• १५ असार २०८१, शनिबार

हुम्लामा खाद्यान्न मौज्दात न्यून

blog

हुम्ला समाचारदाता

हुम्ला, कात्तिक २७ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको हुम्ला शाखाको गोदाममा खाद्यान्न मौज्दात न्यून रहेको छ । ढुवानी प्रक्रिया लामो भएका कारण आर्थिक वर्ष सुरु भएको चार महिना बित्नै लाग्दा पनि नयाँ कोटाको खाद्यान्न ढुवानी हुन ढिलाइ भएको हो । 

खाद्य कम्पनीको हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले गोदाममा खाद्यान्न मौज्दात निकै कम रहेको जानकारी दिनुभयो । मौज्दात कम भएको र ढुवानी समयमै हुन नसक्ने अवस्थाले हुम्लामा खाद्यान्न अभाव हुने जोखिम बढेको हो ।

हाल गोदाममा तीन सय क्विन्टल मात्र खाद्यान्न मौज्दात छ । यस आर्थिक वर्षका लागि आठ हजार क्विन्टल खाद्यान्नमध्ये सुर्खेतबाट छ हजार र नेपालगञ्जबाट दुई हजार क्विन्टल कोटा निर्धारण भएकामा यसको ढुवानीका लागि टेन्डर प्रक्रिया लामो भएका कारण हालसम्म सो खाद्यान्न ढुवानी हुन सकेको छैन । हवाई मार्गको खाद्यान्न ढुवानीका लागि खाद्य कम्पनीले दुई पटक टेन्डर निकाल्नुपरेको थियो । 

खाद्य कम्पनीले पहिलो पटक टेन्डर निकाल्दा ढुवानी दर कम भएको भन्दै कुनै पनि ढुवानीकर्ताले आवेदन गरेनन् । यसमा नेपालगञ्जका लागि प्रतिकेजी १५० रुपियाँ र सुर्खेतबाट प्रतिकेजी १४० रुपियाँ ढुवानी दर लाग्ने टेन्डर निकालिएको थियो । पुनः दोस्रो पटक सुर्खेतबाट प्रतिकेजी १५५ रुपियाँ र नेपालगञ्जबाट प्रतिकेजी १६० रुपियाँ टेन्डर निकालिएको थियो । 

उहाँले दोस्रो सूचनामा सुर्खेतको खाद्यान्न ढुवानी समिट एयरलाइन्स र नेपालगञ्जको खाद्यान्न तारा एयर छनोट भएको भए पनि सम्झौता हुन नसकेको बताउनुभयो । खाद्य कम्पनीले सम्झौताका लागि आशयपत्र निकालेको भए पनि दुवै एयरलाइन्सले सो काम गरेका छैनन् । सम्झौताका लागि खाद्य कम्पनीले पत्राचार गरिसकेको छ तर पनि एयरलाइन्स नआएका कारण काम अगाडि नबढेको हो । 

त्यसैगरी सिमकोटकै लागि दुई हजार क्विन्टल सुर्खेतबाट पैदल मार्गबाट सलीसल्लासम्म र त्यसयता हेलिकोप्टरबाट ढुवानी सुरु भएको छ । यो खाद्यान्न दशैँतिहारभित्र हेलिकोप्टरबाट ढुवानी हुनुपर्ने थियो ।  

प्रमुख अधिकारीले गोदाममा मौज्दात खाद्यान्न न्यून हुँदा बिक्री वितरण गर्न नपुग्ने भएको कारण असोजपछि सूचना नै निकालेर बिक्री बन्द गर्नुपरेको बताउनुभयो ।