• २८ वैशाख २०८२, आइतबार

होमस्टेको ‘हब’ बन्दै लमजुङ

blog

सार्क राष्ट्रकै नमुना पर्यटकीय गाउँका रूपमा विख्यात लमजुङको घलेगाउँ पुग्दा मुग्ध नहुने कोही नहोला । लमजुङको क्व्होलासोथार गाउँपालिका–३ मा पर्ने घलेगाउँ पुग्दा लमजुङ, मनास्लु, अन्नपूर्ण, माछापुच्छ«े, गणेश हिमाल आदि दर्जनौँ हिमशृङ्खलाको चित्ताकर्षक दृश्य, गुरुङ संस्कृति र परम्परा अनि स्थानीय उत्पादनका शुद्ध खानपानका साथै गाउँलेको न्यानो आतिथ्यले पर्यटकलाई लट्ठै पार्दछ । 

२५ वर्षको आन्तरिक पर्यटन विकासले घलेगाउँलाई दक्षिण एसियामै नमुना ग्रामीण पर्यटकीय गाउँका रूपमा प्रख्यात बनायो भने घलेगाउँ सुखी गाउँ हुँदै समाजवादी गाउँका रूपमा विकसित हुँदै गएको छ । घलेगाउँको त्यो पर्यटकीय ज्वरोले लमजुङका अन्य गुरुङ गाउँलाई पनि छोयो । त्यसपछि लमजुङका धेरै जसो गाउँमा होमस्टे सुरु भएका छन् ।

दुई दर्जन गाउँमा होमस्टे

२०५६ सालबाट घलेगाउँमा होमस्टे सुरु भएको हो । स्याङ्जाको सिरुबारीको सिको गर्दै घलेगाउँले होमस्टे सुरु गरेपछि लमजुङमा होमस्टेको लहर चल्न थाल्यो । २०६५ मा पहिलो पटक घलेगाउँ दक्षिण एसियाली मुलुकको नमुना पर्यटकीय गाउँ ‘सार्क भिलेज’ घोषित भयो । यो गाउँ दुई पटक सार्क राष्ट्रको नमुना गाउँ घोषणा भयो । सुरुमा १० घरबाट सुरु भएको होमस्टे अहिले दलित समुदायका दुई घरसहित ४६ घरमा होमस्टे छ । पाँच वटा होटेल सञ्चालनमा छन् । 

पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेम घलेका अनुसार हरेक होमस्टेको आम्दानी मासिक सरदर ५० हजार रुपियाँभन्दा बढी छ । “घलेगाउँका होमस्टेले मात्रै वर्षमा करिब दुई करोड रुपियाँभन्दा बढी भिœयाउँछन्,” घलेले भन्नुभयो, “पर्यटनबाटै आर्थिक समृद्धि सम्भव भन्ने कुरा घलेगाउँवासीले देखाइरहेका छन् ।”

गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ) ले सन् २०१४ मा उत्कृष्ट होमस्टे गाउँ घोषणा गरेको बेँसीसहर नगरपालिका–३ मा रहेको काउलेपानी होमस्टे पनि पर्यटकको रोजाइमा पर्ने गाउँ हो । यहाँ १४ वटा घरमा होमस्टे छन् । सन् २०११ बाट सुरु गरिएको उक्त गाउँका हरेक होमस्टेले मासिक सरदर ५० हजारभन्दा बढी कमाउँछन् । काउलेपानी पर्यटन विकास समितिका अध्यक्ष देउबहादुर गुरुङका अनुसार गाउँमा बर्सेनि ७५ लाख रुपियाँ भित्रिन्छ । “पैसा कमाउनका लागि विदेश गएका युवा आजभोलि होमस्टे चलाउन गाउँ फर्किएका छन्,” उहाँले भन्नुभयो, “युवाहरू गाउँमै होमस्टे चलाएर र कृषि उद्यम गरेर बस्न थालेका छन् ।”

