• ९ मंसिर २०८१, आइतबार

मतदान स्थल नजिक हुँदा मतदाता उत्साहित

blog

बागलुङ समाचारदाता

बागलुङ, मङ्सिर ३ गते । बागलुङको ढोरपाटन नगरपालिका–६, अधिकारीचौरका मतदातालाई मत राख्न चार घण्टा पैदल यात्रा गर्नुपथ्र्याे । मतदान गर्न जाँदा लामो समय पैदल यात्रा गर्नुपर्ने हुँदा अशक्त, बिरामी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका मतदातालाई मतदान केन्द्रसम्म पुग्न कठिन थियो । विगतका निर्वाचनमा चाहेर पनि मत राख्न जान नसकेका मतदाता यस पटक उत्साहित भएका छन् । 

राजनीतिक सहमतिका आधारमा जिल्ला निर्वाचन कार्यालयले मतदान स्थल थप गरेको छ । अधिकारीचौरका सम्पूर्ण छन्त्यालले चार घण्टाको दूरी ४५ मिनेटमा छोटिएको हुँदा घरको काम भ्याएर मतदान गर्न सुविधा पाएको बताउनुभयो । कार्यालयले स्थानीय तह निर्वाचनमा १०३ मतदान स्थल कायम गरेकोमा अहिले तीन मतदान स्थल थप गरेको छ । कार्यालयका सूचना अधिकारी गोकुल शर्माले ढोरपाटन नगरपालिका–६, ढोरपाटन नगरपालिका–२ र गलकोट नगरपालिका–१० मा एक÷एक वटा मतदान स्थल थप गरिएको बताउनुभयो ।

अधिकारीचौर क्षेत्रका मतदातालाई पायक पर्ने ठाउँ जनता प्राथमिक विद्यालयमा मतदान गर्न पाउने व्यवस्था गरिएको । उक्त स्थानमा पुग्न ४५ मिनेट लाग्छ । ढोरपाटन नगरपालिका–२ की शान्ति थापा यस पटक मतदान गर्न उत्साहित हुनुहुन्छ । साढे एक घण्टाको यात्रा गरेर मतदान स्थल पुग्नुपर्ने बाध्यता हटेको बताउँदै उहाँले भन्नुभयो, “अधिकांश बासिन्दा कृषिमा संलग्न हुनुहुन्छ । विगतमा मतदान गर्ने इच्छा भएर पनि जान नसक्ने अवस्था थियो । यस पटक त्यस्तो गुनासो नहुने भयो ।” 

ढोरपाटन नगरपालिका–६ का वडाध्यक्ष उमेशकुमार बुढामगरले यस पटक मतदान स्थल थप हुँदा स्थानीय मतदाता उत्साहित भएको बताउँदै दूरी घट्दा ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूलाई केही सहज हुने धारणा व्यक्त गर्नुभयो ।