अतिशय मानवीय लोभ प्रकृति विनाशको कारण बनेको छ। विश्वमा तापमान वृद्धि भौतिक सुख–सुविधामा तीव्र रमाउने मानवीय कारणले उत्पन्न हुँदै छ। औद्योगिक क्रान्तिपछि भएको विकासले प्राकृतिक स्रोत दोहनलाई तीव्र बनायो। औद्योगिक विकास तथा समृद्धिको नाम दिइएको त्यस आधुनिक विकास व्यापक ऊर्जामा आधारित थियो। जैविक इन्धन नै ऊर्जाको मूल स्रोत बन्यो। त्यसले फाल्ने दूषित धुवाँ नै विश्वतापमान बनाउने मूल कारण बन्यो र आज पृथ्वीका अधिक प्राकृतिक सम्पदा जोखिममा छन्। प्राकृतिक चक्रमा अवरोध छ। त्यसको प्रत्यक्ष असर हाम्रा मनोरम हिमशृङ्खलामा समेत परेको छ।
विश्व तापमान वृद्धिको क्रमसँगै आउँदो तीन दशकभन्दा कमको अवधिमा अर्थात् सन् २०५० सम्म संसारभरिका ५० वटा हिमाली विश्वसम्पदा क्षेत्र लोप हुने अवस्थामा पुग्नसक्ने अनुमान छ। यो अवस्था निम्तिनुमा विश्वव्यापी रूपमा तापक्रमको वृद्धि हो। यसले गर्दा हिमाली क्षेत्रका हिउँ पग्लिने क्रमले तीव्रता पाउन थालेको छ। इजिप्टमा आयोजित कोप–२७ जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनको छेकोमा राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले सार्वजनिक गरेको प्रतिवेदनको निष्कर्ष असाध्य पीडादायक छ। प्रतिवेदनअनुसार विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रको सगरमाथा राष्ट्रिय निकुञ्जसहित एसिया, अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिका, युरोप, अस्टे«लियासहित सबै महादेशका विभिन्न ५० वटा प्रमुख हिमाली निकुञ्ज वरिपरिका हिउँ तथा हिमनदी उच्च गतिमा पग्लिने क्रमले यो भयावह स्थिति सिर्जना हुँदै गएको देखाएको छ।
युनेस्कोको यो प्रतिवेदनलाई आधार मान्ने हो भने तापक्रम वृद्धिको विश्वव्यापी समस्याबाट पृथ्वीको कुनै पनि महादेश अछुतो रहन सक्ने देखिँदैन। हिमनदीमा विश्वका धनी राष्ट्रले औद्योगिक विकासका नाममा उत्सर्जन गरेका कार्बनडाइअक्साइड लगायतका विषाक्त ग्यासको दुष्प्रभावबाट प्रभावित छन्। यस अर्थमा विश्वका कम विकसित तथा अल्पविकसित राष्ट्रहरू बिनाअपराध दण्डको भागीदार भइरहेको अवस्था छ। वास्तवमा युनेस्कोको यो अध्ययन वास्तविकतामा परिणत हुँदै गयो भने विश्वमा पर्यावरणीय दृष्टिकोणबाट कति भयावह स्थिति सिर्जना हुने हो ? अनुमानसम्म गर्न पनि कहालिलाग्दो हुनेछ।
जोखिम आउँदै गरेपछि जोगिनु बुद्धिमत्तापूर्ण सजगता हो। तसर्थ यस स्थितिबाट मुक्ति पाउन विश्वव्यापी रूपमा सहकार्य तथा समन्वय गरिनु अति महत्वपूर्ण छ। विश्व तापक्रम न्यूनीकरणजस्ता विषयलाई प्राथमिकता दिएर सबै राष्ट्रले सामूहिक हितका निम्ति अग्रसर हुनुको कुनै विकल्प देखिँदैन। विश्व पर्यावरण अनुकूलका वातावरणमैत्री औद्योगिक विकासलाई प्रश्रय दिने नीति औद्योगिक राष्ट्रले अख्तियार गर्नु जरुरी भइसकेको छ। आउँदा वर्षमा विश्व तापक्रममा दुई डिग्री सेल्सियसको वृद्धि हुनसक्ने आशङ्का गरिँदै छ र यसबाट उच्च हिमाली भेगका विश्वसम्पदा जोगाउन नसकिने युनेस्कोको घोषणा वास्तवमै विश्व समुदायका लागि खतरा तथा चिन्ताको विषय हो। यसको प्रत्यक्ष प्रभाव जीवजन्तुका अतिरिक्त जनजीविका, कृषि, ऊर्जा उत्पादनजस्ता क्षेत्रमा टड्कारो रूपले पर्ने स्पष्ट छ।
विद्यमान विषम परिस्थितिबाट पार पाउने एउटै उपाय तापक्रम वृद्धिमा नियन्त्रण नै हो। विश्वव्यापी तापक्रमलाई एक दशमलव पाँच डिग्री सेल्सियसमा झार्न सकिएमा यसले तात्त्विक भिन्नता पार्ने अनुमान युनेस्कोको प्रतिवेदनको छ। यस अवस्थामा लोपोन्मुख ५० हिमाली विश्वसम्पदामध्ये दुईतिहाइलाई बचाउन सकिने अवस्था हुन सक्छ, जुन समग्रमा हिमाली पर्यावरणका निम्ति सकारात्मक पक्ष हो। अहिले विश्वका दुई हजार हिमनदी तीव्र गतिमा पग्लिँदै जाने क्रममा हरेक वर्ष करिब ५८ अर्ब टन बरफ तरल पदार्थका रूपमा समुद्री सतहमा विलीन हुँदै छ। यसबाट वार्षिक रूपमा पाँच प्रतिशतले समुद्री जलक्षेत्र वृद्धि भइरहेको छ। यसको प्रभाव समुद्रीतटहरू समुद्रमा विलीन हुने खतरा पनि त्यत्तिकै छ।
सबै जीवजन्तु तथा हाम्रा भावी सन्ततिका लागि पृथ्वीलाई बसोवासयोग्य स्थल बनाइराख्ने हो भने कोप–२७ जस्ता अन्तर्राष्ट्रिय सम्मेलनले विश्वव्यापी तापक्रम नियन्त्रणका निम्ति उपयुक्त नीति तर्जुमा तथा कार्यान्वयनमा जोड दिनु निकै महत्वपूर्ण हुनेछ। यसका लागि विशेषगरी धनी तथा औद्योगिक राष्ट्रहरूले विश्व पर्यावरणप्रति आफ्नो दायित्व तथा जिम्मेवारी महसुस गर्नुको विकल्प देखिँदैन। यसबाट कार्बन उत्सर्जनमा कमी आउनुका साथै हिमनदी पग्लिने क्रममा सुस्तता आउन सक्छ। यसबाटै आठ अर्ब मानव र करोडौँ जीवजन्तुका साझा घर पृथ्वीकै पर्यावरण सन्तुलनमा राख्न सघाउ पु-याउने छ।