पछिल्लो समस्य लमजुङ होमस्टेको ‘हब’ बनेको छ । लमजुङका सबै जसो स्थानीय तहमा होमस्टे सञ्चालनमा आएका छन् । बेँसीसहर–चामे सडक निर्माणले अन्नपूर्ण पदमार्ग सङ्कटमा परिरहेका बेला वरिपरिका गाउँलेले होमस्टे सञ्चालन गरी पर्यटक तानिरहेका छन् । यहाँका एक दर्जनभन्दा बढी गाउँ घुम्न पर्यटक आउँछन् । वर्षमा एक लाख हाराहारीको सङ्ख्यामा पर्यटकले लमजुङको ग्रामीण क्षेत्र घुम्छन् । गाउँ गाउँमा रहेका होमस्टेमा स्वदेशीदेखि विदेशी पर्यटक पुग्ने गरेका छन् । सहरको कोलाहल छल्न गाउँ छिर्ने आन्तरिक तथा बाह्य पर्यटकले नै ग्रामीण पर्यटन धानेको छ । सङ्घीय संरचनापछिको चार नगरपालिका र चार गाउँपालिकाको स्थानीय तह सबैमा ग्रामीण पर्यटकीय गाउँ छन् । 

क्व्होलासोथार गाउँपालिकामा घलेगाउँ, भुजुङ, पसगाउँ, सिङ्दी, मालिङ, गिलुङलगायत गाउँ पर्यटकीय दृष्टिकोणबाट निकै चर्चित छन् । मस्र्याङ्दी गाउँपालिकाको घनपोखरा, सिउरुङ, ढगैँ, मिप्रा, छापा, खानीगाउँ, भुष्मे, भलामचौर पर्यटकीय गाउँ हुन् । दुधपोखरी गाउँपालिकाको इलमपोखरी, दुधपोखरी, बिचौर पर्यटकीय क्षेत्र हुन् । दोर्दी गाउँपालिकाको हिलेटक्सार, दुबार, सिमी, ताँजे पर्यटकीय गाउँ हुन् । बेँसीसहर नगरपालिकाको गाउँसहर, काउलेपानी, खासुर, पुरानकोट र नरुवल पर्यटकीय गाउँ हुन् । चिती स्याउतको सुन्तलाबारीमा सुन्तला होमस्टे पनि छ । राइनास नगरपालिकाको राइनासकोट, सुन्दरबजार नगरपालिकाको तार्कुगहते, तुर्लुङकोट साथै मध्यनेपाल नगरपालिकाको करापुटार, समिभन्ज्याङ र डढुवा पर्यटकीय क्षेत्र हुन् । 

त्यस्तै ऐतिहासिक स्थल राइनासकोटमा सुरु गरिएको होमस्टे आन्तरिक पर्यटकले भरिभराउ हुने गरेको छ । भूकम्पले भत्किएका घर पुनर्निर्माणसँगै सुरु गरिएको होमस्टे गाउँ यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । भूकम्पले भत्काएका राइनासकोटका घरमध्ये होमस्टे सञ्चालनका लागि १४ घर आधुनिक तवरबाट बनाइएका छन् । निर्माण भएकामध्ये नौ घरमा होमस्टे सुरु गरिएको छ । राइनासकोट होमस्टेको सञ्चालिका विष्णु गुरुङले होमस्टे सुरु भएको छोटो समयमा नै उत्कृष्ट गाउँ बन्न सफल भएको र पर्यटक राम्रै आउन थालेको बताउनुभयो । राइनास होमस्टेले उत्कृष्ट होमस्टे अवार्ड पनि पाइसकेको छ । २०७२ को भूकम्पपछि विस्थापित हुन लागेको गाउँ अमेरिकी नागरिक नतसा बाजनियाकको सहयोगमा पुनर्निर्माण गरिएपछि होमस्टेको अवधारणा अघि बढाइएको थियो । लमजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भरतकुमार श्रेष्ठले गाउँ गाउँमा सञ्चालनमा रहेका होमस्टेले जिल्लाको प्रचारका साथै आर्थिक विकासमा टेवा पुगेको बताउनुभयो । 

विभिन्न जातिका होमस्टे

लमजुङ जिल्लाका ग्रामीण क्षेत्रमा खुलेका होमस्टेमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्न थालेको छ । गाउँमा स्थानीय परिकार, कला, संस्कृति, प्राकृतिक सौन्दर्य र स्वागत सत्कारले पर्यटक लोभिन थालेसँगै होमस्टेमा चहलपहल बढेको हो । 

