• १३ असोज २०८१, आइतबार

‘सुरक्षाकर्मीको संयमताले ठूलो दुर्घटना भएन’

blog

काठमाडौँ, मङ्सिर ५ गते । आइतबार भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अपेक्षाकृत शान्तिपूर्ण भएको छ। केही स्थानमा हवाई फायर भएको छ भने एकाध स्थानमा गोली चल्दा केही व्यक्ति घाइतेसमेत भएका छन् । बाजुरामा गोली चल्दा एक जनाको मृत्यु भएको छ। 

गृह मन्त्रालयले सुरक्षाकर्मीको संयमताले बाजुरामा ठूलो दुर्घटना हुन नपाएको बताएको छ। गृह सचिव विनोदप्रकाश सिंहले बाजुराको त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयको मतदान केन्द्रमा मतपेटिका खोस्न थालेपछि उत्पन्न परिस्थिति नियन्त्रणमा लिने क्रममा संयमता अपनाउँदा अपनाउँदै एक जनाको मृत्यु भएको र प्रहरीसहित केही व्यक्ति घाइते भएको जानकारी दिनुभयो। 

मृत्यु हुनेमा स्थानीय सञ्जीव ऐडी रहेको जनाइएको छ। आठ प्रहरी र आठ जना निर्वाचन कर्मचारीलाई घेराउ गरेर ढुङ्गामुढा गरी मतपेटिका खोस्न थालेपछि प्रहरीले बाध्य भएर स्थिति नियन्त्रणमा लिन खोज्दा गोली लागेर एक जनाको मृत्यु भएको सूचना आएको जानकारी दिँदै उहाँले घटनाको अनुसन्धानपछि सत्यतथ्य सार्वजनिक हुने बताउनुभयो।

मतदानका क्रममा नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाली कांग्रेस पार्टीका कार्यकर्ताबीच झडप हुँदा तीन जना घाइते भएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले जानकारी दिनुभएको छ। घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि अस्पताल लगिएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार देशभर ५३ राउन्ड हवाई फायर भएको छ। रौतहटको गरुडा र कनकपुर मतदान स्थलमा तीन राउन्ड फायर भएको छ। सिराहाको मिर्चैया बडहरामालमा तीन राउन्ड, चितवनमा एक राउन्ड, दोलखाको गुम्बेश्वरमा एक राउन्ड, हुम्लामा १८ राउन्ड, हुम्लाको देवकोटा मावि कुनापानीमा १७ राउन्ड र मान्धार मावि भकुण्डामा एक र बाजुरामा पाँच र डोटीमा चार राउन्ड हवाई फायर भएको छ। 

नवलपरासी पूर्वको देवचुली नगरपालिका–४, झाँक्रेको एक मतदान केन्द्रमा मतपेटिकामा आगजनी भएको छ। स्थानीय शान्ति सिर्जना आधारभूत विद्यालय मतदान केन्द्रमा प्रदेश सभातर्फको समानुपातिक पद्धतिको मतपेटिकाबाट धुवाँ निस्केपछि सुरक्षामा खटिएका प्रहरीले स्थानीय नारायण भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रमुख अधिकारी सुमन घिमिरेले बताए। 

स्याङ्जाको चापाकोट नगरपालिका–१, भानु मावि मतदान स्थल र गल्याङ–७, मनहरीखरणक मावि मतदान स्थलमा झडप र विवाद भएपछि प्रहरीले हवाई फायर गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। त्यहाँ केहीबेर स्थगित भए पनि पुनः मतदान भएको थियो। 

पाँच दिन हिँडेर मतदान

आइतबार सम्पन्न प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा पाँच दिनको बाटो हिँडेर मतदाता मतदानमा सरिक भएको पाइएको छ। 

