• १३ असोज २०८१, आइतबार

नियात्रा

पानाथेनाइक रङ्गशालामा एक फन्को

blog

कृष्ण बजगाईं

 टेकेको छु, एथेन्सको धरतीमा । ठिङ्ग उभिएको छु, छब्बीस सय वर्ष पुरानो रङ्गशालाअगाडि । नजर दौडाइरहेछु, आधुनिक ओलम्पिक खेल सुरु भएको रङ्गशालामा । घरि आँखा ठोकिन्छन् रङ्गशालाको ठीक अगाडिको व्यस्त सडकमा । त्यहाँ देखिरहेछु म्याराथुन धावकझैँ दौडिरहेका गाडीका ताँती । 

हरेक चार वर्षमा आयोजना गरिने ओलम्पिक खेल मलाई ठूलो अन्तर्राष्ट्रिय महोत्सवझैँ लाग्छ । ओलम्पिक खेलको मुख्य उद्देश्य संसारका सबै राष्ट्रबीचमा सम्मान, आपसी भाइचारा र मित्रता बढाउनु हो । मानवताको विकास गर्नु र विश्व शान्ति कायम राख्न योगदान पु¥याउनु हो । एकअर्काका विरुद्ध लडिरहेका देशका खेलाडी खेलमा मैत्रीपूर्ण प्रतिस्पर्धा गरिरहेका हुन्छन् । एउटै भान्साका खाना सँगै बसेर खाइरहेका देख्न सकिन्छ । देशहरूबीच चलेको द्वन्द्व र आपसी वैमन्यस्यता बिर्सेर राष्ट्रप्रमुखहरू एउटै मञ्चमा बसेर खेल हेरिरहेका हुन्छन् । ओलम्पिक खेललाई मैले सबैलाई जोड्ने मित्रताको पुल मानेको छु ।

ओलम्पिक खेल प्राचीन समयका ग्रिसवासीको धार्मिक अनुष्ठानसहितको खेलकुद कार्यक्रम थियो । अहिलेको ओलम्पिक खेलमा धार्मिक अनुष्ठान छैन । बाँकी रहेको छ खेलकुद मात्र । ग्रिकवासीको धार्मिक परम्पराको आधुनिक रूप हो– ओलम्पिक खेल । त्यसैको निरन्तरताका रूपमा पाएको छु, मैले ओलम्पिक खेललाई ।

ओलम्पिक रङ्गशालाले मलाई अतीतकालमा पु¥यायो । अनायासै मानसपटलमा पल्टिन थाले इतिहासका पानाहरू । धार्मिक उद्देश्यले अभिप्रेरित ओलम्पिक खेल इशापूर्व ७७६ वर्षअघि एथेन्सभन्दा तीन सय किलोमिटर टाढा ओलम्पिया भन्ने ठाउँमा सुरु भएको थियो । त्यहाँ ग्रिकका सबैभन्दा ठूला देवता जीउसको सम्मानमा धार्मिक अनुष्ठानसहित खेलकुद कार्यक्रम आयोजना गरिन्थ्यो । ओलम्पियामा पाँच दिनसम्म सञ्चालन हुने खेलकुद कार्यक्रममा त्यहीँका नागरिकले मात्र भाग लिन पाउँथे । खेलमा विजेता खेलाडीले पुरस्कारका रूपमा जैतुनको पुष्प माला र रिबन पाउँथे । 

घरि दर्शकदीर्घामा बस्छु । घरि खेल मैदानमा झर्छु । अरूको देखासिकी गर्दै एकछिन खुर्रर खेल मैदानमा कुद्छु । घरि विजेतालाई पदक बाँड्ने ‘मेडल पोडियम’माथि चढ्छु । त्यसमा पनि खेलमा प्रथम हुने खेलाडी उभिने अग्लो स्थानमा उभिन्छु । कल्पना गर्दछु खेलमा प्रथम विजेता बनेको । 