घुमफिरमा आन्तरिक पर्यटकले ग्रामीण क्षेत्रका होमस्टे रोज्न थालेपछि गाउँमा आकर्षण ह्वात्तै बढेको हो । घलेगाउँँबाट सुरु भएको सामूहिक एकता अहिले अन्य गुरुङ गाउँमा पनि फैलिएको छ । अहिले विश्वविख्यात चक्रीय अन्नपूर्ण पदमार्गको प्रवेशद्वारमा पर्ने लमजुङका सबै गुरुङ गाउँ पर्यटकीय गाउँका रूपमा विकसित भइसकेका छन् । सबै पर्यटकीय स्थलमा खोलिएका होमस्टे गुरुङ गाउँमा मात्र छैनन् । घलेगाउँमा दलित परिवारले पनि होमस्टे चलाएका छन् । काउलेपानीमा नेवार र भुजेल जातिले होमस्टे सञ्चालन गरेका छन् । बेसीसहरको नरुवाल पाखाथोकमा मगर समुदायले होमस्टे सञ्चालन गरेका छन् । मस्र्याङ्दी गाउँपालिका–८, भुष्मेमा तामाङ समुदायको होमस्टे छ । सुन्दरबजार नगरपालिकाको सिन्दुरे तुर्लुङकोटमा दुरा जातिले होमस्टे चलाएका छन् । हरेक गाउँका ओछ्यानबाट हिमशृङ्खला देखिन्छ । रङ्गीबिरङ्गी फूल, वन्यजन्तु, पशुपन्छी साथै हावापानी र वातावरणले पर्यटकलाई लोभ्याउँछ ।

ग्रामीण पर्यटनले स्थानीयको आर्थिक स्तर मात्र उकासेको छैन, मौलिक संस्कृति र परम्पराले पनि ख्याति कमाएको छ । अन्नपूर्ण पदयात्रा मार्गमा सडक निर्माणसँगै पर्यटकीय क्षेत्रमा नकारात्मक प्रभाव परिरहेका बेला ती ग्रामीण पर्यटकीय गन्तव्य भने आशाका किरण बनेर झुल्किएका छन् । 

संस्कृति जगेर्नामा होमस्टे 

होमस्टेले हराउँदै गएको संस्कृतिको जगेर्ना गरेको छ । बहुजाति र बहुसंस्कृति रहेको यहाँको संस्कृतिलाई होमस्टेमा स्वागत तथा पाहुनालाई देखाउन प्रयोग गरिन्छ । “हाम्रो गुरुङ संस्कृति लोप हुने अवस्थामा थियो,” काउलेपानी पर्यटन विकास समितिका अध्यक्ष देउबहादुर गुरुङले भन्नुभयो, “पर्यटकलाई देखाउन थालेपछि संस्कृति जोगिएको छ ।” होमस्टे गाउँमा गुरुङ संस्कृतिका घाँटु, सोरठी, कौडा, झ्याउरे नाच देखाउने गरिन्छ । यहाँ नेवारी समुदायको नाच र गीतसमेत प्रस्तुत गरिन्छ ।

पर्यटन व्यवसायी मनकाजी श्रेष्ठका अनुसार होमस्टे सुरु हुनुअघि काउलेपानीका नेवार समुदायले आफ्नो संस्कृति भुल्दै गएका थिए । “गाउँमा आएका पर्यटकले नेवारी संस्कृति पनि देखाउन सुझाए,” श्रेष्ठले भन्नुभयो, “आजभोलि नेवारी गीत खोजेर सिक्दै नाच्ने गरेका छौँ ।” होमस्टेले परम्परागत संस्कृति लाखे नाच, गाईजात्रा, घोडेजात्रा, बाघजात्रा, कृष्णजात्रालगायतका संस्कृति जोगिएको छ ।

त्यस्तै घनपोखरा पर्यटन समितिका अध्यक्ष क्या. जितबहादुर गुरुङले पर्यटकीय चहलपहल भएपछि आफ्ना पुराना संस्कृतिको पनि खोजी भएको बताउनुभयो । “गुरुङ संस्कृतिको ‘तमाराछोरी’ नाच निकै पुरानो र दुर्लभ हो । यो घनपोखरामा मात्र नाचिन्छ,” गुरुङले भन्नुभयो, “हराउँदै गएका यस्ता नाच आजभोलि पुनः जागृत हुँदै छन् ।”

