• ७ पुस २०८१, आइतबार

महिला फुटबलकी अग्रज रमा

blog

नेपाली महिला फुटबल टिमले अहिलेसम्म साफ च्याम्पियनसिप फुटबलको उपाधि जित्न सकेको छैन। पाँच पटकसम्म फाइनलमा पुगे पनि नेपालले चार पटक भारतसँग र एक पटक बङ्गलादेशसँग पराजय बेहोरेको छ। एक पटक सेमिफाइनलमा भारतसँग पराजित भएको थियो। 

यसपालि घरेलु मैदानमा भएको छैटौँ संस्करणमा नेपाललाई उपाधि जित्ने सुनौलो अवसर थियो। किन कि नेपालले पहिलो पटक भारतलाई सेमिफाइनलमा पराजित गरेर कीर्तिमान रच्यो। त्योसँगै उपाधि जित्ने सम्भावना बढेको थियो तर फाइनलमा नेपाल बङ्गलादेशद्वारा ३–१ गोल अन्तरले पराजित हुन पुग्यो । 

यस प्रतियोगितापछि नेपाली टिमकी पहिलो कप्तान रमा सिंह बङ्गलादेशलाई सुरुबाटै विजेताका रूपमा हेरेको बताउँछिन्। 

नेपालले सेमिफाइनलमा भारतलाई हराएर एउटा हारको शृङ्खला तोडेको थियो। यसबारेमा स्पष्ट पार्दै सिंहले भनिन्, “यसपालि भारतको टिम असाध्यै कमजोर देखेँ। हाम्रो पालामा खेलेको भारतको टिमभन्दा पनि अहिलेको निकै कमजोर देखेँ तर उनीहरूका दुईवटा राम्रा खेलाडी युरोपियन क्लबमा खेल्न गएका रहेछन् भन्ने सुनेँ । भारतको खेल हाम्रो पालाको भन्दा पनि खस्केको पाएँ मैले ।”पहिलो कप्तान सिंहसँग त्यतिबेलाको फुटबल र यहाँसम्मको अवस्थाका बारेमा गरिएको कुराकानीको सार :

फुटबलमा कसरी जोडिनु भयो ? 

कस्तो भयो भने म केटैकेटाहरूको माझमा हुर्कें। छिमेकमा केटी नै थिएनन्। मेरो दिज्जु र म मात्रै थियौँ, अरू सबै केटा। आफ्ना दुई जना भाइलगायतका केटाको माझमा हुर्किएको भएर हामीले केटीले खेल्ने खेलै खेलेनौँ। स्कुलबाट आयो बाहिर निस्कियो। केटाहरूले जे खेले हामीले पनि त्यही खेल्थ्यौँ। त्यो भएको भएर बच्चैदेखि नै अलिअलि फुटबल खेलियो। 

पद्मकन्या कलेज पढ्न थालेपछि हामी इन्टरकलेज भलिबल खेल्थ्यौँ। त्यही खेल्ने क्रममा २०३९ सालमा शिक्षा दिवसका दिन फागुन १२ गते हामीलाई प्रदर्शनी भलिबल खेल्न लगिएको थियो। त्यो बेला फुटबल सङ्घको अध्यक्ष कमल थापा थिए। कमल थापाले त्यतिबेला भने हामीले पनि महिलालाई पनि फुटबल खेलाउँदै छौँ। तपाईंहरू पनि कोही इच्छुक हुनुहुन्छ भने फुटबल खेल्न आउनुस्। 

फुटबल त्यो बेला असाध्यै पपुलर गेम थियो। रुपकराज शर्मालगायतकाले फुटबल खेलेको बेला थियो त्यो। म पनि फुटबल खेल्न गएँ। मेरा भलिबल खेल्ने साथीहरू चार/पाँच जना गएका थियौँ। उनीहरूले पछि छोडे। 

फिफा र एएफसीले अबदेखि जुनसुकै राष्ट्रले पनि महिला फुटबल सुरु नगरेमा त्यो राष्ट्रलाई दिने अनुदान नदिने भनेर अनिवार्य नियम बनाएको रहेछ। त्यसपछि हामीले फुटबल खेल्न सुरु गरेका हा। 

टिम कसरी तयार भयो ?   

