काठमाडौँ, कातिक २९ गते । कुनै बेला स्थानीय तहदेखि केन्द्रीय सरकारसम्म ‘गाउँगाउँमा भ्यु टावर’ भन्ने नारा लोकप्रिय बनेको  थियो । ‘गाउँगाउँमा आधारभूत अस्पताल’ भन्दा लोकप्रिय र प्राथमिकतामा परेको ‘भ्यु टावर’को नारा व्यवहारमा धेरै हदसम्म लागूसमेत भयो । अहिले मुलुकभरि ३११ स्थानीय तहमा आधारभूत अस्पतालको आवश्यकता छ ।
मुलुकभरि धेरै ठाउँमा ‘भ्यु टावर’को निर्माण भयो, राजनीतिक दलका नेताहरूबाट उद्घाटन गरियो । लाखौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका कतिपय ‘भ्यु टावर’ प्रयोजनहीनसमेत भइसकेका छन् । अहिले मुलुकभरि कति ‘भ्यु टावर’ निर्माण भएका छन् र कति बन्ने क्रममा छन् भन्ने यकिन तथ्याङ्क न केन्द्र सरकारसँग छ न प्रदेश सरकारसँग नै । यसरी पूर्वाधार निर्माणको लोकप्रिय नारा बनेको ‘भ्यु टावर’ यसपालि राजनीतिक दलहरूको घोषणापत्रमा उल्लेख भएको पाइएन ।
अहिलेसम्म सबै स्थानीय तहमा आधारभूत अस्पतालसमेत निर्माण हुन नसकेको नेपालजस्तो मुलुकमा राजनीतिक दलका घोषाणापत्रमा ‘भ्यु टावर’ निर्माण नपर्नु सकारात्मक रहेको पूर्वाधारविज्ञहरूको धारणा छ । डाँडाकाँडाले भरिएको भूबनोट भएका पहाडी तथा हिमाली क्षेत्रमा ‘भ्यु टावर’ निर्माण अनावश्यक रहेको र यहाँका डाँडाकाँडाकै प्राकृतिक ‘भ्यु टावर’ रहेको उहाँहरूको धारणा छ ।
पूर्वाधारविज्ञ प्राडा सूर्यराज आचार्यले अहिले हाम्रो पूर्वाधार विकासको अवस्थामा राजनीतिक दलहरुको घोषणापत्रमा ‘भ्यु टावर’ नसमेटिनु सकारात्मक रहेको बताउनुभयो । विगतमा आवश्यकताभन्दा पनि सहज रूपमा बजेट खर्च गर्ने नियत तथा ‘भ्यु टावर’ निर्माणपछि गाउँघर आधुनिक बन्ने सोचका कारण ‘भ्यु टावर’ले प्राथमिकता पाएको बताउँदै उहाँले ‘भ्यु टावर’भन्दा अस्पताल, विद्यालय, यातायात र सञ्चारलगायतका आधारभूत आवश्यकता पूर्ति गर्ने पूर्वाधार निर्माणलाई जोड दिनुपर्ने बताउनुभयो ।
नेपालको सन्दर्भमा पूर्वाधार विकासको भद्दा रूपमा अगाडि बढेको ‘भ्यु टावर’ निर्माणबारे सञ्चारजगत्मा भएको टीकाटिप्पणी तथा आमनागरिकबाट भएको विरोधका कारण यो वर्ष राजनीतिक दलहरूले ‘भ्यु टावर’लाई घोषणापत्रमा नराखी गल्ती सुधारेको हुन सक्ने पूर्वाधारविज्ञ आचार्यको भनाइ छ ।
नेपाल सरकारका पूर्वसचिव तथा पूर्वाधारविज्ञ ई. किशोर थापाले राजनीतिक दलहरूले घोषणापत्रमा ‘भ्यु टावर’ नराख्नु सकारात्मक पक्ष भएको र दलहरूले आफूलाई सुधारेको बताउनुभयो । उहाँले भन्नुभयो, “भ्यु टावर निर्माण आवश्यक होइन, फजुल खर्च हो । पहाडैपहाड, चुचुरैचुचुरा भएको नेपालजस्तो मुलुकमा ‘भ्यु टावर’ निर्माण गर्नु हास्यास्पद नै हो ।”
“जसजसले ‘भ्यु टावर’ निर्माण गरेका छन् र निर्माण गरिरहेका छन् तिनीहरूलाई हाम्रो भावी सन्ततिले सराप्नेछन्,” उहाँले भन्नुभयो, “अस्पताल छैनन्, भए पनि आधारभूत संरचना छैनन्, विद्यालय छैनन्, लाइसेन्स छाप्ने प्रिन्टर मेसिन छैनन्, यस्तो अवस्थामा करोडौँको लागतमा ‘भ्यु टावर’ निर्माण गर्नु भनेको जनतामाथि अन्याय र अत्याचार हो ।”
खासगरी यसअघि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को पहलमा मुलुकको धेरै ठाउँमा ‘भ्यु टावर’ निर्माण गरिएको थियो । यसअघि सङ्घीय सरकारले झापाको दमकमा एक अर्ब ५६ लाख रुपियाँको लागतमा भ्यु टावर निर्माणको काम सुरु गरेको थियो । त्यसैगरी बागमती प्रदेश सरकारले ‘एक हिलस्टेसन एक भ्यु टावर’ कार्यक्रम नै ल्याई काठमाडौँबाहेकका जिल्लामा एक÷एक भ्यु टावर निर्माण गर्ने घोषणा गरेको थियो ।
नेकपा माओवादी (केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यहाँका रमणीय डाँडाकाँडा नै प्राकृतिक ‘भ्यु टावर’का रूपमा रहेको बताउँदै ‘भ्यु टावर’मा खर्च धेरै हुने तर यहाँका अन्य आधारभूत आवश्कयताका संरचना निर्माण भइनसकेको अवस्थामा आफ्नो पार्टीले घोषणापत्रमा ‘भ्यु टावर’ नसमेटेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “अनावश्यक रूपमा करोडौँ रुपियाँको लागतमा ‘भ्यु टावर’ बनाउने तर ‘भ्यु टावर’बाट हेर्नैैपर्ने ठाउँ केही नभएको अवस्थासमेत देखियो । त्यसैले पहिला आधारभूत आवश्यकताका पूर्वाधार निर्माण होस् । प्राथमिकतामा परेका पूर्वाधारमा पहिला लगानी होस्, त्यसपछि ‘भ्यु टावर’जस्ता संरचनाको निर्माण गरिनेछ भनेर घोषणापत्रमा ‘भ्यु टावर’ नराखिएको हो ।”
नेकपा (एमाले)का प्रचार विभाग उपप्रमुख विष्णु रिजालले मुख्य गरी पर्यटन प्रवद्र्धनको विकासका लागि निर्माण गरिने ‘भ्यु टावर’ मुलुकको धेरै ठाउँमा बनिसकेको अहिलेको अवस्थामा अब आवश्यक नदेखिएकाले घोषणापत्रमा ‘भ्यु टावर’ नसमेटिएको बताउनुभयो ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                