• १५ असार २०८१, शनिबार

वन्यजन्तु नियन्त्रण गर्न स्थानीयवासीको माग

blog

शालिग्राम नेपाल

चितवन, कात्तिक २७ गते । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका उम्मेदवारलाई पश्चिम चितवनवासी मतदाताले वन्यजन्तुको आक्रमण रोक्ने स्थायी योजना ल्याउन माग गरेका छन् । घरदैलोका क्रममा घरघर पुगेका उम्मेदवारलाई चितवन राष्ट्रिय निकुञ्ज आसपासका स्थानीयवासीले वन्यजन्तुको त्रासले जीवन गुजार्नु परेको भन्दै आउँदा दिनमा जनताको जिउधनको सुरक्षाका लागि गम्भीर हुन आग्रह गरेका हुन् । 

चुनावी प्रचारका लागि घरदैलोमा पुगेका उम्मेदवारले जनताको हरेक मागलाई सम्बोधन गर्ने प्रतिबद्धता गरिरहेका छन् तर निकुञ्ज आसपासका स्थानीयवासीले भने ठूलो आश्वासन होइन, हामीलाई जनावरको आक्रमण रोक्ने स्थायी समाधान भए पुग्ने बताउँदै आएका छन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र जगतपुरका स्थानीय राममान लामाले भन्नुभयो, “बाघ, गैँडाको आक्रमणले मर्नु परेको छ, यो समाधान कहिले हुन्छ ? बँदेलले खेती खायो, गैँडा, हात्तीले हैरान बनायो, पर्खाल निर्माण गरिदिनुहोला ।”

उहाँले भन्नुभयो, “हरेक वर्ष बाघको आक्रमणले गाउँमा मानिस मरिरहेका छन् । यसको समाधान तपाईंले गर्नुप-यो । नारायणी नदीले कटान गर्दा बस्ती जोखिममा परेको छ, यसको समाधान कहिले हुन्छ ?” पश्चिम चितवनको ध्रुवघाटका स्थानीय पुनम मगरले निकुञ्जमा पक्की तारबार लगाउने कामलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “गुनासो तपाईंहरूलाई नै गर्ने हो, जनतालाई अलि ध्यान दिनु प-यो ।”

उहाँले भन्नुभयो, “राजनीतिक भाषण हामीलाई चाहिँदैन । हाम्रा गाउँका समस्या समाधान गर्ने नेता चाहिन्छ । निर्वाचनमा आश्वासन पाएको तर काम भएको छैन । त्यसैले विश्वास र आशा पनि कम लागेको छ । यसअघिका निर्वाचनमा पनि भोट माग्न आउनेले विभिन्न आश्वासन दिनुभएको थियो तर पाँच वर्षमा पनि कार्यान्वयन भएन ।” सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र)का डा. भोजराज अधिकारीले जनताको आवश्यकताअनुसारकै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । चितवनमा निकुञ्ज र सामुदायिक वन क्षेत्रबाट निस्कने जनावरले प्रत्येक वर्ष धनजनको क्षति गर्ने गरेको भन्दै त्यसको दीर्घकालीन समाधानका लागि निर्वाचित भएपछि काम गर्ने वाचा गर्नुभयो । 

मेघौलीमा घरदैलोका क्रममा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालालाई पनि स्थानीयवासीले वन्यजन्तुबाट हुने धनजनको क्षति कम गर्न के गर्न सक्नुहुन्छ भनेर प्रश्न गरेका छन् । जवाफमा कोइरालाले आफ्नो निर्वाचन क्षेत्रका सबै ठाउँमा पक्की वालसहितको तारबार लगाउने बताउनुभयो । घरदैलोका क्रममा माडी पुग्दा त्यहाँका स्थानीय प्रभुकुमार चौधरीले माडीको धोवाहामा वन्यजन्तुले हरेक वर्ष बाली खाने गरेको स्थानीय राकेश चौधरीले कोइरालालाई गुनासो गर्नुभयो ।

चितवन राष्ट्रिय निकुञ्जबाट निस्कने वन्यजन्तुले सबैभन्दा बढी धनजनको क्षति माडीभित्र नै गर्ने गरेको छ । निकुञ्जले घेरेको माडीका मतदाताको उम्मेदवारसँग पहिलो अपेक्षा नै वन्यजन्तुको त्रासबाट मुक्त हुन पाऊँ भन्ने छ । चितवनको माडी वडा नं. १ र २ का विभिन्न क्षेत्रमा किसानले लगाएको धानबाली गैँडाले नष्ट गरिदिएको गुनासो स्थानीयवासीको छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डेलाई घरदैलोका क्रममा स्थानीयवासीले ठूला विकासका कार्यक्रमभन्दा जनताको प्रत्यक्ष जीवनमा जोडिएका साना कुरालाई प्राथमिकता दिन अनुरोध गर्नुभयो । स्थानीय सुनिता भुसालले काट्ने तयारीमा रहेको धान गैँडाले नष्ट गरिदिएपछि यस वर्ष के खाने भन्ने चिन्ता थपिएको बताउनुभयो । उहाँले बर्सेनि निकुञ्जबाट आउने वन्यजन्तुका कारण बाली पूरै भित्र्याउन नपाइने गरेको गुनासो गर्नुभयो ।