• २९ वैशाख २०८२, सोमबार

झिलिमिली मायादेवी मन्दिर

blog

बुद्ध पूर्णिमाको पूर्व सन्ध्यामा सिंगारिएको मायादेवी मन्दिर । सोमबार २५६९ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाइँदैछ । तस्बिर : राधेश्याम विश्वकर्मा/रासस

एक करोड खर्चिएर बुद्ध जयन्ती मनाइँदै 

भुवन कार्की 

भैरहवा (रूपन्देही) वैशाख २८ गते । बुद्ध पूर्णिमाको पूर्व सन्ध्यामा सिंगारिएको मायादेवी मन्दिर । सोमबार २५६९ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मनाइँदैछ । लुम्बिनीमा २५६९ औं बुद्धजयन्ती भव्य रुपमा मनाउन शुरु गरिएको छ । यस अवसरमा लुम्बिनी विकास कोषले विभिन्न कार्यक्रम गरेको छ । कोषले जानकारी गराए अनुसार वैशाख २८ देखि ३० गतेसम्म विभिन्न कार्यक्रम तय गरिएको छ । 

कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टाराई (सिद्धिचरण) ले दिएको जानकारी अनुसार आइतबार कुदान कपिलबस्तुमा बुद्ध झाँकी प्रदर्शन, रामग्राम नवलपरासी पण्डितपुरमा खेलकुद तथा सभालगायतका कार्यक्रम गरिएको छ । मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ पनि सुरु गरिएको छ । 

सोमबार बिहान ६ बजेदेखि भिक्षु–भिक्षुणी, लामा गुरुहरु तथा उपासक उपासिकाहरुको सहभागितामा प्रार्थना सभा, शोभायात्रा तथा मूल समारोह गरिनेछ । लुम्बिनीसंगै बुद्धसँग सम्बन्धित कपिलबस्तु र नवलपरासीमा पनि विभिन्न कार्यक्रम आयोजना गरिएको भट्टराईले जानकारी दिनुभयो ।

मूल समारोहमा भाग लिन प्रधानमन्त्री केपी ओली शर्मा पनि सोमबार लुम्बिनी आउनुहुने कोषले जनाएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामाले प्रधानमन्त्री ओलीको उपस्थितिमा मूल कार्यक्रम हुने उल्लेख गर्नुभयो । 

बुद्धजयन्ती भव्य बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ५६९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको उहाँले बताउनुभयो । उहाँले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित चीन, भारत, पाकिस्तान, श्रीलंकालगायतका देशका राजदुतसमेत कार्यक्रममा सहभागी हुने बताउनुभयो ।

मूल समारोह व्यवस्थापनका लागि ३० सदस्यीय सल्लाहकार समिति, प्रचार प्रसार समिति, सुरक्षा व्यवस्था समिति, शोभायात्रा तथा भोजन व्यवस्थापन समितिलगायतका उपसमितिहरू गठन गरिएको छ ।

बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरीनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाका  दिन सोमबार विशेष समारोह हुने प्रचार–प्रसार समितिका संयोजक ढुण्डीराज भट्टराईले उल्लेख गर्नुभयो ।

बृहत्तर लुम्बिनी क्षेत्रअन्तर्गत रामग्राम, तिलौराकोट दरबार, कुदान, देवदह लगायतका क्षेत्रमा बुद्धजयन्तीका अवसरमा सरसफाइ, दीप प्रज्वलन, खेलकुद प्रतियोगिता, आँखा शिविर, रक्तदान, नाट्य प्रस्तुति, शान्ति ध्यान र प्रस्तुति उत्सवजस्ता विविध कार्यक्रमसमेत आयोजना गरिएको छ । 

एक करोड रकम खर्चेर बुद्धजयन्ती मनाउन लागिएको कोषले जनाएको छ । बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा मायादेवी मन्दिर, शान्तिबाटिका, नहरलगायतका ठाउँमा सरसफाइ तथा सजावट गरिएको छ ।