• १२ असोज २०८१, शनिबार

धरानमा मतगणना सुरु

blog

निशा राई

धरान, मंसिर ५ गते । धरान सुनसरी क्षेत्र नं १ को मतगणना कार्य सुरु भएको छ । सर्वपक्षीय बैठकले दिउँसोदेखि मतगणना सुरु गर्ने निर्णय भए पनि  मतगणना कार्य ढिलो सुरु भएको हो । धरान ८ को सभागृह भवनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना कार्य सुरु भएको छ भने प्रदेशसभा क्षेत्र नं १ (क) को धरान वडा नं. १ बाट  गणना सुरु भएको निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालले जानकारी दिनुभयो । 

निर्वाचन कार्यालयका अनुसार अहिले वडा नं १ को सबै ४ वटै मतपेटिका खोलिएको छ । बिहान अलग–अलग वडाको मतपेटिकाहरू मिसाएर गणना गर्ने सहमति भए पनि लोकतान्त्रिक वाम गठबन्धनले अस्वीकार गरेपछि अलग–अलग नै मतपत्र गणना गर्ने सहमति जुटाएर गणना अघि बढाइएको निर्वाचन  अधिकृत अर्यालले बताउनुभयो ।

सुनसरी क्षेत्र नं. १ मा १ लाख ४१ हजार ८ सय ७८ जना मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालय धरानले जानकारी गराएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा ५६ प्रतिशत मत खसेको थियो ।

सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधिसभातर्फ २० जना, सुनसरी १ (क) मा प्रदेशसभा सदस्यका लागि १४ जना, सुनसरी (ख) मा १३ जनाको उम्मेदवारी रहेको छ । त्यसमध्ये प्रतिनिधिसभा सदस्यका लागि ४ जना, सुनसरी क्षेत्र नं १ (क) मा तीन र प्रदेशसभा सदस्यका लागि (ख) बाट १ जना महिला उम्मेदवार रहनुभएको छ ।