• २९ वैशाख २०८२, सोमबार

सिक्टा सिँचाइ आयोजना

बाइस हजार हेक्टरमा सिँचाइ सुविधा

blog

सिक्टा सिँचाइ आयोजनाको अगैयास्थित मुख्य बाँध । तस्बिर : सिराज खान

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, वैशाख २८ गते । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाबाट बाँकेको २२ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको छ । यो आयोजना करिब ४३ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यका साथ निर्माण सुरु गरिएको हो । 

आयोजनाले हालसम्म लक्ष्यको आधाभन्दा बढी भागमा सिँचाइ सुविधा पुर्‍याउन सफल भएको छ । आयोजनाका निमित्त प्रमुख मनोजकुमार शाहले निर्माण सुरु गरिएको २० वर्षको अवधिमा लक्ष्य अनुसार ५० प्रतिशतभन्दा बढी काम पूरा भएको जनाउँदै गुरुयोजना परिवर्तन हुँदै जाँदा समय र लागत दुवै बढ्दै गएको बताउनुभयो । उहाँले आयोजनाकै कारण अहिले २२ हजार हेक्टर जमिनमा बाहै्र महिना खेती गर्न सकिने अवस्था सिर्जना भएकाले त्यसबाट सयौँ किसान प्रत्यक्ष लाभान्वित बनेको बताउनुभयो । 

आर्थिक वर्ष २०६२/६३ देखि सिक्टा सिँचाइको काम सुरु भएको थियो । पहिलो पटक १२ अर्बको गुरुयोजना स्वीकृत भएर काम अघि बढेकोमा उक्त गुरुयोजनामा राप्तीसोनारी–२, अगैयामा बाँध बनाउने र पश्चिम नहर निर्माण गर्ने कार्ययोजना मात्रै थियो । विस्तारै आयोजनाको कार्यक्षेत्र बढ्दै गएर पूर्वी नहर पनि थपियो । त्यस्तै पश्चिमी र पूर्वी नहरमा शाखा/प्रशाखा थप हुँदै गए । राप्ती नदीबाट कमान्ड एरिया जोगाउन नदी नियन्त्रणका काम पनि थपिँदै गए । दोस्रो पटक २०७४ सालमा २५ अर्बको गुरुयोजना स्वीकृत भयो ।

आयोजनाका निमित्त प्रमुख शाहले पछिल्लो पटक फेरि २०७९ सालमा ५२ अर्बको गुरुयोजना स्वीकृत भएको र सोहीबमोजिम अहिले सिक्टा सिँचाइ आयोजनाले काम गरिरहेको बताउनुभयो । ‘अहिलेसम्म २१ अर्ब बराबरको ५० प्रतिशत लक्ष्य पूरा भइसकेको छ  तर यसैलाई सुरुको लागतसँग तुलना गर्दा भने शतप्रतिशतभन्दा बढी काम भएको छ । प्रमुख शाहले थप्नुभयो, “दोस्रो गुरुयोजनासँग तुलना गर्दा पनि करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । कार्य क्षेत्र बढ्दै जाँदा यसको प्रगति कम देखिन्छ । त्यस कारण जनमानसमा आयोजनाको प्रगति कम भयो भन्ने धारणा छ तर वास्तविकता फरक छ ।”

उहाँका अनुसार पूर्वी नहरको ४२ किलोमिटर निर्माण भएर पानी पुगिसकेको छ भने पश्चिम नहर पनि ५० किलोमिटर निर्माण भएर पानी बगेको छ । आयोजनाका इन्जिनियर तनोज दुलालले आयोजनाको सिधनिया शाखामा फुल फेजमा पानी चलिरहेको र अकलघरुवा शाखामा पनि सोही अनुसार पानी चलेको बताउनुभयो । 

दुलालका अनुसार कतिपय ठाउँमा किसानले पम्प सेटबाट पानी तानिरहेका छन् भने सिक्टा आफैँले पनि चार वटा लिफ्ट सिँचाइ बनाइदिएको छ । नहरको पानी नपुग्ने अग्लो ठाउँमा बनाउन थालिएको लिफ्टको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । पूर्वी नहरमा पनि फत्तेपुर कमान्ड एरियामा दुई हजार हेक्टरका लागि पानी दिइसकेको छ । पुरानो राजकुलोमा पनि पानी चलिरहेको छ । त्यहाँ पनि आधुनिकीकरण र पुनस्र्थापनाको काम भइरहेको छ ।

पछिल्लो गुरुयोजना अनुसार आव २०८९/९० मा सिक्टा सिँचाइ आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाका निमित्त प्रमुख शाहले तीन चरणमा काम बाँडिएकोमा अहिले दोस्रो चरणको काम चलिरहेको बताउनुभयो । उहाँका अनुसार आव २०८२/८३ सम्म दोस्रो चरण चल्ने छ । त्यसपछि बाँकी पाँच वर्ष तेस्रो चरणको काम गरिने छ । तेस्रो चरणमा पश्चिम नहरको विस्तार गर्ने काम, पूर्वी नहर अन्तर्गत नरैनापुर क्षेत्रको पूरै काम गरिने छ । 

आयोजनाले गुरुयोजना अनुसार समयमा काम पूरा गर्न वार्षिक बजेट तीन अर्ब पाउनुपर्नेमा चालु आवमा एक अर्ब ५५ करोड रुपियाँ मात्र विनियोजन भएको छ ।