हामीले काठमाडौँमा मान्छे खोज्यौँ। एउटा टिम बनायौँ। फुटबल सङ्घमा त्यो बेला के छलफल भएको थियो भने केटीहरूले फुटबल खेल्न आउँछन् कि आउँदैनन्। हाम्रो सोसाइटी अलिकति कन्जरभेटिभ नै थियो, हैन। पोखरा र धरानमा चाहिँ ब्रिटिस आर्मीमा काम गरेका नेपालीका छोरी थिए। उनीहरू हङकङ, लन्डन, न्युयोर्कजस्ता सहरमा बसेका। उनीहरू स्मार्ट पनि थिए र उनीहरूले अलि सिकेको पनि हुन सक्छन् भन्ने सोचियो। 

उनीहरूले खेल्न अप्ठ्यारो मान्दैनन् भनेर पोखरा र धरानमा पनि फुटबल सुरु गराइयो। यसरी काठमाडौँ, पोखरा र धरानमा एक एक महिला फुटबल टिम बनायौँ। त्यसरी टिम बने। अनि एउटा प्रदर्शन खेल खेलाएर अन्तर्राष्ट्रिय स्तरमा पनि चिनाउनु प-यो भनेर दार्जिलिङ–११ टिमलाई बोलाइयो। त्यो बेलामा हाम्रो राष्ट्रिय टिम बन्यो। त्यसलाई राष्ट्रिय टिम त भनिएन। बागमती–११ भनेर खेलाइयो। त्यसको नेतृत्व मैले गरेको थिएँ। 


नतिजा के भयो ?

दार्जिलिङलाई हामीले हरायौँ। दुई दिन खेल खेलाइयो। पहिलो दिन १–१ ले खेल बराबर भयो। त्यो दिन शनिबार परेकाले पारापिट खचाखच थियो। बाहिर पनि त्यत्तिकै मान्छे थिए, भित्र छिर्न नपाएर खेल हेर्न नपाएकाहरू। भोलिपल्ट पनि खेलाएको खेल हामीले १–० ले जित्यौँ। यो नै नेपाली महिलाको पहिलो अन्तर्राष्ट्रिय खेल थियो। 

आकर्षण थियो  

महिला फुटबलमा आकर्षण थियो भन्नुपर्छ। किनभने त्यो बेलामा अरू खेल थिएनन् पपुलर, त्यही फुटबल थियो। रेडियो नेपालमा कमेन्ट्री भइराख्थ्यो। केटीहरू कसरी फुटबल खेल्दा रहेछन् भन्ने चासो त हुन्छ नि मान्छेलाई। बूढाबूढा मान्छे पनि आएका थिए हेर्नलाई। यिनीहरूको स्तर कस्तो रहेछ भनेर हेर्न आएको पनि हुन सक्छन्। 

लगाउने पोसाकमा समस्या प-यो कि परेन ?  

समस्या चाहिँ थिएन तर राष्ट्रिय टिम बनिसकेपछि चाहिँ साना साना स्कुल पढ्ने बहिनी पनि थिए। घरका मान्छेले कहाँ एक्लै पठाउने रङ्गशालासम्म। तपाईंहरूले लिएर जानु हुन्छ र खेलेपछि पु-याइदिनु हुन्छ भने पठाउँछु नत्र पठाउँदिन भन्ने। 

स्तर कस्तो थियो ? 

हामीले बच्चैदेखि फुटबल खेल्या हैन। अहिलेको पुस्ताले बच्चैदेखि खेल्छ। प्राविधिक रूपमा पनि हामी अहिलेजस्तो एड्भान्स्ड थिएनौँ। हामी कमजोर नै थियौँ। प्राविधिक रूपले पनि हामी कमजोर नै थियौँ। हामीले फुटबल जुत्ता लगाएर खेलेको पनि त्यसको तीन÷चार वर्ष पछाडि नै हो। मैदान पनि ठीक थिएन। मान्छेले बिहान व्यायाम गरेका बेला हामी पनि एउटा कुनामा गएर अभ्यास गथ्र्यौं, सपोर्ट केही थिएन। 

खेलाइ दिमागी थियो ? 