बेँसीसहर नगरपालिका–२, नरवल पाखाथोकमा मगर समुदायले मगरगाउँ होमस्टे सञ्चालन गरेका छन् । होमस्टे सञ्चालकले मगर समुदायको वेशभूषा साथै संस्कृतिको संरक्षणमा होमस्टे सञ्चालन भएपछि थप सहयोग पुगेको बताउँछन् । होमस्टे सञ्चालक यमबहादुर मगरका अनुसार गाउँमा आउने पर्यटकलाई मगर संस्कृतिको कौडा नाच र अरू संस्कृति देखाइन्छ ।

मस्र्याङ्दी गाउँपालिका–८ स्थित भुस्मेगाउँमा तामाङ होमस्टे छ । भुष्मे पुग्दा तामाङ संस्कृति देख्न पाइन्छ भने सुन्दरबजार नगरपालिकाको तुर्लुङकोट पुग्दा दुरा संस्कृति । लमजुङ सदरमुकाम आइपुगेका पर्यटक आफ्नो इच्छा अनुसार जाति विशेषको होमस्टेमा जान सक्छन् । “कुन जातिको संस्कृति, संस्कार र आतिथ्यता लिनुपर्ने हो त्यहीँ जान सकिन्छ,” लमजुङ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष एवं पर्यटन व्यवसायी रामकुमार श्रेष्ठले भन्नुभयो, “जातीय संस्कृति, स्वागत र खानपानको फरक फरक स्वाद लिन पाइन्छ ।”

जातीय सङ्ग्रहालय स्थापना

लमजुङको पर्यटन प्रवर्धनसँगै विभिन्न गाउँमा निर्माण गरिएका जातीय सङ्ग्रहालयले त्यतिकै महत्व पाउन थालेका छन् । स्थानीय संस्कार र संस्कृतिलाई जोडेर निर्माण गरिएका सङ्ग्रहालय पर्यटन प्रवर्धनका लागि थप कोषेढुङ्गा बनेका छन् । प्राकृतिक सौन्दर्य हेर्न तथा होमस्टेको अनुभव लिन पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सङ्ग्रहालय पुरानो संस्कृति बुझ्ने थलो बन्दै गएको छ । गाउँसहरमा दलित सङ्ग्रहालय, घलेगाउँ र राइनासमा गुरुङ जातिको सङ्ग्रहालय छ । भुष्मे होमस्टेमा तामाङ र तुर्लुङकोट होमस्टेमा दुरा सङ्ग्रहालय बनाइएको छ । सङ्ग्रहालयमा आआफ्ना जातिको पहिचान, संस्कार र संस्कृति झल्किने सामग्री राखिएका छन् ।

होटेलभन्दा होमस्टेको रोजाइ

लमजुङ आइपुग्ने पर्यटक होटलभन्दा होमस्टे गाउँमा नै बस्न रुचाउँछन् । न्यानो आतिथ्यताका माध्यमबाट गाउँघरका परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई आकर्षित गरेको हो । प्रायः होमस्टे सञ्चालन भएका गाउँमा यातायातको सुविधा भएपछि पर्यटक सिधै होमस्टेका लागि पुग्ने गरेका छन् । अन्नपूर्ण पदयात्रा गर्ने पर्यटकका लागि प्रवेशद्वारका रूपमा रहेको लमजुङमा आन्तरिक र बाह्य पर्यटक समान रूपमा आउने गर्छन् । जिल्लामा भित्रिएकामध्ये हजारौँ पर्यटक होमस्टेको मज्जा लिनकै लागि लमजुङ आउने गरेका छन् । जिल्लाका सदरमुकाम र अन्य व्यापारिक केन्द्रमा रहेका सुविधासम्पन्न होटेलबाट आधुनिक सेवा सुविधा प्राप्त हुने भए पनि होमस्टेबाट परम्परागत सुविधा पाउने भएकाले अधिकांश पर्यटकले होमस्टेलाई नै गन्तव्य बनाउँदै आएका छन् । 

पछिल्लो समय लमजुङका होमस्टेले देश विदेशमा चर्चा पाउन थालेपछि अन्नपूर्ण पदमार्गमा आएका पर्यटक दिन लम्ब्याएर होमस्टे आउने गरेको सिउरुङ होमस्टेका सचिव उमरबहादुर गुरुङ बताउनुहुन्छ । स्थानीय पर्यटन प्रवर्धनमा यसले राम्रो सघाउ पनि पु‍र्‍याइरहेको छ । खास गरी व्यवस्थित होटेल, लज नभएको स्थानमा होमस्टे राम्रो विकल्प हो । 