आधुनिक ओलम्पिक खेलको सुरुवात भने एथेन्सको पानाथेनाइक रङ्गशालामा भएको थियो । प्राचीन समयमा त्यहाँ बर्सेनि पानाथेनिया उत्सव आयोजना गरिन्थ्यो । हरेक चार वर्षमा विशेष प्रकारका बृहत् उत्सव आयोजना हुन्थ्यो । प्राचीन ग्रिकवासी मूर्ति पूजक थिए । त्यस उत्सवमा एथेना देवीको मूर्तिलाई पूजा गरेर पशु बलि दिइन्थ्यो । उनको सम्मानमा धार्मिक अनुष्ठानसहित खेलकुद आयोजना गरिन्थ्यो । त्यो उत्सव आठ दिनसम्म सञ्चालन हुन्थ्यो । त्यहाँ हुने खेलकुदमा एथेन्स सहरदेखि बाहिरकाले समेत भाग लिन पाउँथे । विजेताले पैसा र एक भाँडो जैतुनको तेल प्राप्त गर्दथे । त्यहाँ एक दिन कविता वाचनका लागि समय छुट्याइन्थ्यो । अचम्म मान्छु; पूजाआजा, खेलकुद र कविताबीच कस्तो सम्बन्ध हो ?

चर्को घाम लागेको छ । एथेन्स सहरको तापक्रम ३० डिग्री सेल्सियस पुगेको छ । बारम्बार निधारको पसिना पुछिरहेको छु । पानाथेनाइक रङ्गशालाभित्र प्रवेशका लागि टिकट किन्न गेट अगाडि उभिएर नजर दौडाउँछु । चर्को घाममा पनि मेरा अगाडि र पछाडि थुप्रै अवलोकनकर्ता लामबद्ध देख्छु । 

पानाथेनाइक रङ्गशालाले धेरै हिमपात र वर्षा खेपेको छ । चर्को घाम सहेको छ । छब्बीस सय वर्षअघि काठले बनाइएको थियो पानाथेनाइक रङ्गशाला । त्यसलाई सन् १४४ मा सम्पूर्ण रूपमा मार्बलको बनाएर सिँगारिएको थियो । उतिबेला ५० हजार दर्शक अट्ने ग्रिसवासीको गौरव त्यस रङ्गशालालाई बाहिरबाट नियालिरहेछु । 

दुःखी बन्छु, ग्रिसको दुर्दिन सुरु भएको इतिहास थाहा पाउँदा । शक्तिशाली रोमन साम्राज्यको पूर्ण अधीनमा ग्रिस पुगेपछि त्यहाँ क्रिश्चियन धर्मको व्यापक विस्तार गरिएको थियो । हुन त धेरै पहिले रोमवासी पनि देवता मान्ने मूर्ति पूजक नै थिए । अलिक पछि रोम नै संसारभरका क्रिश्चियनको मुख्य केन्द्र बन्न पुग्यो । रोमन साम्राज्यले परम्परादेखि चलिआएको संस्कार मान्न ग्रिकवासीलाई रोक लगायो । रोमन सम्राट् थियोडियस प्रथमले एथेन्सको पानाथेनिया उत्सवलाई मूर्ति पूजाको उत्सव बताएर त्यहाँ हुने खेललगायत सम्पूर्ण गतिविधिमा प्रतिबन्ध लगाए । प्रतिबन्ध लगाएको करिब १५ सय वर्षपछि त्यही स्थानबाट आधुनिक ओलम्पिक खेलको पुनर्जन्म भएको थियो । ओलम्पिक खेलको जन्मस्थानमा उभिन पाउँदा मेरो खुसी पदक जित्ने खेलाडीको भन्दा कम थिएन ।   

लाइनमा उभिएर वरपर नियालिरहेको छु । अहो, रङ्गशाला त दुई स–साना डाँडाको काखैमा पो रहेछ ! आग्रा र आर्डेटोस नामका ती डाँडाको बीचमा रहेको सानो उपत्यकामा रङ्गशाला मुस्कुराइरहेको थियो । कल्पना गर्दछु, प्राचीन समयमा दर्शक प्राकृतिक दृश्यमा रमाउँदै खेलकुद हेर्दथे होलान् । 