ट्रेनिङ त दुवैमा गरिन्थ्यो। फिजिकल बढी गरिन्थ्यो। किनभने ग्राउन्डमा गइसकेपछि एक सेकेन्डभित्रै तपाईंले बल कता दिने कता हान्ने भनेर निर्णय गर्नुपर्ने हुन्छ। बाहिर दिएको मानसिक अभ्यासले तपाईंलाई मैदानमा सहयोग गर्छ भन्ने ग्यारेन्टी छैन। किनकि मैदानमा गइसकेपछि बलको मुभमेन्ट, साथीले दिने पासको शैली, प्रतिद्वन्द्वीको अवस्था सबै पक्षले काम गर्दा बाहिरको मानसिक सबलता मुस्किलले १० प्रतिशत काम लाग्ला। 

पहिलो अन्तर्राष्ट्रिय सहभागिता कस्तो रह्यो ? 

हामीले पहिलो अन्तर्राष्ट्रिय खेल सन् १९८६ मा हङकङमा एएफसी वुमेन्स च्याम्पियनसिप खेलेको हो। प्रतियोगितामा थाइल्यान्ड र इन्डोनेसिया थिए। हामीसँग त फुटबल खेल्ने जुत्ता पनि थिएन। हामीलाई अब हङकङमै गएर जुत्ता किन्ने भनियो। यहाँ साइज मिलेन साइज पाइएन भन्ने कुरा मात्र गरियो। खेल्नुभन्दा एकदिन अगाडि मात्र हामीले जुत्ता पायौँ। नयाँ जुत्ताले खुट्टा दुखाउँछ नि त। त्यो जुत्ता लगाएर खेल्दा खुट्टा दुखायो। त्यसपछि नेपालमै अभ्यास गर्दा लगाएको आफ्नै कन्भर्स लगाएर खेल्यौँ। 

दोस्रो कुरा हामीले अन्तर्राष्ट्रिय स्तरमा कहिले पनि खेलेकै थिएनौँ। नेपालको कडा मैदानमा अभ्यास गरेको। त्यहाँ जाँदा त मैदान बाक्लो कार्पेट राखेर लचक लचक हिँड्नलाई पनि गाह्रो हुने जस्तो खालको। हामीले त्यस्तो मैदान देखेकै थिएनौँ। त्यो बेलामा हङकङसँग हामीले राम्रो खेलिहरेका थियौँ तर अन्त्यतिर हाम्रो डिसेन्सले अफसाइड भनेर बल छोडिदियो तर त्यसलाई अफसाइड मानिएन, गोल मानियो। हामीले १–० ले हा-यौँ। 

सहभागितापछि कुनै योजना बन्यो ? 

नाइँ, नाइँ केही हुँदैनथ्यो। त्यो बेलामा वर्षमा जम्मा एउटा प्रतियोगिता हुन्थ्यो नेपालमा। त्यसपछि राष्ट्रिय खेलकुद हुन्थ्यो दुई/दुई वर्षपछि। त्यसैले एउटा प्रतियोगिता खेल्यो, गयो–आयो। सबै जिल्लाका खेलाडी हुन्थे। उनीहरू फर्किन्थे। उही आफ्नो इच्छाले खेले मात्रै हो। न खेल भनेर कसैले भन्थे, न कसैले निरन्तर अभ्यास गर भन्यो। 

अहिले त धेरै विकास भएको छ। आर्मी, पुलिस, सशस्त्रको टिमले धेरै मद्दत गरेको छ। उनीहरूलाई खेलाडीकै रूपमा राखेर खेल्न मात्र दिएर सुविधा पनि दिएपछि के हुन्छ भने खेलेर पनि बाँच्न सकिने रहेछ नि। जिल्लाबाट आएर हामीले जस्तै खेलेको भए विकास हुने थिएन।