• १२ असोज २०८१, शनिबार

ताप्लेजुङमा १५ जना महिलालाई मतदान अधिकृतको जिम्मेवारी

blog

ताप्लेजुङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर १ गते। मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा ताप्लेजुङमा १५ जना महिलाले मतदान अधिकृतको जिम्मेवारी पाउनुभएको छ। जिल्लाका विभिन्न १५ वटा मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा महिलाले जिम्मेवारी पाउनुभएको हो। 

जिल्ला निर्वाचन अधिकारी दिनेश खनालका अनुसार जिल्लाको कुल एकसय २३ मतदान केन्द्रमध्ये १५ वटा केन्द्रमा महिला मतदान अधिकृत खट्नुभएको छ। सदरमुकामस्थित फुङ्लिङ नगरपालिकासहित विभिन्न गाउँपालिकाका मतदान केन्द्रमा महिला मतदान अधिकृत खट्नुभएको जिल्ला निर्वाचन अधिकारी खनालले जानकारी दिनुभयो। 

उहाँकाअनुसार फुङ्लिङ नगरपालिका-६ को कभर्डहल दाहालगाउँ ‘ख’ मतदान केन्द्रमा सरिता कट्टेल, फुङ्लिङकै वडा नम्बर ९ हाङ्देवाको जनता माध्यमिक विद्यालय ‘ख’ केन्द्रमा विजया राई मतदान अधिकृतका रूपमा खट्नुभएको छ। 

यस्तै फुङ्लिङ नगरपालिकाकै वडा ११ फावाखोलाको सिम्बु माध्यमिक विद्यालय ‘क’ केन्द्रको मतदान अधिकृतमा मञ्जु गुरुङ रहनुभएको छ। 

त्यस्तै फक्ताङ्लुङ गाउँपालिका–३ लिङखिमको महेन्द्र आधारभूत विद्यालय ‘क’ केन्द्रमा सञ्जय राई, वडा ४ इखाबुको सुनदेवी माध्यमिक विद्यालय केन्द्रमा कविता ओझा, वडा ७ को ओलाङ्चुङगोला वडा कार्यालय मतदान केन्द्रमा बिना कार्कीले मतदान अधिकृतको जिम्मेवारी पाउनुभएको छ। सिदिङ्वा गाउँपालिका–२ सादेवाको सिद्धेश्वरी माध्यमिक विद्यालय केन्द्रमा लासाङ तामाङ र वडा ३ आङ्खोपको सिंहेश्वरी माध्यमिक विद्यालय ‘ख’ मतदान केन्द्रमा मायादेवी पाठक मतदान अधिकृतका रूपमा खट्नुभएको छ।

जिल्लाको सिरिजङ्घा गाउँपालिका–१ सिनामको सिनाम बहुमुखी क्याम्पस ‘ख’ मतदान केन्द्रमा गीता अधिकारी, वडा ७ खेबाङको गणेश माध्यमिक विद्यालय ‘क’ केन्द्रमा स्वस्तिका अधिकारी, आठराई त्रिवेणी गाउँपालिका–४ स्थित छातेढुङ्गा माध्यमिक विद्यालय ‘क’ केन्द्रमा लक्ष्मीमाया वनेम मतदान अधिकृत रहनुभएको छ। 

आठराई त्रिवेणी गाउँपालिका–२ को दुर्गा माध्यमिक विद्यालय फूलबारी ‘क’ केन्द्रमा लक्ष्मीयामा गोम्देन, मिक्वाखोला गाउँपालिका–१ स्थित मोती माध्यमिक विद्यालय खोक्लिङ ‘ख’ केन्द्रमा प्रेमकुमारी लिम्बू मतदान अधिकृत रहनुभएको छ। उता मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपको लक्ष्मी माध्यमिक विद्यालय ‘ख’ केन्द्रमा रामकला कार्की र फुङ्लिङ नगरपालिका ३ को बालसुबोधिनी संस्कृत माध्यमिक विद्यालय मेदिबुङ ‘ख’ केन्द्रमा विद्या भण्डारी मतदान अधिकृत बन्नुभएको छ। 

ताप्लेजुङमा ७५ मतदानस्थल र एकसय २३ वटा मतदान केन्द्र रहेका छन्। मतदान केन्द्रमा खट्ने सबै कर्मचारीलाई मतदान प्रक्रिया र व्यवस्थापनसम्बन्धी अनुशिक्षण प्रदान गरी आ-आफ्नो कार्यक्षेत्र खटाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। आवश्यक निर्वाचन सामग्रीसहित बिहीबार सम्ममा सबै कर्मचारी कार्यक्षेत्रतर्फ लागेका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो।