• १३ असोज २०८१, आइतबार

मतदान उत्साहजनक

blog

रेखीराम राना

पाल्पा, मङ्सिर ५ गते । आइतबार भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता भएको छ। आगामी पाँच वर्षका लागि प्रतिनिधि चयन गर्ने निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता रहेको हो।

निर्वाचनमा महिला, युवा, ज्येष्ठ नागरिक, अपाङ्गता भएका मतदाताको उल्लेख्य सहभागिता थियो। यस जिल्लाको दुई स्थानमा बाहेक अधिकांश स्थानमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। निर्वाचनमा ६० प्रतिशत बढी मतदाताले सहभागिता जनाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ। तानसेनको जनप्रिय र दमकडाको मतदान स्थलमा केही समय स्थगित भएको मतदान पुनः सञ्चालन गर्नु परेको थियो। 

जनप्रिय माविको ५५ वटा मतपत्र अर्कोमा खसालेपछि विवाद भएको थियो। यस्तै दमकडा मतदान केन्द्रमा समेत ५८ मत अर्को बाकसमा खसेपछि विवाद भएको थियो। विवाद भएको दुवै स्थानमा पुनः मतदान भएको मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले जानकारी दिनुभयो।

अन्य स्थानमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको उहाँले बताउनुभयो। मतदान सकिएपछि मतपेटिका पाल्पा क्षेत्र नं. १ को रामपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा र क्षेत्र नं. २ को मतपेटिका तानसेनमा ल्याइएको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयो। मतदान सम्पन्न भएपछि ११८ वटा मतदान स्थलको मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने क्रम जारी रहेको उहाँले बताउनुभयो। 

महिला उत्साहपूर्वक सहभागी

नेपालगञ्ज समाचारदाताका अनुसार प्रतिनिधि सभा र प्रदेश सभाको आइतबार भएको मतदानमा बाँके जिल्लामा महिलाको राम्रो उपस्थिति देखिएको थियो। नेपालगञ्ज उपमहानगरलगायत जिल्लाका विभिन्न ठाउँमा रहेका अधिकांश मतदान केन्द्रमा मतदान गर्न महिलाको लाम देखिन्थ्यो। 

बिहानैदेखि विभिन्न मतदान केन्द्रमा पुरुषको भन्दा महिलाको लाइन लामो देखिएको थियो। यहाँका अधिकांश मतदान केन्द्रमा महिलामा विशेष प्रकारको उत्साह देखिएको बाँकेका महिला अगुवा रेवती सिंहले बताउनुभयो। उहाँले आफ्नो मताधिकारप्रति महिलामा विशेष प्रकारको सचेतना र उत्साह पाइएको जनाउँदै यस पटक पुरुषको तुलनामा महिलाको ठूलो सङ्ख्या मतदान केन्द्रमा पुगेको बताउनुभयो। 

नेपालगञ्ज–२०, राँझास्थित मतदान केन्द्रमा मतदान गर्न पुग्नुभएकी ६० वर्षीया रजनी थापाले राम्रो जनप्रतिनिधि निर्वाचित गर्ने आफ्नो अधिकारको सदुपयोगका लागि भित्री मनबाट उत्साह जागेर आएको बताउनुभयो। 

आज सबै काम थाती राखेर मतदान गर्न निस्किएको जनाउँदै उहाँले पहिलो पटक महिलामा यति उत्साह देखेको बताउनुभयो। सोही प्रकारले नेपालगञ्ज–४ मा मतदान गर्न लाममा रहनुभएकी तबस्सुम अन्सारीले लोकतान्त्रिक अधिकारप्रति महिलामा आएको चेतनाकै फलस्वरूप अहिले उनीहरूमा मतदानप्रति विशेष उत्साह देखिएको बताउनुभयो। 

वडा नं. ४ का मुस्लिम महिलामा मतदानप्रति ठूलो उत्साह देखिएकोले यो पनि एउटा महिला सशक्तीकरणको उदाहरण बनेको बताउनुभयो। नेपालगञ्ज उपमहानगर, कोहलपुर नगरपालिका र डुडुवा गाउँपालिकाका अधिकांश मतदान केन्द्रमा मतदानका लागि पुग्ने महिलाको सङ्ख्या उल्लेख्य देखिएको थियो। 

विगतमा अन्यभन्दा मतदानमा कम चासो लिने मुस्लिम, मधेशी र ग्रामीण क्षेत्रका महिलामा पनि यस पटक फरक खालको उत्साह पाएको मुस्लिम अगुवा मैमुना सिद्दिकीले बताउनुभयो।