राष्ट्रिय मानव अधिकार आयोगले मतदान प्रक्रियाको अनुगमनपछि सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा दार्चुलाको व्यास गाउँपालिका–१, छाङरु र तिङ्कर क्षेत्रका मतदाताले पाँच दिनको बाटो हिँडेर जिल्ला सदरमुकाम खलङ्गास्थित मोती महिला सङ्घको मतदान केन्द्रबाट मतदान गरेको पाइएको उल्लेख छ। 

त्यस्तै पाल्पा, रामेछाप र भोजपुरलगायतका कतिपय मतदान केन्द्र अपायक हुँदा मतदाताले घण्टौँ पैदल हिँड्नुपरेको जनाएको छ। जिल्ला प्रशासन कार्यालयबाट सवारी पास वितरणमा कडाइ गरेका कारण अशक्त, अपाङ्गता भएका मतदातालाई मतदान स्थलसम्म पु¥याउन र घर फर्काउनका लागि समस्या भएको आयोगले जनाएको छ। 

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गर्नुभएको विज्ञप्तिअनुसार झापा, सुनसरी पाँचथर, सुर्खेत, कैलालीलगायतका जिल्लामा बम विस्फोटका केही घटना भएको उल्लेख छ। त्यस्तै कैलाली, कञ्चनपुर, मोरङ, दैलेख, डोटी, अछामलगायतका जिल्लास्थित केही मतदान स्थलनजिकै विस्फोटक पदार्थ भेटिएको विज्ञप्तिमा उल्लेख छ। 

हुम्ला, दार्चुला, बाजुरा, दोलखा, रौतहट, सिराहा, चितवनलगायतका जिल्लामा राजनीतिक दलका कार्यकर्ताबीच झडप हुँदा केही व्यक्ति घाइते भएको पाइएको आयोगले जनाएको छ। कास्कीको माछापुच्छ«े गाउँपालिका–८, तारेवराह आधारभूत विद्यालय लुम्लेमा मतदाताले मतपेटिका फुटाएको पाइएको छ। 

हुम्ला कारागारमा रहेका कैदीबन्दीलाई हतकडी नखोली मतदान गराइएको आयोगले जनाएको छ। प्युठानको स्वर्गद्वारी स्वास्थ्य चौकीमा कार्यरत सात कर्मचारीमध्ये छ जनालाई निर्वाचनमा खटाउँदा स्वास्थ्य सेवा बन्द भएको, धेरै मतदान केन्द्र अपाङ्गमैत्री नभएको आयोगले औँल्याएको छ।

म्यादी प्रहरी तथा देशभर २७ हजार कैदीबन्दीमध्ये अधिकांशले मताधिकारको प्रयोग गर्न नपाएको पनि आयोगले जनाएको छ। 

मतदाता शिक्षाको अभाव र निर्वाचनमा खटिएका कर्मचारीलाई पर्याप्त अभिमुखीकरण नभएको उल्लेख गर्दै आयोगले यस्ता कमीकमजोरीलाई सुधार गर्न निर्वाचन आयोगको ध्यानाकर्षणसमेत गरेको छ। 

रोकिए सवारीसाधन

काठमाडौँ उपत्यकामा पासबिना चलाएका एक हजार ८०२ वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रण (होल्ड)मा लिएर साँझ छाडिएको छ। आइतबार साँझ ५ बजेसम्म एक हजार ७०५ मोटरसाइकल र ९७ वटा चारपाङ्ग्रे सवारीसाधन होल्ड गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

होल्ड गरिएका सवारीसाधनलाई दिनभर सडक किनारामा पार्किङ गरी राखिएको थियो। नियन्त्रणमा लिइएका सबै सवारीसाधन निजी रहेको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो। नियन्त्रणमा लिएका सवारीसाधनलाई मतदान सम्पन्न भएपश्चात् सम्बन्धित धनीलाई जिम्मा लगाइएको उहाँले बताउनुभयो। निर्वाचन आयोगले मतदान सुरु भएदेखि सम्पन्न नहुँदासम्म अत्यावश्यकबाहेकका र बिनापासका सवारीसाधन सञ्चालन गर्न रोक लगाएको थियो।