टिकट लिएपछि मेरा उत्साहित पाइला रङ्गशालाभित्र प्रवेश गरे । जिज्ञासु नयन चारैतिर दौडिए । पूरै मार्बलले बनेको रङ्गशाला देखेर विस्मित हुन्छु । प्राचीन कालमा त्यत्रो विशाल रङ्गशाला मार्बलले बनाउने उनीहरूको सीप, कला र सामथ्र्यको प्रशंसा गर्न मन लाग्यो । प्रविधिको राम्ररी विकास नभएको समयमा कति समय र पैसा लगाएर त्यत्रो विशाल रङ्गशाला बनाए होलान् ? आफँैलाई प्रश्न सोध्छु ।

लाइनमा उभिएर वरपर नियालिरहेको छु । अहो, रङ्गशाला त दुई स–साना डाँडाको काखैमा पो रहेछ ! आग्रा र आर्डेटोस नामका ती डाँडाको बीचमा रहेको सानो उपत्यकामा रङ्गशाला मुस्कुराइरहेको थियो । कल्पना गर्दछु, प्राचीन समयमा दर्शक प्राकृतिक दृश्यमा रमाउँदै खेलकुद हेर्दथे होलान् ।  

रङ्गशालाभित्र ओलम्पिकको इतिहास बताउने म्युजियमतिर गोडा लम्किन थाले । त्यहाँ रहेको सानो म्युजियमभित्र पुगेर दृष्टि दौडाउन थालेँ । विभिन्न समयको ओलम्पिक खेलका ओलम्पिक टर्चहरू, ओलम्पिक खेलका आधिकारिक पोस्टरहरू र लोगोलगायत अन्य महìवपूर्ण सामग्रीले खेलको गाथा भनिरहेको पाएँ । 

त्यहाँ राखिएका ओलम्पिक टर्चहरूले मलाई इतिहासको उज्यालो देखाए । संस्कृति र परम्पराका गाथा सुनाए । ओलम्पिक खेलको समयमा बालिने ओलम्पिक ज्योति प्राचीन ग्रिसको धर्मसँग पो जोडिएको थाहा पाउँदा आश्चर्यचकित हुन्छु । ग्रिक पौराणिक कथाअनुसार प्रमिथसले देवलोकबाट आगो चोरेर ल्याई मानिसलाई दिएका थिए । सोही कार्यलाई ओलम्पियामा उत्सवका रूपमा मनाउन थालियो । प्राचीन समयमा ओलम्पियामा आयोजना हुने धार्मिक अनुष्ठान र खेलकुदको उत्सवमा सबै देवताका पिता जीउसलाई पशु बलि दिएर पूजा गरिन्थ्यो । पाँच दिनसम्म हुने उक्त कार्यक्रम अवधिभर लगातार मशाल प्रज्वलित गरिन्थ्यो । त्यसैको निरन्तरता हो– अहिलेको ओलम्पिक ज्योति । अहिले पनि ओलम्पिक खेल अवधिभर ओलम्पिक ज्योति लगातार प्रज्वलित गरिन्छ । खेल सकिएपछि मात्र उक्त ज्योति निभाइन्छ । हातले स्पर्श गर्न नमिल्ने मेरा अगाडि रहेको ज्योति बोक्ने ओलम्पिक टर्चहरूलाई खुब नियाल्छु । धन्न प्रमिथसले आगो चोरेछन् र त हामीले ओलम्पिक खेल हेर्न र खेल्न पायौँ । कथाका नायक प्रमिथस र लेखकलाई सम्झँदै आफैँसँग ठट्टा गर्दछु । 

