• ७ मंसिर २०८१, शुक्रबार

बबरमहलदेखि रानीमहलसम्म

blog

जय भट्टराई 

कात्तिक महिनाको तेस्रो साताको समय, मुलुकमा चुनावी उत्सवले उत्साहितहरू आ–आफ्नै धुनमा थिए । यही चुनावी उत्सवकै समय पारेर वर्षौंदेखि हुँदै आएको सिर्जना उत्सवले अर्को रौनक थपियो । यही उत्सवमा सहभागी हुन केही स्रष्टा एउटै थलोमा मिसिन पुगे । विगत १५ वर्षदेखि निरन्तर भाषा–साहित्य, कला–संस्कृतिको क्षेत्रमा काम गर्दै आएको नेपाली कला साहित्य डट कम प्रतिष्ठानको यसपालिको कलासाहित्य यात्रा पाल्पामा गर्ने र कास्की र गुल्मीको सद्भाव भ्रमण पनि हुने खबर पाएपछि त्यता जान तम्तयार १८ जनाको टोली एकाबिहानै माइतीघरमा जम्मा भइसकेका थिए । वरिष्ठ साहित्यकार एवं संस्कृतिविद् तुलसी दिवसदेखि नयाँ पुस्तासम्मका साहित्यकार, साहित्यप्रेमीको टोलीले काठमाडौँबाट थालेको यात्रा पोखरा पुगेर विश्राम लिन पुग्यो । त्यहीँ वरिष्ठ साहित्यकार सरुभक्त थपिनु भएपछि १९ जनाको टोली पाल्पा पुग्दा साँझ झमक्क भइसकेको थियो । कार्यकमको सहयोगी संस्था पाल्पा साहित्य समाजको स्वागतसँगै पहिलो दिनको यात्राले विश्राम लिएको थियो । साँझको पाल्पाको सौन्दर्य हेर्न नपाए पनि पाल्पालीको न्यानो आतिथ्यले पुलकित बन्न पुग्यौँ । 

कात्तिक १९ गते यात्राको दोस्रो दिन तानसेनको प्रसिद्ध भगवती मन्दिर परिसर लेखक साहित्यकारका लागि आकर्षणको केन्द्र बन्न पुगेको थियो । नेपाली कलासाहित्य डट कम प्रतिष्ठानको आयोजना तथा पाल्पा साहित्य समाज सहआयोजक रहेको सिर्जना उत्सवको मुख्य कार्यक्रम यही परिसरमा हुँदै थियो । मन्दिरमा भक्तजनको आउजाउ चलिरहेको थियो । युवकयुवती मुख बङ्ग्याएर कम्मर मर्काएर टिकटक बनाउन व्यस्त देखिन्थे । कवि साहित्यकारको टोली पनि तस्बिर खिचाउन व्यस्त देखिन्थे । पाल्पाका आदरणीय शिक्षासेवी डा. रामप्रसाद ज्ञवालीबाट पाल्पाको शिक्षा र संस्कृतिका बारेमा सुनियो । 

आयोजकलाई भने कार्यक्रमको तयारीको चटारो देखिन्थ्यो । स्थानीय स्रष्टा, विद्यार्थी, साहित्यप्रेमी, विभिन्न निकायका प्रतिनिधि आदिको उपस्थितिसँगै दिउँसो २ नबज्दै त्यही मन्दिरको हलमा आरम्भ भयो सिर्जना उत्सव । आयोजक संस्थाका अध्यक्ष एवं स्रष्टा मोमिला र सहआयोजक संस्थाका अध्यक्ष एवं साहित्यकार पुष्कर अथक रेग्मीले संयुक्त अध्यक्षता गर्नुभएको समारोहको प्रमुख अतिथि वरिष्ठ कवि एवं संस्कृतिविद् तुलसी दिवस हुनुहुन्थ्यो । कार्यक्रमको अर्को आकर्षण, साहित्यकार राजेश्वर कार्कीले स्थापना गर्नुभएको योगेश्वर वाङ्मय पुरस्कारबाट पाल्पाका साहित्यकार पुष्कर अथक रेग्मी सम्मानित हुनुभयो । अमरिकी नागरिक भएर पनि नेपाल र नेपालीलाई अत्यन्त माया गर्ने ग्रेगोरीले स्थापना गर्नुभएको ग्रेगोरी कलासंस्कृति पुरस्कारबाट तानसेनका सक्रिय साधक राजेन्द्रगोपाल सिंह सम्मानित हुनुभयो । सम्मानित दुवै स्रष्टाद्वारा लिखित पाल्पाको साहित्यिक इतिहासनामक कृतिको लोकार्पणपछि दीपक बस्यालले समीक्षा प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि तुलसी दिवस, विशेष अतिथि एवं नाट्यकर्मी अशेष मल्ल, साहित्यकार सरुभक्त, डा. विमल कोइराला, पाल्पा साहित्य समाजका सल्लाहकार चित्रावलीराम सुवाल, निर्गुण प्रकाश सिंह, पुरस्कृत व्यक्तित्वद्वयले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा युवा साहित्यकार महेश पौड्यालले समग्र कार्यक्रमको कि–नोट प्रस्तुत गर्नुभएको थियो । प्रतिष्ठानका कोषाध्यक्ष तथा कलाकार सुन्दर बस्नेतको प्रस्तुति मेरो राष्ट्र मेरो ध्येयमा आधारित दृश्यमा देशदर्शन वृत्तचित्रले धेरैको मन जित्न सफल भयो । 

