• १५ असार २०८१, शनिबार

स्थानीयले गरे सडक अवरोध

blog

खोटाङ समाचारदाता 

खोटाङ, कात्तिक २७ गते । जिल्ला अस्पताल दोर्पा दुम्ली सडक खण्डअन्तर्गत थर्पुचोकस्थित सडकको बीचमा बार लगाएर शनिबार स्थानीयले सडक बन्द गरेका छन्। बीच सडकमा ढल फुट्दा सवारीसाधन आवतजावतसँगै स्थानीयलाई यात्रा गर्न सास्ती भएकाले सडक बन्द गरिएको स्थानीयले बताएका छन्। 

करिब चार महिनाअगाडि सडकको बीचमा ढल फुटेर समस्या उत्पन्न भए पनि सम्बन्धित निकायले अहिलेसम्म कुनै चासो नदिएकाले सडक बन्द गर्न बाध्य भएको स्थानीयको भनाइ छ। करिब पाँच मिटर चौडाइ रहेको उक्त सडकको तीन मिटर भाग फुटेको छ। बीचमा गाडीको टायर राखेर सवारीसाधन वारपार गर्ने गरिएको छ। 

पशुचौपाया हिँड्डुल गर्दा धेरै पटक खुट्टा अड्किएर चोटसमेत लागेको स्थानीयहरूको भनाइ छ। बालबालिकालाई उक्त स्थानमा जोगाउन कठिन भएको स्थानीय हीरालाल रिजालले बताउनुभयो। 

सोही ठाउँमा केही दिन अगाडि विद्युत्को पोलमा ठोक्किएर बस दुर्घटनासमेत भएको थियो। दुर्घटनामा एउटा घरमा सामान्य र मोटरसाइकलमा क्षति पुगेको बताइएको छ। ढलको पुनर्निमाण नगरी सवारीसाधन चलाउँदा झन् ठूलो क्षति हुने भएकाले सडकको बीचमा बार लगाएर बन्द गरिएको उनीहरूको भनाइ छ। ढल मर्मत नभएसम्म बार नखोल्ने स्थानीयले बताएका छन्। 

ढल निर्माण गर्नेदेखि प्राविधिकसम्मको कमजोरीको कारण निर्माण भएको दुई वर्षमै ढल फुटेको स्थानीय राधिका आचार्यको आरोप छ। ढल निर्माण गर्दैगर्दा स्थानीयहरूको असन्तुष्टि रहेको पाइएको छ। 

धान, कोदोलगायतका उब्जाउ हुने ठाउँमा ढल कटाउँदा स्थानीयले असन्तुष्टि जनाएका हुन्। केही समयअघि ढल फुटेर कोदोमा क्षति पुगेको स्थानीय रमेशप्रसाद आचार्यको गुनासो छ। ढल फुटेर स्थानीयले सास्ती भएको गुनासो गरेपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले एक महिनाअघि अनुगमन गर्नुभएको थियो। 

ढल निर्माण गर्दा कमसल सामाग्री प्रयोग गरिएका कारण उक्त समस्या सिर्जना भएको मेयर भट्टराईको भनाइ छ। उहाँले आवश्यक प्रक्रिया एवं बजेट व्यवस्थापन गरेर चाँडै उक्त समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।