मेरो मनले अझै ओलम्पिकको आगो तापिरहेको थियो । खोज्दै थिएँ ओलम्पिक ज्योतिको इतिहास । भेट्टाउँछु सत्ताइस सय वर्ष अघिदेखिको परम्परा । अहिले आयोजना हुने ओलम्पिक खेलमा प्रज्वलित गरिने ओलम्पिक ज्योतिले ईशापूर्व सातौँ शताब्दीमा बनेको ओलम्पियामा अविस्थत हेरा देवीको मन्दिरबाट यात्रा सुरु गर्दछ । उक्त ज्योति एथेन्समा रहेको पानाथेनाइक रङ्गशालामा आयोजक राष्ट्रलाई हस्तान्तरण गरिन्छ । त्यस ज्योतिलाई एकदम पवित्र अग्नि मानिन्छ । उक्त ज्योति सलाई कोरेर वा लाइटर बालेर प्रज्वलित गरिन्छ । हेरा मन्दिरको प्राङ्गणमा विशेष प्रकारको ऐनाको माध्यमले सूर्यको किरणबाट आगो उत्पन्न गराइन्छ । उक्त आगो उत्पन्न गराउने काम महिलाले मात्र गर्छन् । त्यो प्राचीन परम्परा हो । त्यही पवित्र आगोबाट ओलम्पिक ज्योति प्रज्वलित गरिन्छ । ग्रिकवासीको प्राचीन धर्मसँग जोडिएको उक्त परम्परालाई आजसम्म कसैले विरोध गरेका छैनन् । संसारभरका विभिन्न धर्म मान्ने राष्ट्रहरूले सहर्ष स्वीकारेका छन् । म त्यो प्राचीन परम्पराको निरन्तरतालाई सम्मान गर्दछु ।

म्युजियमबाट फर्केर फेरि रङ्गशालामा आउँछु । चर्को घाममा पाइला चालिरहेछु । हिँड्दै जाँदा एउटा ढुङ्गाको स्तम्भमा अगाडि र पछाडि अलग अलग अनुहार भएको मूर्ति देखेर रोकिएँ । नियालेर हेर्दछु त्यो त प्राचीन ग्रिकको हर्मिज नामक देवताको मूर्ति पो 

रहेछ ! उनी जीउस देवताका पुत्र हुन् । उनलाई ओलम्पियन देवताका दूतका रूपमा मानिन्छ । हर्मिज देवता सिमाना, सडक, यात्री, खेलाडी, साहित्य आदिका देवता पनि हुन् । उतिबेला उनलाई साहित्यकारले कविताका संरक्षकका रूपमा पुज्ने गर्दथे । उनी खेलाडीका पनि देवता भएकाले उनको मूर्ति त्यस रङ्गशालामा राखिएको होला भनेर अनुमान गर्दछु । म घुमन्ते यात्री थिएँ । साहित्य लेखक थिएँ । थोरै कविता लेखे पनि केही अरूले मलाई कविको पगरी लगाइदिएका छन् । यसो विचार गर्दछु, उनी त मेरा इष्टदेव पो परेछन् । ती देवतालाई शिर झुकाएर नमन गरेँ । मनमा बेग्लै खालको आनन्द आयो । एक खालको सकारात्मक ऊर्जाको सञ्चार भएको महसुस भयो ।

अवलोकनका क्रममा दर्शकदीर्घामा अग्रपङ्क्तिमा दुईवटा मार्बलको कलात्मक कुर्सी देखेँ । त्यो कुर्सी महìवपूर्ण व्यक्तिका लागि बस्नलाई बनाइएको रहेछ । प्राचीन समयमा पानाथेनाइक खेल हेर्न आउने राष्ट्रप्रमुख वा अन्य महìवपूर्ण व्यक्तिलाई बस्नका लागि मार्बलको कलात्मक कुर्सी बनाइएको थियो । त्यो प्राचीन कुर्सी बाठा बेलायतीले उहिले नै लगिसकेका थिए । उक्त ऐतिहासिक कुर्सी संयोगवश केही वर्षअघि ब्रिटिस म्युजियममा हेर्ने अवसर जुरेको थियो । अहिले रङ्गशालामा रहेको मार्बलको कुर्सी पछि बनाइएको अनुकृति हो । 