कार्यक्रमको अर्को आकर्षणको रूपमा रहेको कविगोष्ठीमा तुलसी दिवस, डा. विमल कोइराला, अशेष मल्ल, सरुभक्त, डा.कृष्णराज डीसी, राजेश्वर कार्की, डा.हरिप्रसाद मानसाग्नि, विमल वैद्य, लम्क्षण गामनागे, मोमिला, महेश पौडेल, असीम सागरका कविता सुनिए । स्थानीय कवि–कवयित्रीमा चित्रवलीराम सुवाल, महेन्द्र पन्थी, पुरुषोत्तम अर्याल, सविता भट्टराई, कमल खत्री, हरि भट्टराई, डा.टंक पन्थ, इन्दिरा ज्ञवाली पौड्याल आदिका गीत, कविता, गजल सुनिए । झन्डै चार घण्टा चलेको कार्यक्रममा सभापति मोमिलाले सभापतिको आसनबाट मन्तव्य व्यक्त गर्दै स्रष्टाको सम्मान र सबैलाई समेट्दै आइरहेको प्रतिष्ठानको यो कार्यक्रम पाल्पासँग जोडिने अर्को उदाहरण हो भन्नुभयो । कुनै सरकारी सहयोग नलिइकन आजसम्मको यात्रामा प्रतिष्ठानले ठूलो काम गर्नुभन्दा चेतना अभिवृद्धि गर्नसक्यो भने त्यो नै ठूलो काम हुने धारणा राख्नु भयो । 

यात्राको तेस्रो दिन बिहानै थालिन्छ पाल्पा र गुल्मीको यात्रा । कास्की हुँदै पाल्पा, गुल्मीको यात्राको क्रममा देखिए प्रकृतिका अनुपम छटाहरू, भेटिए भिन्न भिन्न उमेरका स्रष्टाहरू, स्वप्नद्रष्टाहरू । भर्खरै सकिएको ठूलो एकादशीको समय पवित्र धाम श्रृश्वेश्वर मन्दिरको परिवेश नै मनमोहक लाग्थ्यो । बटुकहरूको स्वस्ती वाचन, गुरुजनको प्रवचन र पथप्रदर्शन, स्थानीय उद्योग वाणिज्य सङ्घको स्वागत–सत्कार, स्थानीयसँगको अन्तक्र्रिया बिर्सिनसक्नु । फूलको गुच्छा र मालाले, रातो टीका र मालाले, खादा र आतिथ्यले पुलकित बनेका सहभागीलाई फोटो खिच्न भ्याइनभ्याइ थियो । भैरव मन्दिर परिसरमा रोट पकाउने र चढाउनेहरूको लाम पनि हेर्न लायक । जति जति सिँढी उक्लिँदै गयो दायाँबायाँ रोट पकाउनेहरूका पसल आकर्षणको केन्द्र लाग्ने । भैरव मन्दिर परिसर भित्र प्रवेश गरेपछि देखियो अर्को सौन्दर्य । अध्यात्म पक्ष त छँदैछ । रुरु क्षेत्रको आफ्नै महिमा । चारदिने यात्रा यस्तै अनुभूति, संवेदना, स्मृति समेट्न सफल रह्यो । 

औपचारिक कार्यक्रमको तेस्रो दिन पाल्पाको प्रसिद्ध रानीमहलको यात्रा । तानसेन बजारबाट १३ किलोमिटरको यात्रा तय गरेपछि पुगिँदो रहेछ कलात्मक एवं ऐतिहासिक रानीमहल । रानीमहलको सिँढी टेक्न पनि पाएका छैनौँ रानी हुनेहरूले त रानी सम्झने हो, रानी नहुनेहरूले चाहिँ कसलाई सम्झने हो भन्दै साधक तुलसी दिवस तस्बिर खिचाउन व्यस्त देखिनु भयो । कविको स्वभाव र संस्कृतिका ज्ञाता भएकोले नै होला रानीमहलको अवस्थाप्रति भने उहाँको असन्तुष्टिका स्वर र सुझाव सुनिए । नाट्यकर्मी अशेष मल्ल सुन्दरता र इतिहासभित्र पनि व्यथा र पीडाका, शोषण र दुःखका कथा जोडिन्छन् भन्दै भावुक बन्नुभयो । इतिहास खोतल्ने र विगत उधिन्नतिर लाग्नुभन्दा पहिलो काम रह्यो हातहातमा रहेका मोबाइलबाट तस्बिर खिच्ने । 

