• १३ साउन २०८१, आइतबार

आठ अर्बको विश्व

blog

विश्वको जनसङ्ख्या निरन्तर बढ्दो छ। पृथ्वीमा उपलब्ध साधन र स्रोत तीव्र दोहन गर्ने क्रम रोकिएको छैन। खासगरी औद्योगिक क्रान्तियता पृथ्वीमा उपलब्ध प्राकृतिक साधन र स्रोतमाथि सीमित मानिसको वर्चस्व बढ्यो। दोहन बढ्यो र बढिरहेको छ भने ती साधन र स्रोत उपभोग गर्ने मानिसको 

सङ्ख्यामा विराम लागेको छैन। विश्व जनसङ्ख्या बढिरहेकै छ। त्यसक्रममा विश्वको जनसङ्ख्या नोभेम्बर १५ (कात्तिक २९ गते ) अर्थात् मङ्गलबार आठ अर्ब पुगेको छ। गएको असार महिनामा संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए) ले यही कात्तिक २९ गते विश्व जनसङ्ख्या आठ अर्ब पुग्ने प्रक्षेपण गरेको थियो। सोहीअनुरूप मङ्गलबारदेखि विश्वको जनसङ्ख्या आठ अर्ब पुगेको अनुमान गरिएसँगै यो क्षेत्रमा गम्भीर चिन्तन जरुरी भएको छ।

विश्व जनसङ्ख्या बढ्नेक्रम यताको दशकमा इतिहासकै तीव्रता देखिएको छ। सन् १९८७ अर्थात् आजभन्दा ३५ वर्षअघि विश्वको जनसङ्ख्या पाँच अर्ब पुगेको अनुमान गरिएको थियो। पाँच अर्बबाट आठ अर्बमा पुग्न जम्माजम्मी चार दशकभन्दा कमको समय लागेको छ। यस तथ्याङ्कबाट विश्वमा जनसङ्ख्या वृद्धि चरम बिन्दुमा रहेको प्रमाणित हुन्छ। युएनएफपीएको प्रतिवेदनअनुसार सन् २०८० सम्म विश्वको जनसङ्ख्या १०.४ अर्बसहित उच्च बिन्दुमा पुग्ने र सन् २१०० सम्म यही स्तरमा रहने प्रक्षेपण पनि छ। यी आँकडाहरू केलाउँदा विश्वमा जनसङ्ख्या वृद्धिको गति तत्कालै नियन्त्रणमा नआउने स्पष्ट देखिन्छ। बढी जनसङ्ख्याका निम्ति भोजन, बास र कपासको व्यवस्था गर्नु राज्यहरूको चुनौती चुलिँदै गएको छ। विश्व जनसङ्ख्या ताजा तथ्याङ्कमा एसियाको हिस्सा निकै ठूलो रहेको पाइएको छ। सिङ्गो एसिया महादेशमा झन्डै चार अर्ब मानिस बसोबास गर्दैछन्। एसिया महादेशमा बसोबास गर्छन् भने दोस्रो ठूलो हिस्सा अफ्रिका महादेशको रहेको छ। चीन र भारतजस्ता दुई ठूला छिमेकी राष्ट्रको जनसङ्ख्या क्रमशः एक अर्ब ४५ करोड र एक अर्ब ४० करोडभन्दा बढी रहेको छ। अहिले चीन विश्वको सबैभन्दा बढी जनसङ्ख्या रहेको राष्ट्र भए पनि आउँदो वर्षसम्म भारतले चीनलाई उछिन्ने लगभग निश्चित छ। दुई छिमेकी देशको जनसङ्ख्या वृद्धिदरले यही प्रवृत्तिलाई देखाउन थालेको छ।

विज्ञान प्रविधि र खासगरी औषधि विज्ञान भएको अन्वेषण, विकास र विस्तारले मानिसको जीवनमा सकारात्मक प्रभाव परेको छ। औसत आय, स्वास्थ्य सुविधामा वृद्धि र मातृ शिशु मृत्युदरमा कमीजस्ता कारणले विश्वको जनसङ्ख्या द्रुततर गतिमा बढिरहेकोमा शङ्का छैन। विशेषगरी तेस्रो विश्वमा जनसङ्ख्या वृद्धिको गतिलाई नियन्त्रण गर्नु चुनौती बन्न सक्ने देखिन्छ। विश्वको कुल जनसङ्ख्याको लगभग दुईतिहाई हिस्सा प्रजननयोग्य क्षमताका महिलाले ओगटेका कारण पनि विश्व जनसङ्ख्यामा कमी आउने सम्भावना कम छ। बढी जनसङ्ख्याका लागि प्राकृतिक स्रोत र साधनको कम दोहन गरी गास, बास र कपासको जोहो गर्नु अबको मुख्य चुनौती बनेको छ। जनसङ्ख्याको आँकडा तथा वृद्धिलाई दृष्टिगत गर्ने हो भने आठ अर्बको सङ्ख्या निश्चित रूपमा निकै ठूलो आँकडा हो। जनसङ्ख्या वृद्धिसँगै उनीहरूको लालनपालन, भरपोषण, शिक्षादीक्षा, स्वास्थ्यजस्ता आधारभूत पक्षको समेत व्यवस्था गर्नुपर्ने अनिवार्य हुन्छ। यसका लागि ठूलो मात्रामा लगानीको आवश्यकता हुन्छ। यी आधारभूत पक्षको अभावमा बढ्दो जनसङ्ख्या सम्बद्ध राष्ट्र तथा विश्वकै लागि समेत अनुत्पादक हुन सक्छन्। 

नेपालकै जनसङ्ख्यासमेत लगभग तीन करोडको हाराहारीमा पुगेको अवस्थामा जनसङ्ख्या वृद्धिलाई नियन्त्रण र व्यवस्थित गर्नु विश्वव्यापी चासो र चिन्ताका रूपमा हेरिनु महत्वपूर्ण हुन्छ। विश्व जनसङ्ख्या वृद्धि नियन्त्रण गर्न संयुक्त राष्ट्रसङ्घजस्ता विश्व निकायका अतिरिक्त धनी राष्ट्रहरूको योगदान वाञ्छनीय छ। वर्तमान जनसङ्ख्या वृद्धिदरको आँकडा गरिब एसियाली तथा अफ्रिकी राष्ट्रहरूको तुलनामा बढी देखिएका कारण यसलाई नियन्त्रण गर्नेतर्फ जनचेतना तथा जागरुकता आवश्यक छ। आठ अर्बको विश्व चुनौती र अवसरको सम्भावनाका रूपमा लिनुपर्छ। उचित रेखदेखका अभावमा जनसङ्ख्याको यो भारी विश्वकै निम्ति चुनौतीको रूपमा देखापर्न सक्छ। अर्को महत्वपूर्ण पाटोको रूपमा शिक्षा, स्वास्थ्य तथा पोषणजस्ता पक्ष उपलब्ध गराउन सकिएमा यो सङ्ख्या दक्ष जनशक्तिका रूपमा उदाउन सक्छ। दक्ष र सिर्जनशील जनशक्ति विश्वका निम्ति अवसर हुन्छ। त्यस्तो जनशक्तिबाटै समृद्धि सपना पूरा हुन्छ।