काठमाडौँ, मङ्सिर ५ गते । प्रतिनिधि सभा र प्रदेश सभाका लागि आइतबार देशभर मतदान गरिएको छ। कलाकारले पनि आ–आफ्नो निर्वाचन क्षेत्रमा मतदान गर्नुभएको छ। मतदानसँगै कलाकारहरू अर्को चुनावमा आफू उम्मेदवार हुने इच्छा पनि व्यक्त गर्नुभएको छ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अहिलेको चुनावले परिवर्तनको सङ्केत गरेको बताउनुभयो। उहाँले नेपाली कला, संस्कृति, चलचित्रको प्रवद्र्धनका लागि कलाकार उम्मेदवार विजयी हुनुपर्ने धारणा व्यक्त गर्नुहुँदै भविष्यमा उम्मेदवार बन्ने मौका पाए अवश्य बन्ने बताउनुभयो।
काठमाडौँ क्षेत्र नम्बर २ स्थित गुह्येश्वरी मावि केन्द्रमा मतदान गरेपछि केसीले राजनीतिबाटै देश परिवर्तन हुने हुनाले यसलाई फोहोरी खेल नभन्न पनि आग्रह गर्नुभयो। यो चुनावमा उम्मेदवार बन्नुभएका कलाकारलाई जितको शुभकामना दिँदै जितसँगै कला क्षेत्रको विकास हुने आशा व्यक्त गर्नुभयो।
यस्तै अभिनेता राजेश हमालले लैनचौरस्थित मतदान केन्द्रबाट मतदान गर्दै अबको चुनावमा आफू उम्मेदवार हुने घोषणा गर्नुभयो।
उहाँले भन्नुभयो, “अबको पाँच वर्षमा हुने निर्वाचनमा मलाई पनि उम्मेदवारका रूपमा देख्न पाउनुहुनेछ।” कुन तहको निर्वाचन, कुन राजनीतिक दल र कहाँबाट उम्मेदवार बन्ने भन्ने निधो भएको छैन हमालले थप्नुभयो, “यसपालिको चुनावले नेपालको राजनीतिमा ठूलो परिवर्तन आउने मेरो विश्वास छ। आफूले पनि परिवर्तनको पक्षमा मतदान गरेको छु।”
हाम्रोलाई होइन राम्रोलाई दिनुपर्ने मान्यताका साथ अभिनेत्री स्वस्तिमा खड्काले मतदान गर्नुभएको छ। काठमाडौँबाट मतदान गर्नुभएकी उहाँले हाम्रोलाई भोट दिएर देश बिग्रेको र राम्रोलाई दिनुपर्ने जोड दिनुभयो। उम्मेदवारी दिनुभएका कलाकारलाई शुभकामना दिँदै उहाँले राष्ट्रको गहनाले देश विकास गर्ने विश्वास व्यक्त गर्नुभयो।
करिश्मा मानन्धर तथा निर्माता विनोद मानन्धरले महाराजगञ्जबाट मतदान गर्नुभएको छ। मतदानपछि मानन्धरले कलाकारले सक्रिय राजनीति गर्न आवश्यक रहेको बताउनुभयो। “कलाकार पनि राजनीतिमा आउने लहर आएको छ, यो चुनावमा त्यो सङ्केत देखिएको छ। रेखा थापालगायत अरू उम्मेदवारले यसपालि जित्नुपर्छ,” उहाँले भन्नुभयो।
नेकपा एमालेमा आबद्ध रहनुभएकी मानन्धर अर्को चुनावमा उम्मेदवार बन्ने इच्छासमेत व्यक्त गर्नुभयो। यस्तै वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले सामाजिक सञ्चालमा पछिल्लो मतदान गरेको फोटो पोस्ट गर्दै लेख्नुभएको छ, “आफूले मतदान लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचनबाट आफूलाई मन पर्ने जनप्रतिनिधि आफैँले छान्न पाउनु हो । सबैले निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गरौँ।”
कलाकारहरूले आफूले मतदान गरेपछि सामाजिक सञ्जालमा फोटाहरू पोस्ट गर्दै मतदान गरी आफ्नो अधिकार प्रयोग गरेको लेख्नुभएको छ।
अभिनेत्री केकी अधिकारीले चाबहिलस्थित मतदान केन्द्रबाट भोट हाल्नुभएको छ। आफूले चाहेको परिवर्तन के हो भन्नेबारे सामाजिक सञ्जालमा केकी लेख्नुहुन्छ, “आज खसाल्ने मतले हाम्रो वर्तमान र भविष्य उठाओस्। मतदान गर्नु ठूलो जिम्मेवारी हो। मतदान गर्न पाउने अधिकार हामीले सजिलै पाएका पनि होइनौँ। त्यसैले आफ्नो मत हाल्ने अधिकार र कर्तव्य पूरा गर्न आ–आफ्नो मतदान केन्द्रमा जाऔँ, कोही पनि नछुटौँ। आफैँ बनाऔँ, आफ्नो सरकार।”
अभिनेता दीपकराज गिरीले दहचोक मतदान केन्द्रबाट मतदान गर्नुभएको छ भने दीपाश्री निरौलाले विराटनगरबाट मतदान गर्नुभएको छ। निरौलाले फोटो सामाजिक सञ्जालमा राख्दै ०७९ को मतदानको सदुपयोग गरियो भनी लेख्नुभएको छ।
गायिका कोमल वलीले नेकपा एमालेबाट दाङको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी हुनुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अभिनेत्री रेखा थापा मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिनुभएको थियो।
प्रतिनिधि सभा सदस्यमै गायक सञ्जय श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो भने निर्देशक तथा समीक्षक मनोज पण्डितले प्रतिनिधि सभा सदस्यका लागि काभ्रे–२ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको थियो।
निर्माता तथा अभिनेता मधुकुमार श्रेष्ठ, कमेडी च्याम्पियन हिमेश पन्त, निर्माता तथा अभिनेता रोज राणा, अभिनेता, निर्माता तथा वितरक करण श्रेष्ठले पनि यस चुनावमा उम्मेदवारी दिनुभएको छ।