• १३ असोज २०८१, आइतबार

बाजुराको त्रिवेणीलाई शान्त गराउन गृहमन्त्रीको निर्देशन

blog

गृहमन्त्री बालकृष्ण खाण

काठमाडौं,  मंसिर ५ गते । गृहमन्त्री बालकृष्ण खाणले दुई जनाको मृत्यु र तीन जना घाइते भएपछि असहज भएको बाजुराको त्रिवेणी नगरपालिकामा शान्तिपूर्ण वातावरण निर्माण गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।

गृहमन्त्री खाणले गृहसचिव विनोदप्रकाश सिंह, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणीन्द्रमणि पोखरेल, बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीलाई असहज परिस्थितिलाई सामान्यीकरण गरी शान्तिपूर्ण अवस्थामा फर्काउन वातावरण निर्माण गर्न निर्देशन दिनुभएको हो । 

आइतबारको निर्वाचनमा मतदान भइरहेको बेलामा बाजुरा प्रशासनका अनुसार त्रिवेणी नगरपालिका ७ स्थित नाटेश्वरी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा गोली लागेर स्थानीय सञ्जीव ऐडीको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै, दुई पक्षबीच झडप हुँदा बयलपाटा अस्पताल अछाममा एमाले कार्यकर्ता चेतन ऐडीको मृत्यु भएको थियो । 

त्यसपछि आज बिहानसम्म त्रिवेणी नगरपालिका ७ को अवस्था तनावपूर्ण थियो । तनावपूर्ण अवस्थालाई सामान्यीकरण गरी शान्तिपूर्ण वातावरण निर्माण गर्न गृहमन्त्री खाणले निर्देशन दिनुभएको हो । 

केन्द्र र जिल्लाले पहल गरेपछि अहिले त्यहाँको अवस्था बिहानको भन्दा सामान्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टले जानकारी दिनुभयो ।

गृह मन्त्रालयका प्रवक्तासमेत रहनु भएका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव पोखरेलले केन्द्र र जिल्लाको पहलले बाजुराको त्रिवेणीको अवस्था सामान्य बन्दै गएको जानकारी दिनुभयो ।