• १२ असार २०८१, बुधबार

मेलम्चीको पानी टनेलमा पठाउने कार्य अन्तिम चरणमा

blog

मेलम्चीको पानी टनेलमार्फत पठाइँदै । फाइल फोटो

काठमाडौं, मङ्सिर १ गते । राजधानी ल्याउनका लागि मेलम्चीको पानी टनेलमा पठाउने कार्य अन्तिम चरणमा पुगेको छ । वर्षाका कारण अवरुद्ध रहेको मेलम्चीको पानी काठमाडौं ल्याउनका लागि काम सुरु भइरहेको छ ।

अहिले खोलालाई डाइभर्ट गरेर गेटहरु खोल्ने तयारी भएको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘उपत्याकामा मेलम्चीको पानी ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । अहिले खोलाहरु डाइभर्ट गरेर गेटहरु खोल्ने काम भइरहेको छ ।’’

गेटहरु खोलिसकेपछि सरसफाइ गरेर मात्र पानी टनेलमा हालिने इन्जिनियर कुँवरले बताउनुभयो । टनेलमा पानी पठाएको करिब १४ दिनपछि मात्र टनेल भरिनेछ र पानी काठमाडौं पठाइने उहाँको भनाइ छ ।

यसकारण उपत्यकामा मेलम्चीको पानी आउन अझै एक महिना लाग्ने देखिएको उहाँ बताउनुहुन्छ । कुँवरले भन्नुभयो, ‘‘गेटहरु खोलेर केही फोहोर भए सफा गरेर टनेलमा पानी पठाउँछौँ । तर टनेलमा पानी पठाएको करिब १४ दिनसम्म त टनेल भरिन समय लाग्छ । त्यसपछि मात्र काठमाडौं पानी पठाउन सुरु गर्छौं ।’’
कुँवरका अनुसार वर्षाअगावै गेटहरु बन्द गरिएकाले गतवर्षको तुलनामा यसवर्ष सुरुङभित्र र बाहिर बढी क्षति नभएकाले आधामात्र सरसफाइ गरे पुग्ने देखिएको छ । तर, अबको एक दुई दिनमा सुरुङभित्रको केही फोहोर सफा गरिसक्ने उहाँको भनाइ छ ।

अम्बाथानमा पोर्टल खोल्ने काम पनि जारी नै रहेको कुँवर बताउनुहुन्छ । अहिले आयोजनाको टोली मुहान मर्मतमा खटिएको उहाँले जानकारी दिनुभयो ।

हाल जतिसक्दो छिटो पानी सुरुङमार्गमा पठाउने गरी काम भइरहेको उहाँको भनाइ छ । चुनावले गर्दा पनि काममा केही ढिलाइ भएको उहाँ बताउनुहुन्छ
विसं २०७८ असार १ को बाढीले आयोजनाको बाँध र हेडवर्क्समा क्षति पुर्‍याएपछि मर्मत गरी २०७९ वैशाख ११ गतेदेखि असारको पहिलो सातासम्म पानी ल्याइएको थियो ।  गत असार १८ गते वर्षाले क्षति पुर्‍याउन सक्ने भन्दै मूल गेट नै बन्द गरिएको थियो ।

अध्ययन गर्दै एडीबीकाे टोली
एडीबीको टोली भौगर्भिक अध्ययनका लागि ११ दिनदेखि त्यस क्षेत्रमा छ । मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदम कुँवरले दिएको जानकारी अनुसार एडीबीको टोलीले भेमान्थाङ र हेडवर्क्सकाे अध्ययन गरिरहेको छ ।

भेमान्थाङमा ड्रिलिङ्ग गरेर जमिन भित्रको अवस्थितिको अध्यन गरिहेको छ भने मेलम्चीको मुहानमा हेडवर्क्सलाई सार्ने कि नसार्ने भन्ने विषयमा अध्ययन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।