्षा निकाय, कर्मचारी, आममतदाता, सरकारी संयन्त्रको सुझबुझ तथा परिपक्वता स्पष्ट भएको छ। लोकतान्त्रिक परिपक्वता जस्तै नयाँ तथा पुराना राजनीतिक दलहरूले मुलुकलाई शिरमा राखेर राजनीतिक परिपक्वताका साथ मुलुकलाई अगाडि बढाउने महान यज्ञमा समर्पित हुनुको विकल्प छैन। निर्वाचनमा विजयी हुने राजनीतिक दलहरूले विगतमा देखिएजस्तो सत्ताका लागि मरिहत्ते गर्ने प्रवृत्तिलाई त्यागेर मुलुक र जनताका लागि प्रेरणा एवं उदाहरणको प्रस्तुति महत्वपूर्ण छ। यो निर्वाचनबाट समेत नेपाली राजनीतिक संस्कारमा केही परिवर्तन आउन सकेन भने यो मुलुकको राजनीतिक प्रणालीकै लागि दुर्भाग्यपूर्ण साबित हुनेछ। यसतर्फ राजनीतिक दलहरूले सचेतता अपनाउनुपर्ने देखिन्छ।