त्यसो त होमस्टेको छुटै विशेषता छ । होमस्टेमा आनन्द हुने पर्यटक बताउँछन् । होमस्टेमा पाहुना बनेपछि स्थानीय समाज, रहनसहन, संस्कृति, बोलीचालीलाई नजिकबाट साक्षात्कार गर्न पाइन्छ । त्यस्तै यसमा आत्मीयता पनि मिल्छ । एउटै परिवार जस्तै भएर बस्न सकिन्छ । त्यसैले बिदामा कतै घुमघामको योजना बनाइरहेकालाई होमस्टे राम्रो विकल्प बन्दै गएको छ । पर्यटकलाई होमस्टेले स्थानीय रहनसहन र संस्कृतिलाई बुझ्ने मौका दिलाउँछ । 

होमस्टेमा पुग्दा गाउँमै उब्जिएको स्थानीय खानेकुरा खान पाइन्छ । गाउँमै बनेको कोदाको नारेपा (रक्सी) को चुस्कीसँगै ढिँडो, सिस्नु, साग, गुन्द्रुक, भटमास, लोकल कुखुरा, च्याउ, कुरिलो, तरुल, पिँडालु, सखरखण्डलगायतका खानेकुरा खान पाउँदा कसको मन नरमाउला र । यद्यपि त्यसबाट अझ लाभ लिन वा होमस्टेको आनन्द उठाउनका लागि होमस्टेका केही नियममा भने ध्यान दिनै पर्छ ।

चट्टानको बगैँचाको आकर्षण

अन्नपूर्ण पदमार्गमा पर्ने मस्र्याङ्दी गाउँपालिका–५, घेर्मुमा रहेको चट्टानको बगैँचा (रक गार्डेन) ले पर्यटक आकर्षित गरिरहेको छ । रक गार्डेन निर्माण समितिका अध्यक्ष कामसार्की गुरुङका अनुसार आन्तरिक तथा बाह्य पर्यटक रक गार्डेनको सुन्दरता देखेर दङ्ग छन् । घेर्मुको खानीगाउँसँगै जोडिएको रक गार्डेन पहरै पहराले बनेको छ । कतै गुफा छन्, कतै ओढार । कतै ठुला ठुला सुरुङ भेटिन्छन् । निकै लोभलाग्दो रक गार्डेन पूरै चहार्न आधा घण्टाभन्दा बढी समय लाग्छ । “रक गार्डेन पर्यटकीय मात्र होइन, ऐतिहासिक रूपमा पनि उत्तिकै महìवको छ,” गुरुङ भन्नुहुन्छ, “परापूर्व कालमा हाम्रा पुर्खा कसरी ओढारमा बसेथे भन्ने त्यसको झल्को रक गार्डेनमा पाउन सकिन्छ ।”

एउटा पहरोबाट अर्को पहरोमा पुग्न पुल बनाइएको छ । पहराभित्रको सुरुङ हुँदै पनि अर्कै ठाउँ जाने बाटो छ । गार्डेनको बिचमा बस्ने ठाउँहरू निर्माण गरिएका छन् । रक गार्डेनमा ‘रक स्टे’ को अवधारणा पनि छ । ‘रक गार्डेन’ हेर्न आउने पर्यटक चट्टानमै बास बस्छन् । रक गार्डेन स्थलमा अहिले फूल रोप्ने, बिजुली सुविधा पुर्‍याउने, गार्डेन स्थलमा कुर्सी निर्माण गर्ने, ओडार छिर्ने सुरुङमार्ग, पिकनिक स्थल, पोखरी, ढुङ्गेधारा, बासस्थान निर्माण गरिएको छ ।

रक गार्डेन ५८० मिटरको रुट सर्किटमा प्राकृतिक सुन्दरताका दृष्टिकोणबाट निकै मनमोहक छ । अन्नपूर्ण पदयात्राका लागि आएका आन्तरिक तथा बाह्य पर्यटकलाई चट्टानको बगैँचाले आकर्षित गरेको र यहाँ घुम्दा पर्यटकले अनौठो र रमाइलो मान्ने गरेको मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो ।