• ८ मंसिर २०८१, शनिबार

काठमाडौं–६ मा पुराना भीमसेनलाई नयाँ अनुहारको चुनौती

blog

काठमाडौं, मंसिर १ गते । काठमाडौं प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. ६ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका भीमसेनदास प्रधान र नेकपा (एमाले) का सर्वेन्द्र खनाल मुख्य प्रतिस्पर्धी हुनुहुन्छ । 

काठमाडौं ६ मा गठबन्धनका प्रदेशसभा सदस्य (क) मा नेकपा (माओवादी केन्द्र) का रविन्द्र श्रेष्ठ र प्रदेशसभा (ख) मा कांग्रेसका विष्णुभक्त तिमल्सिना हुनुहुन्छ । एमालेको प्रदेशसभा (ख) मा अमन मास्के हुनुहुन्छ । 

सो पदमा जनता समाजवादी पार्टी नेपालका मनोज आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद आचार्य, नेपाल मजदुर किसान पार्टीका सनकमान महर्जन, मौलिक जरोकिलो पार्टीका कमल न्यौपाने, हाम्रो नेपाली पार्टीका मुकुन्द सिलवाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महेश्वर कार्की, राष्ट्रिय जनमुक्ति पार्टीका तारा रसाइली, विवेकशील साझा पार्टीका अजित खड्का, एकीकृत शक्ति नेपालका काजी कार्की, नेपाल आमा पार्टीका राजेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसहित राजनीतिक दलका १३ र स्वतन्त्र ११ गरी जम्मा २४ उम्मेदवार छन् । जसमध्ये पुरुष उम्मेदवार २३ र महिला उम्मेदवारको सङ्ख्या १ छ ।

२०७४ निर्वाचन परिणाम 

२०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा अहिले पनि उम्मेदवार रहनुभएका कांग्रेसका भीमसेनदास प्रधान र माओवादी केन्द्रका झक्कु प्रसाद सुवेदीबीच प्रतिस्पर्धा भएको थियो । त्यस बेला प्रधान १६,७८५ मतले विजयी हुनुभएको थियो भने एमाले र माओवादी अर्थात् वाम गठबन्धनका संयुक्त उम्मेदवार सुवेदीले (१५, ४८५ मत) दोस्रो स्थान हासिल गर्नुभएको थियो । विवेकशील साझा पार्टीका रमेश चिलुवाल (४,२२५ मत) तेस्रो हुनुभएको थियो । 

कांग्रेसको एकल बहुमत आउने दाबी 

पूर्व रक्षामन्त्री समेत रहनुभएका कांग्रेसका उम्मेदवार प्रधानले आफू यस क्षेत्रमा निरन्तर काम गर्दै आएको एवम् जनतासँग प्रत्यक्ष साक्षात्कार हुँदै आएकोले अनुकूल अवस्था रहेको बताउनुभयो । मतदाता भेटघाट एवम् चुनावी घरदैलो अभियानमा व्यस्त रहनुभएको उहाँले खानेपानीको समस्या सम्बन्धमा गुनासो प्राप्त भएको पनि बताउनुभयो ।

प्रधानले भन्नुभयो, “यहीको मान्छे भएकोले पनि सहज छ । धेरैको गुनासो के छ भने, खानेपानीको समस्या यहाँ छ । दोस्रो, युवाहरू पलायन भइरहेका छन् । यस क्षेत्रका जग्गा, जमिन सदुपयोग गर्ने । शिक्षा, स्वास्थ्य, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई केही गर्नुपर्छ भन्ने छ ।”

जीत सुनिश्चित हुने कुरा जनताको निर्णयमा भर पर्ने भन्नुहुँदै उहाँले गठबन्धनको माहौल भएकाले पनि थप सहयोग हुने कुरा जोड्नुभयो । २०७४ मा वाम गठबन्धन हुँदा पनि विजय हासिल गर्नुभएका प्रधानले कांग्रेसले बहुमत ल्याउने दाबी समेत गर्नुभयो । उहाँले चुनावी प्रतिबद्धता एवम् पार्टीको केन्द्रीय घोषणापत्र बमोजिम आगामी दिनमा आफ्ना कार्यक्रमहरू अगाडि बढाउने उल्लेख गर्नुभयो ।  

पूर्व आईजीपी एमालेका उम्मेदवार

पूर्व आईजीपी एवम् एमाले उम्मेदवार सवेन्द्र खनालले अवस्था निकै उत्साहप्रद रहेको बताउनुभयो । केही समयअघि मात्रै एमाले प्रवेश गर्नुभएका खनाल चुनावी प्रतिस्पर्धाका लागि नयाँ अनुहार हुनुहुन्छ । 

खनालले यस क्षेत्रलाई धुलो, हिलोमुक्त बनाउने, मुख्य र शाखा सडकहरूलाई पक्की सडक एवम् स्तरोन्नति गर्ने, साइकल लेन निर्माण, जलवायु परिवर्तनका प्रतिकुल प्रभावबाट समुदायलाई सुरक्षा र पर्यावरणको संरक्षण, विकास लगायतका प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यससँगै राष्ट्रिय सुरक्षाका सवालमा दीर्घकालीन नीति, रणनीति, कानुन निर्माण, चुस्त–दुरुस्त प्रहरी प्रशासन सम्बन्धमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आवश्यक विकासका सम्भाव्यता अध्ययनलाई अघि बढाइने उहाँले बताउनुभयो । 

