• १३ असोज २०८१, आइतबार

उम्मेदवार नै नदेख्ने दाङको सानानाका

blog

उम्मेदवार नदेखेको दाङको राजपुर गाउँपालिका वडा नं ७ को खिड्की नाका । तस्बिर: दिवाकर पोख्रेल

देउखुरी, मङ्सिर १ गते । दाङको राजपुर गाउँपालिका वडा नं ७ को खिड्की नाका निवासी पीताम्बर रानाले अहिलेसम्म उम्मेदवार देख्न पाउनुभएको छैन । जताततै निर्वाचनको माहाेल बनिरहँदा दाङका सानानाका  गाउँमा उम्मेदवार मत माग्न पुगेका छैनन् । त्यहाँका मतदाताले उम्मेदवारको अनुहारै नदेखी मतदान गर्नुपरेको गुनासो गर्छन् । पीताम्बर राना भन्नुहुन्छ,‘यहाँ कहिल्यै उम्मेदवार आउँदैनन्, निर्वाचनमा उम्मेदवार कोको हुन् भनेर नचिनेरै मतदान गर्नुपरेको छ ।

स्थानीय तहको निर्वाचनमा समेत दाङका एक दर्जन नाकाका बस्तीमा उम्मेदवार पुगेनन् । उम्मेदवार नपुगे पनि निर्वाचनमा मतदान गर्नुपर्छ भन्ने हिसाबले मतदान गर्ने गरेका त्यी बस्तीका मतदाता बताउँछन् । राजपुर गाउँपालिका विषखोपरी नाकाका हरि बुढाले निर्वाचनमा उम्मेदवार गाउँमा नआउँदा आफ्ना समस्या राख्न नपाएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, उम्मेदवार घर आँगनमा आएर मत माग्ने हामीहरुले समस्या सुनाउन पाए पो मतदान गर्दा उत्साह थपिन्छ, उम्मेदवार आउँदैनन् हामी निर्वाचनमा मत हाल्न गइरहन्छौ, एकोहोरो भएको छ ।’

खिड्की नाकाका राना र विषखोपरी नाकाका बुढा मात्रै होइन दाङका एक दर्जनभन्दा बढीनाकाका बस्तीमा उम्मेदवार नपुग्दा मतदाता निराश हुने गरेका छन् ।  गढवा गाउँपालिका वडा नम्बर ८ अर्ना, डेहरुवा, भौरेसाल, भगवानपुर, राजदरुवा, राजपुर गाउँपालिका वडा नम्बर १ अन्तर्गत पर्ने खकहवा, विषखोपरी, अमुवा, त्यसै गरी राजपुर गाउँपालिका वडा नम्बर ७ को तल्लो सुकैया, खिडकी, भदौरा र मृगिया नाकाका अधिकांश स्थानीय नाकावासीहरूलाई यसपालिको निर्वाचनको नमुना मतपत्र देख्न पाएका छैनन् । न्यूनतम विकासका पूर्वाधार पनि  नपुगेको उक्त नाकाका गाउँमा एक सयभन्दा बढी घर छन् । करिब दुई सय मतदाता रहेका नाका क्षेत्रका मतदाता मतदानका लागि भारतको बाटो प्रयोग गरेर मतदान गर्न जाने गर्दछन् । मतदान गर्नका लागि नाका क्षेत्रका मतदाता दुई दिन पहिले मतदान गर्न हिंडछन्  ।  

उम्मेदवारले भने निर्वाचनको समयमा प्रत्येक गाउँमा जान नसकिएको स्वीकार गर्दछन् । वाम– लोकतान्त्रिक गठबन्धनको तर्फबाट दाङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार मेटमणि चौधरीले दाङका ठूला नाकामा पुगे पनि दर्जनभन्दा बढी सानानाका छुटेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘क्षेत्र ठूलो भएको र भौगोलिक विकटताका कारण पनि सबै नाकामा पुग्न समस्या भयो, पार्टी कार्यकर्ताबाट सहजीकरण हुनेछ भन्ने आशामा छु ।’ नाका क्षेत्रमा पुग्न भारतीय सडक प्रयोग गर्नुपर्ने र बारम्बार भारतीय सुरक्षाकर्मीको अनुमति लिइरहनुपर्दा पनि नाका क्षेत्रमा उपस्थिति सहज नभएको उम्मेदवारको भनाइ छ । नेकपा एमालेको तर्फबाट प्रदेशसभा दाङ क्षेत्र नं १ (२) का उम्मेदवार कुलबहादुर केसी ठूला र धेरै बस्ती भएका नाकामा आफू पुगिसकेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘सबै बस्तीमा पुग्ने योजना भए पनि सकिएको छैन, स्थानीय पार्टी कार्यकर्ताले हामी उम्मेदवारलाई चिनाउने काम गर्नुभएको छ ।’

Author

दिवाकर पोख्रेल