• १३ साउन २०८१, आइतबार

मधेश प्रदेशमा उत्साहपूर्ण मतदान

blog

धीरेन्द्रप्रसाद साह 

जनकपुरधाम, मङ्सिर ५ गते । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत आइतबार मतदानमा उत्साहपूर्ण सहभागिता देखिएको छ। मतदान गर्न तोकिएकै समयमा मतदाता मतदान केन्द्रमा पुगेका थिए। 

निर्वाचन आयोगले बिहान ७ बजेदेखि मतदान सुरु गरिने समय तोकेको थियो। उक्त समयअगावै मतदाता मतदान केन्द्र पुगेका थिए। बिहानको चिसोलाई बेवास्ता गर्दै मतदाता मतदान केन्द्र पुगिरहेको देखेर मतदान अधिकृतहरू मतदान गराउन हतारिएका थिए। यस प्रदेशका जिल्लाहरूमा अधिकांश मतदान केन्द्रमा तोकिएकै समयमा मतदान प्रक्रिया सुरु भएको थियो। केही मतदान केन्द्रमा आधा घण्टा ढिलो गरी मतदान सुरु भएको सम्बद्ध जिल्ला निर्वाचन कार्यालयहरूले जनाएका छन्। 

मधेश प्रदेशमा एक हजार सात जना चुनावी प्रतिस्पर्धामा रहनुभएको छ। प्रदेशमा दुई हजार १५६ वटा मतदान स्थलमा चार हजार २३५ स्थायी मतदान केन्द्र र १५ वटा अस्थायी मतदान केन्द्र गरी कुल चार हजार २५० मतदान केन्द्र रहेको छ। प्रदेशभरि पुरुष १८ लाख २७ हजार ८५४, महिला १५ लाख ५८ हजार ७०४ र अन्य ७० गरी कुल ३३ लाख ८६ हजार ६२८ जना मतदाता रहेको प्रादेशिक निर्वाचन कार्यालय जनकपुरधामका अधिकारी श्रीधर पन्थीले जानकारी दिनुभयो। 

प्रदेशका एक/दुई स्थानमा सामान्य विवादबाहेक शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका सूचना अधिकारी प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो। यसैबीच सर्लाही समाचारदाता जनार्जन खत्रीका अनुसार जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख निर्मल पोख्रेलले जिल्लाको ३१२ वटा मतदान स्थलअन्तर्गत छ सयवटै मतदान केन्द्रमा उत्साहका साथ मतदान भएको जानकारी दिनुभयो। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा गोली चलेको जिल्लाको धनकौल गाउँपालिका–२ स्थित आधारभूत विद्यालय र कृषि भवन मतदान केन्द्रमा शान्तपूर्ण रूपमा मतदान भएको छ। 

सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले यहाँका मतदान केन्द्रमा बिहान मतदाताको उपस्थिति कम देखिए पनि दिउँसोपछि प्रत्येक मतदान केन्द्रमा मतदाताको उपस्थिति बाक्लो देखियो। धान भित्र्याउने चटारो रहेकाले पनि धेरै उम्मेदवार खेतीमै व्यस्त देखिए।