नयाँ अनुहारका प्रतिबद्धता

२०७४ सालको निर्वाचनमा तेस्रो स्थान बनाएको विवेकशील साझा पार्टीले यो पटक पनि विभिन्न प्रतिबद्धता मतदाता समक्ष राखेको छ । काठमाडौं ६ मा विवेकशील साझाका उम्मेदवार अजित खड्काले अबको २० वर्षपछि नेपाल कस्तो हुने भन्ने स्पष्ट खाकासहित चुनावी अभियानमा होमिएको बताउनुभयो । 

यतिका लामो समयसम्म प्रमुख राजनीतिक दललाई भोट दिएका मतदाताबाट चुनावमा निराशाजनक प्रतिक्रिया प्राप्त भइरहेको भन्नुहुँदै उहाँले निःशुल्क स्वास्थ्य, शिक्षा उपलब्ध गराउने योजना रहेको बताउनुभयो ।

खड्काले भन्नुभयो, “यो संविधानले पनि सुनिश्चित गरेको छ । हामीले स्पष्ट खाका बनाएका छौँ । भ्रष्टाचार अन्त्य गर्ने, भ्रष्टाचारीलाई कडाभन्दा कडा दण्ड दिने । रोजगारी, दिगो विकास, पूर्वाधार निर्माणमा विवेकशील साझाको दूरदृष्टि रहेको छ ।”

देशमा बिचौलियाको मुख्य समस्या रहेकाले यसको पहिचान गरी निष्क्रिय पार्न पहलकदमी लिनुपर्ने बताउनुभयो । मतदाताले नयाँ अनुहार खोजिरहेकाले आगामी ५ वर्षमा निर्वाचित हुनेले संसदमा र नहुने सबै स्वतन्त्रहरूले आफ्नो ठाउँमा निःशुल्करुपमा काम गरे यो सम्भव हुने उहाँको भनाइ छ ।

“स्वतन्त्र पनि कुन स्वतन्त्र छान्ने भन्ने छ । जति स्वतन्त्र उम्मेदवार छन्, सबैले पैसा नलिई काम गर्ने । जित्नेले संसदमा, हार्नेले आफ्नै समाजमा काम गर्ने । ५÷५ वर्ष निःशुल्क्रुपमा काम गर्ने हो भने शिक्षा, स्वास्थ्य लगायतका सेवा, सुविधा निःशुल्क उपलब्ध गराउन सकिन्छ । यो सिद्धान्तले काम गर्नुपर्छ”, उहाँले भन्नुभयो ।  

स्थानीय निर्वाचन परिणाम : १० वडामा कांग्रेस, ६ वडामा एमाले अगाडि

काठमाडौं ६ अन्तर्गत काठमाडौं महानगरपालिकाका वडाहरू २६, २७, २८, तारेकेश्वर नगरपालिकाको वडाहरू १, २, ६, ७, ८, ९, १०, ११ र टोखा नगरपालिकाका वडाहरू १, ८, ९, १०, ११ पर्दछन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको मतपरिणाम अनुसार काठमाडौं महानगरको वडा नं. २६ को अध्यक्षमा कांग्रेसका ख्याम राज तिवारी (३,३१५ मत) विजयी हुनुभएको थियो । वडा २७ मा कांग्रेसका योगेश कुमार खड्गी (१,५४१ मत), वडा २८ मा पनि कांग्रेसका भाइ राम खड्गी (१,२८२ मत) विजयी हुनुभएको थियो ।

तारकेश्वर नगरपालिको वडा १ मा एमालेका विदुर सापकोटा (८५८ मत), वडा २ मा कांग्रेसका राधाकृष्ण खड्गी (१,१२६ मत), वडा ६ मा कांग्रेसका घनश्याम श्रेष्ठ (१,५८० मत), वडा ७ मा कांग्रेसका सानुकाजी खत्री (७८४ मत), वडा ८ मा कांग्रेसका श्यामकृष्ण सापकोटा (१,०९३ मत), वडा ९ मा एमालेका श्याम कृष्ण महर्जन (६५७ मत), वडा १० मा कांग्रेसका कुमार राई (६२५ मत), वडा ११ मा कांग्रेसका कविराज बस्नेत (१०३७ मत) विजयी हुनुभएको थियो ।

यसैगरी, टोखा नगरपालिकाको वडा १ मा कांग्रेसका रमेश कुमार लामिछाने (७५३ मत), वडा ८ मा एमालेका रमेश खत्री (८९४ मत), वडा ९ मा एमालेका रामभक्त घिमिरे (१,०४१ मत), वडा १० मा एमालेका मचाकाजी महर्जन (७२८ मत) र वडा ११ मा एमालेका घनश्याम खड्का (१,००७ मत) विजयी हुनुभएको थियो ।


Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।