सुन्दरता र इतिहासलाई आ–आफ्ना क्यामेरामा कैद गरेपछि अवलोकनको पालो आयो । श्री ३ महाराज वीरशमशेरका भाइ खड्गशमशेर पश्चिम कमाण्डर जनरलको रूपमा पाल्पा बसेका थिए । वि.सं १९४५ मा आफ्नी पत्नी तेजकुमारीको निधनबाट दुःखी बन्न पुगेका खड्गशमशेरले उनैको स्मृतिमा निर्माण गराएको रानीमहल । २४ वटा कोठा दुईवटा पोखरी, मन्दिर बगैँचापाटी घोडा तबेला रहेको यही इतिहासको साक्षीका सामग्रीको उचित संरक्षण हुन नसकेपछि केही वर्षदेखि यसको संरक्षणको अभिभारा पाल्पा नगरपालिकामा आइपरेको रहेछ । इतिहास, कला, सौन्दर्र्य, प्रेमका दृष्टिले अब्बल मानिए पनि सोचेजस्तो रहेनछ रानीमहल भन्नुपर्दा मनचाहिँ खिन्न हुने । इतिहास, संस्कृतिप्रति मानिसको मोह नहुँदो हो त ५० रुपियाँको टिकट काटेर रानीमहल अवलोकन गर्न आउनेहरूको भीड देख्न नै पाइँदैनथ्यो होला । रानीमहलको तस्बिर त धेरैले खिचे तर जसको स्मृतिमा बनेको हो उनै तेजकुमारीको फोटो भने हेर्न नपाएकोमा थकथकी लाग्यो । 

चौथो दिन बिहानै काठमाडौँ प्रस्थान गर्दासम्मको समय जोड्ने हो भने जम्माजम्मी चारदिने यात्रा हो यो काठमाडौँको बबरमहलबाट कात्तिक १८ गते थालिएर २१ गते राति सोही स्थानमा फर्कंदासम्म । सिर्जना उत्सवको त समय सीमा थियो, स्रष्टा–सहभागीको उत्साहको भने कुनै सीमा नै थिएन । पाल्पाको भगवती मन्दिर, भैरव मन्दिर, श्रृषेश्वर, रुरु क्षेत्रको अवलोकन, पाल्पाको सङ्ग्रहालय, बजार, स्थानीय स्रष्टा–साधकसँगको अन्तक्र्रिया सबै अविस्मरणीय रहे । यात्रा थालेदेखि नै सुरु भएको साहित्यिक चर्चा परिचर्चालाई ब्यानर राखेर औपचारिकता दिएको भए कुनै अन्तक्र्रियाभन्दा कम हुँदैनथ्यो होला । मञ्चमा बसेर सीमामा बाँधिएर अभिव्यक्त हुनु र खुला रूपमा अभिव्यक्त हुनुमा अन्तर पक्कै हुन्छ भन्ने उदाहरण हो यो । 

यी सबै अवसरको चाँजो मिलाउने श्रेय नेपाली कलासाहित्य डट कम प्रतिष्ठानलाई जान्छ । विगत १५ वर्षदेखि यसरी नै कला साहित्य यात्रा गर्दै देश विदेशका विभिन्न स्थान पुग्ने प्रतिष्ठानले साहित्य, कला संस्कृतिका माध्यमबाट जोड्ने काम गर्दै आएको छ । पाल्पा यात्रा यसैको निरन्तरता हो । प्रतिष्ठानका अध्यक्ष एवं स्रष्टा मोमिलाको सोच र सक्रियता, उपाध्यक्ष राजेश्वर कार्कीको साथ सहयोग । कलाकार एवं कोषाध्यक्ष सुन्दर बस्नेतको शालीन र चुस्त खटाइ अर्को उल्लेख्य पक्ष । त्यसो त नेपथ्यमा बसेर साथ र सहयोग दिनेहरूलाई पनि कहाँ बिर्सन सकिन्छ र ? 

कविता भन्ने–सुनाउने, मन्तव्य व्यक्त गर्ने, सम्मानित हुनेहरू बाहेक अनिता कोइराला, सिर्जना दुवाल, ईश्वरी सिलवाल र यात्राका सारथि सुरेश श्रेष्ठ पनि सम्झनु पर्ने पात्रमै पर्दछन् । पाल्पा साहित्य समाजको सहयोग, आतिथ्य, संस्थाका हर्ताकर्ता राजेन्द्रगोपाल सिंह, पुष्कर अथक रेग्मी सबैको साथ र सहयोगको समष्टि पाल्पा यात्रा सुखद र अविस्मरणीय यात्रा ।