• १५ असार २०८१, शनिबार

चुनाव प्रचारको थलो

लालसलाम र जय नेपाल चिया पसल

blog

जीवछ यादव

लहान, कात्तिक २७ गते । चुनाव नजिकिँदै जाँदा बिहान–बेलुका चिया पसललाई दलहरूले भेटघाट र चुनाव प्रचारप्रसारको केन्द्र बनाउन थालेका छन् । लहान–१ मुख्य चोकमा रहेको दुईवटा चिया पसल यति बेला नेताहरू भेला हुने स्थल नै बनेको छ । लालसलाम चिया पसलको नामले चिनिने रामऔतार साहको पसल र उहाँको पसलसँगै टाँसिएर रहेको जय नेपाल चौधरी चिया पसलमा बिहान–बेलुका नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका अगुवा नेता–कार्यकर्ताहरूको भेटघाट गर्ने स्थल बनेको छ ।

सिराहा–१ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभाको उम्मेदवार पूर्वउद्योग राज्यमन्त्री पद्मनारायण चौधरी र एमाले–जसपा तालमेलका प्रतिनिधि सभा उम्मेदवार रामशङ्कर यादवबीच कडा प्रतिस्पर्धा हुने नेपाली कांग्रेसका युवा नेता कपलेश्वर साहले बताउनुभयो । नेकपा (एमाले) समर्थक मनिलाल साहले चिया चर्चामा भन्नुहुन्छ, “यस क्षेत्रमा जुनसुकै दलले चुनाव जित्दा पाँच सयदेखि एक हजारभन्दा मतान्तर बढाउन नसकेको इतिहास छ । यस पटक पनि देखिएको प्रतिस्पर्धा यस्तै हुने सङ्केत देखिन थालेको छ ।”

यस क्षेत्रमा थारू र यादव जातिबीच धु्रवीकरण गराउन दुवै गठबन्धनका केही जातीय नेताहरू सक्रिय हुनुले सैद्धान्तिकभन्दा जातीय रङ दिनु राम्रो नभएको पक्षमा पनि बहस हुन आवश्यक रहेको नेकपा (माओवादी केन्द्र) लहानका नगरअध्यक्ष हेमन्तकुमार यादवले तर्क गर्नुभयो । यस क्षेत्रमा १५ हजारभन्दा बढी सङ्ख्यामा रहेका दलितले भोग्दै आइरहेको आवास, शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक सुरक्षाको मुद्दालाई सम्बोधन गर्नेलाई मत दिइने दलित अभियानकर्मी नेनीलाल रामले तर्क गर्नुभयो । लहान नगरपालिकाको २४ वटा वडा, धनगढीमाई नगरपालिकाको दुई, सखुवानन्करकटी, भगवानपुर र लक्ष्मीपुर पतारी गाउँपालिकाको पाँच/पाँच गरी यस क्षेत्रमा जम्मा ४१ वटा वडा रहेको छ । यस क्षेत्रमा स्थानीय निर्वाचन २०७९ मा नेपाली कांग्रेस २३ वटा वडा, नेकपा (एकीकृत समाजवादी) तीन र नेकपा माओवादी एक गरी २७ वटा वडा जितेको छ भने नेकपा (एमाले) नौ र जसपा पाँच गरी १४ वडा जितेको हो । 

स्थानीय तहको कुल मतमा एमाले–जसपाले ३५ हजार ८२ र वाम–लोकतान्त्रिक गठबन्धनले ३३ हजार ९६७ मत पाएको छ । यादव, थारू, महतो, तेली, कलवार, दलित र मुस्लिम समुदायको बढी मतदाता रहेको छ । यस क्षेत्रमा विगतको भन्दा कडा प्रतिस्पर्धा हुनेमा दुवै गठबन्धनका अगुवा समर्थक नेताहरू सहमत देखिएका छन् । सिराहा १ (१) मा नेपाली कांग्रेसका सुनीलकुमार महतो र नेकपा (एमाले)का राजेन्द्रप्रसाद चौधरी १ (२) मा एकीकृत समाजवादीका अशोककुमार यादव र जसपाका राजु गुप्ताबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।