तनहुँ, मङ्सिर ३ गते । तनहुँ जलविद्युत् आयोजनाको विद्युत् गृहतर्फ ५६० मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको छ । कुल एक हजार चार सय आठ मिटर लामो सुरुङ खन्नुपर्नेछ ।
विद्युत् गृहअन्तर्गत सुरुङ निर्माण कार्यमा ४७५ जना जनशक्ति परिचालन गरिएको आयोजनाको वातावरण शाखाका प्रतिनिधि सन्तोष तिवारीले जानकारी दिनुभयो । बाँधस्थलबाट पनि छिट्टै सुरुङ खन्ने कार्य अगाडि बढाइनेछ । उहाँले भन्नुभयो, “आयोजनाले चौबीसै घण्टा निर्माण कार्यलाई अगाडि बढाएको छ ।” प्याकेज दुईअन्तर्गत १, २ र ३ को विद्युत् गृह जाने टनेलको सबै काम सम्पन्न भइसकेको छ ।
ऋषिङ गाउँपालिका–१, झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको उक्त आयोजनाको निर्माण कार्यलाई तीव्रता दिइएको छ । पानी निस्कने सुरुङको ढलान गर्ने काम भइरहेको आयोजनाका सहायक निर्देशक भोजराज पोख्रेलले जानकारी दिनुभयो । उक्त प्याकेजको ठेक्का सोङ दा–कालिका जेभीले पाएको छ । त्यसैगरी प्याकेज दुईअन्तर्गतको विद्युत्गृह खन्ने कामसमेत सम्पन्न भइसकेको छ ।
आयोजनाको प्याकेज दुईअन्तर्गत सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको छ ।
सिनो हाइड्रोपावर लिमिटेडले ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्युत् गृहको सुरुङ खन्ने काम सम्पन्न गरेको आयोजनाले जनाएको छ । विद्युत् गृहको सुरुङ खन्ने काम सन् २०२० अगस्टदेखि प्रारम्भ भएको हो ।
सिनोहाइड्रो कम्पनीले ४३७ दशमलव एक मिटर लामो सुरुङ खन्ने काम सम्पन्न गरिसकेको छ । २८० दशमलव ८५ मिटर लामो मुख्य पहुँच सुरुङ र बाँधस्थल जाने ३१४ मिटर लामो पहुँच सुरुङ निर्माण कार्य पनि सम्पन्न गरेको छ ।