• १२ असोज २०८१, शनिबार

युनाइटेड र एस्टन भिल्लालाई सफलता

blog

फुलहामविरुद्ध गोल गरेपछि युनाइटेडका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, कात्तिक २८ गते । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र एस्टन भिल्लाले सफलता हात पारेका छन् । आइतबार राति भएको खेलमा युनाइटेडले फुलहामलाई २–१ गोलले हरायो । अर्को खेलमा एस्टन भिल्लाले ब्राइटनलाई २–१ गोलले नै स्तब्ध बनायो ।

युनाइटेडको जितमा क्रिस्टियन इरिक्सन र अलेजान्ड्रो गर्नाचोले गोल गर्नुभयो । फुलहामका डानियल जेम्सको गोल सान्त्वना बनेको थियो । इरिक्सनले १४औं मिनेटमा खाता खोल्नुभएको हो । त्यसपछि डानियलले ६१औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।

दोस्रो हाफको इन्जुरी समयमा अलेजान्ड्रोले गोल गर्दै युनाइटेडलाई महत्वपूर्ण जित दिलाउनुभयो । जितसँगै युनाइटेड पाँचौं स्थानमा उक्लिएको छ । युनाइटेडले १४ खेलबाट २६ अङ्क बनाएको छ । पराजित फुलहाम १९ अङ्कसहित नवौं स्थानमा छ ।

यसैगरी एस्टन भिल्लाको जितमा डेनी इङ्सले २०औं र ५४औं मिनेटमा गोल गर्नुभयो । ब्राइटनका एलेक्सिस म्याक एलिस्टरले खेल सुरु भएको पहिलो मिनेटमै गोल गरे पनि टोलीको हार टरेन । जितसँगै १२औं स्थानमा उक्लिएको एस्टन भिल्लाले १५ खेलबाट १८ अङ्क बनाएको छ ।

पराजित ब्राइटन २१ अङ्कसहित सातौं स्थानमा छ । शीर्षस्थानमा रहेको आर्सनलको ३७ र दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३२ अङ्क छ । एजेन्सी