• १९ असोज २०८१, शनिबार

राप्रपाबाट १७५ जना एमालेमा प्रवेश

blog

गोरखापत्र अनलाइन

काठमाडौं, मंसिर १ गते । मतदान हुने पूर्वसन्ध्यामा राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय युवा मोर्चाका केन्द्रीय अध्यक्ष एवं टोखा नगरपालिकाका राप्रपाबाट मेयरका उम्मेदवार सुरज पाण्डेसहित १७५ जना कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको छ । उहाँहरूलाई एमाले वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं निर्वाचन क्षेत्र नं. ५ का उम्मेदवार ईश्वर पोखरेलले स्वागत गर्नुभयो ।

बिहीबार काठमाडौं क्षेत्र नम्बर ५ को अन्तिम चुनावी सभामा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले युवा मोर्चाका अध्यक्ष पाण्डेसहित नवप्रवेशलाई स्वागत गर्नुभएको हो । कार्यक्रममा पाण्डे र राप्रपाका बागमती प्रदेश कमिटी सचिवालय सदस्य पुरुषोत्तम दंगालसहित १ सय ७५ जना कार्यकर्ता एमाले प्रवेश गर्नुभएको एमाले निर्वाचन परिचालन कमिटीकी संयोजक एवं पार्टी केन्द्रीय सदस्य शान्ति अधिकारीले बताउनुभयो ।


 केन्द्रीय सदस्य एवं काठमाडौं ५ (१) का उम्मेदवार नारायण सिलवाल, एमाले काठमाडौंका अध्यक्ष एवं ५ (२) का प्रदेशसभा सदस्य उम्मेदवार दीपक निरौला लगायतले पार्टीमा नवप्रवेशलाई स्वागत गर्नुभएको थियो । 

चुनावी अभियान सुरु भएपछि काठमाडौं क्षेत्र नम्बर ५ मा विभिन्न पार्टीबाट एक हजार भन्दा बढी एमालेमा प्रवेश गरिसक्नुभएको निर्वाचन परिचालन कमिटीले जनाएको छ । एक साता अवधिमा मात्र माओवादीका शेखर श्रेष्ठको नेतृत्वमा १ सय ५१ जना, कांग्रेसका रोशन पुजारीको नेतृत्वमा ७५ जना, एकीकृत समाजवादीका यज्ञबहादुर सुनारको नेतृत्वमा ५५ जना पार्टी प्रवेश गर्नुभएको थियो । 

राप्रपाबाट मेयरका उम्मेदवार सुरज पाण्डे र माओवादीबाट मेयरका उम्मेदवार शेखर श्रेष्ठ एमाले प्रवेश गरेपछि टोखा नगरपालिकामा एमाले झन् बलियो बनेको जनाएको छ । यसैबीच, चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले मङ्सिर ४ गतेको निर्वाचन देश बनाउने कि देश बिगार्नेबीचको जनमत सङ्ग्रह भएको बताउनुभयो ।

देशलाई अन्धकारबाट उज्यालोतर्फ लैजान सूर्य चिन्हमा मतदान गरी एमालेलाई विजयी गराउन उहाँले आह्वान गर्नुभयो । बाटोमा हिँड्दाहिँड्दै उम्मेदवार बनेका र मतदाता नामावलीमा नाम समेत नभएकाबाट यस क्षेत्रको विकास हुन नसक्ने उहाँको भनाइ छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले चक्रपथ बाहिर पनि मेलम्ची पानी वितरण गर्ने, उत्तरी क्षेत्रमा स्वस्थ खानेपानी वितरणका लागि शिवपुरी क्षेत्रमा ठूला पोखरी निर्माण गर्ने, प्राविधिक विद्यालय स्थापना गर्ने, महिलाले निर्माण गरेका सीपलाई प्रदर्शन गर्न सबै वडामा कोसेली घर स्थापना गर्ने, सुकुम्वासीलाई बासको व्यवस्था गर्ने, निर्वाचन क्षेत्रका युवा क्लब तथा महिला समूहमा अक्षयकोष स्थापना गर्न सघाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  


वरिष्ठ उपाध्यक्ष पोखरेलले आउने पाँच वर्षभित्र कलङ्कीदेखि धोबीखोलासम्म चक्रपथ विस्तार गर्ने प्रतिबद्धता जनाउनुभयो । चक्रपथ विस्तारका लागि छुट्टाइएको रकम गठबन्धनले स्वाहा बनाएको बताउँदै उहाँले एमाले रहेसम्म चक्रपथ विस्तार आयोजना अलपत्र नहुने बताउनुभयो ।