• १३ असोज २०८१, आइतबार

स्याङ्जाका ६१ मतदानस्थल अति संवेदनशीलको सूचीमा

blog

पोखरा, कात्तिक २७ गते । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्याङ्जाका ६१ मतदानस्थल अति संवेदनशीलको सूचीमा राखिएको छ । यहाँ एक स्थायी सहिन दुई सय मतदानस्थल मध्ये ६१ स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको हो । 

सुरक्षा दृष्टिकोणले मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र कम संवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । जिल्लाका ६६ मतदानस्थल संवेदनशील र ७२ मतदानस्थल कम संवेदनशीलको सूचीमा रहेको प्रमुख जिल्ला अधिकारी गङ्गा बहादुर क्षेत्रीले बताउनुभयो । 

विगतको निर्वाचनको समीक्षा, सञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावजस्ता विषयलाई आधार मानेर निर्वाचन स्थल र केन्द्रका लागि सुरक्षा संवेदनशीलता तयार पारिएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गरेर ११ स्थानीय तहमा रहेका केन्द्रको अनुगमन पश्चात् सुरक्षा योजना निर्माण गरेको प्रजिअ क्षेत्रीले बताउनुभयो । मतदान केन्द्र, मतदानस्थल, मतदाता, उम्मेदवार सबैको सुरक्षाको प्रत्याभूति हुने गरी सुरक्षा योजना तयार गरिएको क्षेत्रीले बताउनुभयो । 

क्षेत्र नं १ मा आँधिखोला, अर्जुन चौपारी, हरिनास, विरुवा, फेदीखोला गाउँपालिका, पुतलीबजार र भीरकोट नगरपालिकाको १, २, ३, ४  तथा वालिङ नगरपालिकाको ३, ४ वडा रहेका छन् । यहाँ १०९ मतदानस्थल र १६१ मतदान केन्द्र निर्धारण रहेका छन् । यस्तै क्षेत्र नं २ मा कालीगण्डकी गाउँपालिका, गल्याङ, चापाकोट, वालिङ नगरपालिकाको १, २, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १४, भीरकोट नगरपालिकाको ५, ६, ७, ८, ९ वडा रहेका छन् भने  ९१ मतदानस्थल र १५० मतदान केन्द्र निर्धारण गरिएको छ । 

दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा एक अस्थायी सहित ३२१ मतदान केन्द्र रहेका छन् भने क्षेत्र नं १ मा कुल एक लाख २७ हजार ४११ र क्षेत्र नं २ मा एक लाख १६ हजार ६७८ गरी कुल दुई लाख ४४ हजार ८९ मतदाता रहेका छन् । 

Author

अर्जुन काफ्ले