• १९ असोज २०८१, शनिबार

फेरि गठबन्धन सरकार बन्छ : अध्यक्ष नेपाल

blog

बिहीबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल । तस्बिर : सुजन गुरुङ

काठमाडौं, मंसिर १ गते। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनपछि फेरि गठबन्धन सरकार बन्ने बताउनुभएको छ।

बिहीबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा आयोजित चुनावी सभामा सम्बोधन गर्नुहुँदै उहाँले केपी ओली नेतृत्वको गठबन्धन सरकार बन्ने भ्रममा नपर्न बताउनुहुँदै सो कुरा बताउनुभएको हो। 

यसअघिको चुनावमा एमाले र माओवादी सम्मिलित वाम गठबन्धनले दुई तिहाइको बहुमत प्रदान गरेको तर, एमाले अध्यक्ष ओलीले जनमतलाई अपहेलना गरेको उहाँले बताउनुभयो।

अध्यक्ष नेपालले भन्नभयो, “एमाले र माओवादी केन्द्र दुई दलको संयुक्त चुनावी तालमेल भएको थियो। चुनावी गठबन्धन नभएको भए, एमालेले सिट ल्याउने थिएन, कमसेकम सत्य कुरालाई स्वीकार गर्नुपर्छ। यो कुरालाई ढाकछोप गर्ने र अवमूल्यन गर्ने काम गरेका छन्। जनताले विश्वास गरेर झण्डै दुई तिहाइ बहुमत गरेर एउटा मौका दिएका थिए। जनताले जनमतलाई अपहेलना गरेको हुनाले जनताले यस पटकको चुनावमा पराजित गर्नेपर्छ।”

एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले एकलौटी पारामा काम गरेको भन्नुहुँदै उहाँले जनताको भविष्य राम्रो बनाउन प्रतिगामी गठबन्धन गर्नेलाई सजाय दिनुपर्ने उहाँले बताउनुभयो। उहाँले यस क्षेत्रको समस्या समाधानका लागि सक्षम नेतृत्व जो पूर्व सभामुख समेत रहनुभएका ओनसरी घर्तीलाई अघि सारेको पनि प्रस्ट्याउनुभयो।

“यो क्षेत्रको विकासका निम्ति समस्या समाधान गर्न सजिलो हुन्छ भनेर यो ठाउँ छोडेर, ओनसरी कमरेडलाई मैले विशेष सिफारिस गरेको थिएँ। ओनसरीमा केही खुबी भएको, महिला नेतृ तपाईँको बीचमा आउनुभएको छ। नेपाली महिलाको जीत हुनेछ। जनताको जीत हुनेछ। समावेशिताको बाटोमा अगाडि बढाउनेको जीत हुनेछ। असल मान्छेलाई सबैले प्रोत्साहन गरौँ”, उहाँले भन्नुभयो।

उहाँले गठबन्धनका सबै दलका उम्मेदवारलाई जिताउन अपिल पनि गर्नुभयो।