रङ्गेली समाचारदाता
विराटनगर, चैत १० गते । विराटनगर महानगरपालिका–१९, बैजनाथपुरमा पुरानो पेट्रोल पम्प न्यु कान्तिपुर फ्युल सेन्टर अहिले चिटिक्क पारिएको छ । पुष्पलाल चोक–विराट चोक सडकखण्डमा इन्धन मात्रै बिक्री गर्दै आएको पेट्रोल पम्पपरिसरमा अहिले विद्युतीय (इभी) चार्जिङ स्टेसन पनि थपिएको हो ।
यसका प्रमुख लगानीकर्ता तुलसी पोखरेलका अनुसार यो हाइब्रिड सवारीलक्षित पुनर्संरचना गरिएको चार्जिङ तथा फ्युल सेन्टर हो । जहाँबाट इभी र इन्धन दुवै विकल्प भएका हाइब्रिड सवारीका लागि सहुलियत पुग्ने छ । त्यसबाहेक इभी मात्रै वा इन्धन मात्रै प्रयोग हुने सवारीलाई पनि सहज हुने छ । सञ्चालक पोखरेलका अनुसार पुरानो पेट्रोल पम्पलाई पनि नयाँ र त्यही परिसरमा विद्युतीय चार्जिङ स्टेसनसमेत थप्दा झन्डै दुई करोड लगानी गरिएको छ । त्यही परिसरमा ढावा सेन्टर र बाल उद्यानसमेत सञ्चालनमा छ ।
विद्युतीय सवारीसाधन प्रयोगकर्ता बढ्दै जाँदा यसका लागि आवश्यक संरचनामा लगानीसमेत थपिँदो छ । तीन वर्षअगाडि नेपाल विद्युत् प्राधिकरणले देशभर ६७ वटा चार्जिङ स्टेसन स्थापना गर्दा कोशी प्रदेशमा इटहरी र विराटनगरमा दुई वटा स्थापना भएका थिए । त्यसपछि निजी क्षेत्रको लगानी यसमा आकर्षित हुँदै गएको हो ।
नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयले मात्रै चार्जिङ स्टेसन स्थापनाका लागि सिफारिस दिँदै आएकोमा गत साउन २६ गते यसलाई प्रादेशिक कार्यालयमा अधिकार हस्तान्तरण गर्ने निर्णय गरिएको थियो । नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय कोशीका उपनिर्देशक पवन गुप्ताका अनुसार केन्द्रीय कार्यालयले प्रदेशमा अधिकार हस्तान्तरण गर्दासम्म देशभर ७५० चार्जिङ स्टेसनका लागि सिफारिस भएको तथ्याङ्क छ । प्रादेशिक कार्यालय कोशीबाट पछिल्लो तीन महिनायता सिफारिस गर्ने काम भइरहेको छ । जसमा १५ वटा चार्जिङ स्टेसनका लागि सिफारिस लगिएको उपनिर्देशक गुप्ताले जानकारी दिनुभयो ।
यद्यपि विद्युत् प्राधिकरण प्रादेशिक कार्यालयमा भने सिफारिस लिएकामध्ये कति चार्जिङ स्टेसन स्थापना भए भन्ने यकिन तथ्याङ्क अहिले छैन । उपनिर्देशक गुप्ताका अनुसार साउनमा निर्णय गरेयता सिफारिस लैजाने व्यवसायी सबैबाट ट्रान्सफर्मर माग भएको छैन ।
चार्जिङ स्टेसन स्थापनाका लागि सहज बनाउन प्रदेश कार्यालय वा केन्द्रबाट सिफारिस लिएका व्यवसायीले वितरण केन्द्रबाट यसको जडानसहितको प्रव्रिmया पूरा गर्ने सुविधासमेत दिइएको छ । कोशी प्रदेशका १४ जिल्लामा २४ वटा वितरण केन्द्र रहेका छन् । कोशीमा पछिल्लो तीन महिनामा गाडी चार्ज इभी कम्पनीले चार स्थानका लागि सिफारिस लिएको छ । जसमा ताप्लेजुङ, इनरुवा, बेलबारी, अनारमनी र इलाम रहेका छन् । त्यसबाहेक इनरुवा, दमक र विराटनगरमा तीन वटा चार्जिङ स्टेसनका लागि सिफारिस भएका छन् ।
अहिले व्यवसायीले हाइब्रिड सवारीलक्षित गरिरहेको बताउनुभयो । हाइब्रिड भन्नाले कम्बस्चन इन्जिन र इलेक्ट्रिक मोटर दुवै भएको सवारी हो । जसलाई इन्धन वा ब्याट्रीबाट चलाउन सकिन्छ ।
अहिले अनुमति लिएकाहरू ४० देखि दुई सय किलोवाटसम्म क्षमताका चार्जिङ स्टेसन हुन् । त्यसबाहेक कतिपय व्यवसायीले तीन सय किलोवाट क्षमताको समेत अनुमति लिएर आफैँ ट्रान्सफर्मर ल्याएपछि प्राधिकरणले जडान गरिदिन्छ । बाँकीको हकमा ट्रान्सफर्मर र मिटरबक्स प्राधिकरणले नै उपलब्ध गराउँछ । जेनजी आन्दोलनपछि भने अहिले ट्रान्सफर्मरको अभाव भइरहेको जनाइएको छ ।