• १३ असोज २०८१, आइतबार

गुल्मी –२ मा ४ बजेदेखि मतगणना सुरु हुने

blog

सर्वदलीय तथा सर्वपक्षीय बैठकमा सहभागी राजनीतिक दलका नेता तथा कर्मचारीहरु । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, मङ्सिर ५ गते । आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना गुल्मी क्षेत्र नं २ मा दिउँसो ४ बजेदेखि गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयको सभाहलमा मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलको संयोजकत्वमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले यस क्षेत्रको मतगणना दिउँसो ४ बजेदेखि गरिने निर्णय गरेको हो ।

यस क्षेत्रको मतगणना रेसुङ्गा बहुमुखी क्याम्पसमा गरिने भएको छ । मतदान सम्पन्न भएसँगै हिजो नै मतपेटिका रेसुंगा बहुमुखी क्याम्पसमा भण्डारण गरिएको थियो । मतगणना स्थलमा सिसिटिभि, क्यामेरालगायतका सुरक्षा प्रबन्धहरु मिलाइएको छ ।

बढीमा ४ वटा टोलीबाट मतगणना गरिने जनाइएको छ । मतगणना गर्ने प्रत्येक टोलीका एक उम्मेदवारको तर्फबाट १ जनाका दरले मतगणनामा प्रतिनिधि रहने छन् । एक लाख चार हजार ३२७ मतदाता रहेको यस क्षेत्रमा ५८ हजार ७७३ मत खसेको छ । गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव रामकुमारी झाँक्री र नेकपा (एमाले) का केन्द्रीय सचिव गोकर्णराज विष्टबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन छ । 

त्यस्तै, क्षेत्र नं १ को मत गणना भने कालीगण्डकी गाउँपालिकाको वडा नं २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा पुनः मतदान हुनेभएको छ । आइतबार मतदान चलिरहेको अवस्थामा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र परेपछि निर्वाचन प्रक्रिया स्थगित भएको थियो । 

मतदान केन्द्रमा रहेका एक हजार ३६९ जना मतदातामध्ये ६६४ जनाले मतदान गरेका थिए । यहाँ पुनः भोलि (मङ्गलबार) मतदान हुनेभएको छ । मतदान सकिएलगत्तै यस क्षेत्रको पनि मतगणना सुरु गरिने बताइएको छ ।