• १३ असोज २०८१, आइतबार

धादिङ २ मा अधिकारी र लोहनीबीच प्रतिस्पर्धा

blog

धादिङ–२ बाट नेकपा एमालेका उम्मेदवार खेमप्रसाद लोहनी र कांग्रेसका उम्मेदवार रामनाथ अधिकारी । तस्बिर : गोरखापत्र

मुरारी अधिकारी

धादिङ, कात्तिक ३० गते । आसन्न संसदीय निर्वाचन अन्तर्गत धादिङ क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारी र नेकपा एमालेका उम्मेदवार खेमप्रसाद लोहनीबीच प्रतिस्पर्धा हुने देखिन्छ । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका अधिकारी नेपाली कांग्रेस धादिङका सभापति हुनुहुन्छ । लोहनी नेकपा एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ । 

निर्वाचनमा आकांक्षी रहेका सबै उम्मेदवार चुनावी एजेन्डासहित घरदैलो कार्यक्रममा व्यस्त छन् । बिहीबार बेलुकीसम्म सबै वडामा पुग्ने योजना उम्मेदवारहरुको छ । चुनावी प्रतिस्पर्धामा रहेका अधिकारी र लोहनी पहिलो पटक चुनावी प्रतिस्पर्धामा देखिएका हुन् । 

रामनाथ अधिकारीलाई  नेकपा माओवादी केन्द्र र एमालेबाट विभाजित बनेको नेकपा एकिकृत समाजवादी तथा बाबुराम भट्टराको नेपाल समाजवादी पार्टीको साथ छ । खेम लोहनीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको साथ छ ।

सङ्घीयता पछिको पहिलो संसदीय निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेका नेता खेमप्रसाद लोहनी विजयी हुनुभएको थियो । नेपाली कांग्रेसका नेता दिलमान पाख्रिनला ६ सय ४० मतले पराजित गर्दै लोहनी विजयी हुनुभएको थियो । त्यतिबेला लोहनीलाई नेकपा माओवादी केन्द्रको साथ थियो र एमालेमा विभाजन पनि आएको थिएन ।

यस पटक पनि उम्मेदवारी दिएका सबै ब्यक्ति र दलहरुले आफूले नै विजय हासिल गर्ने बताइरहँदा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा ५१ वटा वडा रहेको यस निर्वाचन क्षेत्रमा अधिकांश वडामा राजनीतिक दल एक्लाएक्लै प्रतिस्पर्धा गरेका थिए ।

मुख्य राजनीतिक दलहरु नेकपा एमालेले ५१ वटै वडा, नेपाली कांग्रेसले ४३ वडा वडामा र माओवादी केन्द्रले ३४ वटा वडामा आफ्नो उम्मेदवार उठाएको थियो । त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टीले २४ वटा वडा, राप्रपाले ४६ वटा वडा र जनता समाजवादी पार्टीले १३ वटा वडामा आफ्नो उम्मेदवार उठाएको थियो ।

जसमध्ये नेपाली कांग्रेस २२ वटा वडामा विजयी हुँदा नेकपा माओवादी केन्द्र १० वटा वडामा विजयी भएको थियो । नेकपा एमालेले ८ वटा वडामा विजय हासिल गरेको थियो । त्यस्तै राप्रपाबाट ४, स्वतन्त्रबाट ३, जनता समाजवादीबाट १ र एकीकृत समाजवादीबाट ३ जना उम्मेदवारहरु वडामा विजयी भएका छन् ।

जितेका र हारेका सबै वडाध्यक्षले पाएको मत जोड्दा यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस  २९ हजार ९ सय ६५ मत प्राप्त गरी पहिलो स्थानमा छ । त्यस्तै नेकपा एमालेले २५ हजार ९ सय ३८ मत पाउँदा नेकपा माओवादीले १४ हजार ३ सय ८० मत पाएको थियो । त्यस्तै, राप्रपाले ५ हजार २ सय ८७ मत र नेकपा एकीकृत समाजवादीले ३ हजार ४ सय ५६ मत पाएका छन् ।

त्यस्तै, स्वतन्त्र लगायत अन्य साना दलले ४ हजार ९ सय ४४ मत पाएका छन् । स्वतन्त्रबाट विजयी भएका ३ वटै वडामा नेपाली कांग्रेसकै बागी उम्मेदवाहरु रहेकाले स्वतन्त्र उम्मेदवारले पाएको आधाजसो मत नेपाली कांग्रेसकै मत हुनसक्छ ।

सत्ता गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी र जनता समाजवादीका वडाध्यक्षले पाएको मत जोड्दा ४७ हजार ८ सय १ हुन आउँछ । त्यस्तै एमाले र राप्रपाका वडाध्यक्षले पाएको मत जोड्दा ३१ हजार २ सय २५ मत हुन आउँछ ।

जनता समाजवादीबाट फुटेर बनेको डा.बाबुराम भट्टाराको नेपाल समाजवादी पार्टीको पनि सत्ता गठबन्धनला नै साथ रहेकोले तत्कालीन जसपा र हाल नेसपाले पाएको भोट १ हजार ६० समेत जोड्दा धादिङमा सत्ता गठबन्धनका उम्मेदवार रामनाथ अधिकारी १७ हजार ६ सय ३६ मतले अघि छन् ।

 स्थानीय तहको निर्वाचनमा जसरी संसदीय निर्वाचनमा भोट नखस्ने, गठबन्धनप्रतिको वितृष्णा र गठबन्धन दलहरुमा भएको केही असहमतिका भोटहरुमा आफूले ल्याएर चुनाव जित्ने रणनीतिमा खेमप्रसाद लोहनी छन् । लोहनी आफूले चुनाव जित्ने आधार भनेकै विगतमा आफूले गरेको काम रहेको बताउनुहुन्छ । त्यस्तै, रामनाथ अधिकारी गठबन्धनबाहेक आफ्नो इमानदारी, त्याग र जनताप्रतिको उत्तरदायी बन्ने प्रवृत्तिले थप सहानुभूतिको भोट प्राप्त गरेर विजयी हुने दाबी गर्नुहुन्छ ।