• १६ भदौ २०८१, आइतबार

निर्वाचनमा अन्तर्राष्ट्रिय चासो

blog

मुलुक यही मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका निम्ति हरेक तरहले लगभग तयारी अवस्थामा रहेको छ। आउने साताको पहिलो दिन नै देशभरि एकै चरणमा निर्वाचन हुँदैछ। यो आवधिक निर्वाचन लोकतान्त्रिक सुदृढीकरणको अभियान कोसेढुङ्गा हो। यसैबाट मुलुकले आगामी पाँच वर्षसम्मका लागि सुदृढ र सबल जनप्रतिनिधि पाउनेछ। विधायकले नै देशको कार्यकारी नेतृत्व निर्वाचित गर्नेछन्। यस निर्वाचनसँग मुलुकको भविष्य जोडिएको छ। त्यसैले निर्वाचनसँग प्रत्येक नागरिकको ठूलो अपेक्षा छ। निर्वाचित प्रतिनिधिप्रति भरोसा गर्नु नै लोकतन्त्रको सुन्दर पक्ष हो।

आमनिर्वाचन जस्तो गहन र बृहत् कार्य सम्पन्न गर्न भौतिकलगायत सबै आवश्यकीय प्रबन्धको आवश्यकता पर्छ। लोकतन्त्रको यो महायज्ञका निम्ति सकारात्मक राष्ट्रिय वातावरण चाहिन्छ। साथसाथै बाह्य सहयोगको समेत आवश्यकता पर्छ। अन्तर्राष्ट्रिय सहयोग र सद्भावले लोकतान्त्रिक प्रणालीमा ठूलो अर्थ राख्छ। भौतिक सरसामग्रीको सरसहयोग मात्र होइन, अनुभव र अभ्यासको अन्तर्राष्ट्रिय परिवेशले लोकतन्त्र समृद्ध बन्छ। अन्तर्राष्ट्रिय मान्यता, नैतिक समर्थनबिना कुनै पनि निर्वाचनलाई सफल मान्न सकिने अवस्था हुँदैन। निर्वाचनको पारदर्शिता महत्त्वपूर्ण पक्षसमेत हो। विश्वका कतिपय मुलुकमा सम्पन्न निर्वाचन अन्तर्राष्ट्रिय सहयोग तथा समर्थन नभएकै कारण अन्तर्राष्ट्रिय मान्यता प्राप्त नभएका कतिपय पक्षसमेत पाइन्छ। यस अर्थमा आमनिर्वाचनका लागि अन्तर्राष्ट्रिय मान्यता, सद्भाव तथा समर्थन निकै महत्त्वपूर्ण मानिन्छ। 

नेपालको प्रजातान्त्रीकरण प्रक्रियामा धेरै मुलुकको सहयोग र सद्भाव रहँदै आएको छ। यसै सन्दर्भलाई लिएर निर्वाचन आयोगले मङ्सिर ४ गतेको आमनिर्वाचनका बारेमा नेपालस्थित कूटनीतिज्ञ नियोगका प्रमुख तथा प्रतिनिधिलाई जानकारी गराएको छ। काठमाडौँस्थित २० भन्दा बढी अन्तर्राष्ट्रिय नियोगका प्रतिनिधिलाई आयोगका पदाधिकारीले आसन्न आमनिर्वाचन कसरी शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित तथा पारदर्शी सम्पन्न गराइँदैछ भन्ने सम्बन्धमा जानकारी प्रदान गरिएको छ। यसबाट निर्वाचनको विधि र पद्धति पारदर्शिता सबैको सामुन्ने स्पष्ट हुन्छ। पारदर्शिताले विश्वसनीयता बढ्छ। द्विविधा र अन्योल भए तिनको निराकरण हुन्छ। यसरी जानकारी उपलब्ध गराउनुको महत्त्वपूर्ण पाटो भनेकै अन्तर्राष्ट्रिय सद्भाव र समर्थन प्राप्त गर्ने असल अभ्यास हो। कार्यक्रममा सबै कूटनीतिक नियोगको सक्रिय सहभागिताले हाम्रो लोकतान्त्रिक अभ्यासप्रति अन्तर्राष्ट्रिय चासो रहेको स्पष्ट हुन्छ। विशेषतः अन्तर्राष्ट्रिय समुदायको चासो र चिन्ता निर्वाचनको निष्पक्षता नै हो। स्वच्छ र निष्पक्ष निर्वाचन नै लोकतन्त्रको मुटु हो। निर्वाचन आयोगले निष्पक्ष निर्वाचनका निम्ति सबै प्रयास प्रभावकारी रूपमा अगाडि बढाउँदै आएको देखिन्छ। यो देखिने मात्र होइन, सरोकार सबै पक्षलाई प्रत्याभूति दिन सक्नुपर्ने पक्षसमेत हो। सरकारले स्वच्छ निर्वाचनका निम्ति निर्वाचन आयोगलाई आवश्यक सबै सहयोग गर्दै आएको छ। भौतिक साधन, जनशक्ति, बजेट आदि कुनै पनि पक्षमा आयोगले सरकारसित गुनासो गरेको देखिएको छैन।

आमनिर्वाचनलाई अन्तर्राष्ट्रिय पर्यवेक्षण गर्ने लोकतान्त्रिक प्रचलनसमेत हो। यसले हाम्रा निर्वाचनका अभ्यासलाई लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शअनुरूप बनाउन सहयोग पु-याउँछ। विगतजस्तै यस पटकको निर्वाचनमा समेत अन्तर्राष्ट्रिय संस्था पर्यवेक्षण हुनेछ। स्वदेशी तथा विदेशी गरी आठ हजार पर्यवेक्षक परिचालन गरिने जानकारी आइसकेको छ। आसन्न निर्वाचन समृद्ध नेपालको सपना पूरा गर्ने महत्त्वपूर्ण खुट्किलो हो। त्यसैले निर्वाचनका यावत् कार्य लोकतान्त्रिक मूल्य, मान्यता तथा पद्धतिअनुरूप हुनु जरुरी छ। निर्वाचन आयोग र सरकारको प्रयासले मात्र निर्वाचन निष्पक्ष हुने होइन। 

राजनीतिक दल र उम्मेदवारले आफ्नो यावत् गतिविधिलाई लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शअनुरूप अगाडि बढाउनु पर्ने हुन्छ। निर्वाचन मतदातासमक्ष पुग्न समान हक सबै राजनीतिक पार्टी र उम्मेदवारलाई छ। एकअर्का राजनीतिक पार्टीलाई अवरोध गर्ने खालका गतिविधि कुनै पनि हुनुहुन्न। निर्वाचन आचारसंहिताको पूर्ण परिपालना गर्नु वाञ्छनीय छ। पद, पैसा, जातीय र क्षेत्रीय विषयले निर्वाचनको स्वच्छतामा प्रश्न उठाउने ठाउँ हुन्छ। त्यसैले निर्वाचनको आचारसंहिताको पूर्ण परिपालना सबैतिरबाट हुनु जरुरी छ। मतदाताले कुनै प्रलोभनमा परेर होइन, पाँच वर्षमा मुुलुकलाई नयाँ उचाइमा पु¥याउन सक्ने उम्मेदवारलाई मतदाता गर्नुपर्छ। हाम्रो लोकतान्त्रिक अभ्यासको मूल कडी निर्वाचनलाई अन्तर्राष्ट्रिय जगत्ले गम्भीर चासोका साथ हेरिरहेकोले समग्र निर्वाचन प्रक्रियाले असल अभ्यासलाई प्रवद्र्धन गर्नु वाञ्छनीय छ।