सन् १८९६ मा प्रथम पटक आधुनिक ओलम्पिक खेल आयोजना भएको रङ्गशालामा पाइला चालिरहेको छु । आधुनिक ओलम्पिक खेलको जन्मस्थानलाई स्पर्श गरिरहेको छु । हर्षित छ मन । अचानक इतिहास सम्झँदा मन दुःखी बन्छ । प्रथम ओलम्पिक खेलमा महिला खेलाडीलाई सहभागी हुन दिइएन । ओलम्पिक खेल इतिहासको त्यो विभेदकारी कार्य चित्तबुझ्दो थिएन । महिला–महिलाबीचमा हुने खेलमा पुरुषले लगाएको प्रतिबन्धलाई रङ्गशालाभित्रैबाट विरोध ग¥यो मेरो मनले । 

प्रथम ओलम्पिक खेलमा बाहिरी विश्वबाट अपरिचित नेपालले त्यसबेला सहभागिता जनाउने कुरै भएन । उतिबेला ओलम्पिक खेल पनि हुन्छ भन्ने कुरा सरकारमा बस्नेहरूलाई सायद थाहा थिएन होला । त्यही रङ्गशालामा सन् २००४ मा भएको ओलम्पिक खेलमा नेपालले सहभागिता जनाएको थियो । खेल र खेलाडीको विकासका लागि नेपाल सरकारबाट खासै लगानी गरिएको छैन । पदक नजिते पनि नेपालको झन्डा फहराउँदै मार्च पास गर्नुलाई मैले उपलब्धिका रूपमा लिएको छु ।  पुलुक्क रङ्गशालाको खेल मैदानमा नजर लगाउँछु । मेरो अगाडि खेलाडीको जोश बोकेका केही युवक–युवती, अधवैंशे महिला र पुरुष थिए । खेल उनीहरूको रुचिको विषय थियो वा थिएन थाहा छैन । तीमध्ये कोही खेलाडीजस्तो भएर खेल मैदानमा कुदिरहेका थिए । कोही दर्शकदीर्घामा बसेर खेलाडीबिनाको खेल मैदानमा आँखा दौडाइरहेका थिए । 

त्यहाँका दृश्यले मलाई स्थिर हुन दिएन । घरि दर्शकदीर्घामा बस्छु । घरि खेल मैदानमा झर्छु । अरूको देखासिकी गर्दै एकछिन खुर्रर खेल मैदानमा कुद्छु । घरि विजेतालाई पदक बाँड्ने ‘मेडल पोडियम’माथि चढ्छु । त्यसमा पनि खेलमा प्रथम हुने खेलाडी उभिने अग्लो स्थानमा उभिन्छु । कल्पना गर्दछु खेलमा प्रथम विजेता बनेको । खेलाडी त हुँदै होइन म । कसरी म चञ्चले केटाकेटीजस्तो भएँ हँ ? उक्त कुरा सम्झेर फिस्स हाँस्छु ।

मभित्रको बालक मन जागृत गराउने त्यहाँको वातावरण थियो । मलाई ऊर्जा प्रदान गर्ने त्यही पवित्र भूमि हो । त्यस ऐतिहासिक र पवित्र भूमिमा टेक्न पाउँदा फुक्काफाल भएर किन नरमाउनु ? म इतिहासको जानकारी लिन गएको थिएँ । आनन्दले घुम्न पुगेको थिएँ ।  खुसी र आनन्दले गर्दा एथेन्सको प्रचण्ड गर्मीले सेकिरहेको कुरा बिर्सेछु । प्यास लागेर घाँटी सुकिसकेको रहेछ । रङ्गशालामा अझै फन्को लगाउने विचारलाई त्यागेँ । हतारिँदै रङ्गशालाबाहिर निस्केँ ।