युवराज नयाँघरे
धेरै वर्ष भो बस चढ्न थालेको! थाहा छैन, अझै कति वर्ष चढिरहनुपर्छ। थाहा छैन, कहिलेसम्म यो बस यात्रामा जोडिनुपर्छ। थाहा छैन, बस मेरा लागि कुन दिनसम्म साथी–सँगाती भइरहन्छ। बस चढ्न खोज्नेका धेरै अनुहार अचेल निकै सम्झिन्छु। ती अनुहारका पछाडि जोडिएका पेसा, स्वभाव, अड्डी, रहर र व्यवहार सम्झिँदा निकै उल्लासका लहर पोखिन्छन् छातीभरि ।
हाम्रा बाटाहरूमा पिच भा’को धेरै भएकै छैन। सायद पिचरोड भनेको यही महेन्द्र राजमार्ग नै पहिलो होला। अरू त निकै पछि बनेका सडक भए। परिवर्तन भनेको देशमा मैले देखेको एउटा मुख्य छ– सडक। जतासुकै सडक पुगेका छन्। अझ गाउँ–गाउँमा पुगेका छन् बाटाहरू। बाटा जति पुगे पनि त्यहाँको सुधार, विकास र पूर्वाधारमा उही थाङ्ने, थोत्रो र थेत्तरो चालामाला जस्ताको तस्तै छ । अझ बाटामा दगुर्ने मोटर चढ्नेका शील–स्वभाव गजब–गजबका देखेको छु मैले । गाउँ–गाउँमा बाटा पुगेपछि बस चढ्नेका व्यवहार झन् उल्काका देख्छु म ।
झन्डै १० वर्षअघि म मुगु गएथेँ। फर्किंदा गोठिजिउला भएर सुर्खेत झर्ने मन बनाएँ। तिला नदीको किनारैकिनार गाडीले कालीकोट छोएपछि मुटु झिकेर हत्केलामा राख्नै प¥यो। छाँगाछुर भीरले शरीरै अत्याउँथे। घण्टौँ गुडेपछि बाटाछेउको ठूलो ढुङ्गेनी ओडारमा खाना खाइरहेका गाउँले भेटिए। ओडारमा थियो पसल । त्यो पसलमा पाकेको चिया खान हामी पनि ओल्र्यौं ।
चिया खाएपछि गाडीले एक भकारी धुवाँ फ्याँकेथ्यो बेगिनलाई। एक जना जुँगामुठे कान्लाबाट हाम फाले। ढोका छेउमा उभिएर भनिरहे, “छिटो आइज। छिटो मर्। गाडी जान आँट्यो।” उनी चिच्याइरहेका छन्। हामी गाडीमा बसेर उनको सत्तोसराप सुनिरहेका छौँ। निकै बेर भो। गाडीमा बस्नेहरू कराउन थाले । ढोकामा चिच्याउने मान्छे घरतिर फर्केर कराएका–कराएकै छन् । बसभित्र बस्नेलाई छटपटी हुँदो हो झन् बढी ।
“बास बस्न बेलामा नपुगे, भरे होटल पाइन्न।” गाडीको चालक पनि फन्किन थाल्यो। अनि मैले अर्का एक जना जुम्लीलाई सोधेँ, “लौ न, मेरो कुरा यी राम्रासँग नबुझ्लान्। गएर सम्झाउनुस् त के भएको रै’छ ?” जुम्ली गएपछि कालीकोटे घरतिर लागे। पछि–पछि चालक पनि दगुरेको देखेँ। साँघुरो बाटोमा अरू चार÷पाँचवटा जिप आएर पछाडि बसे । यस्तै २० मिनेटपछि हस्याङफस्याङ गर्दै महिला र जुँगामुठे आए । जुम्ली र ड्राइभर पनि आइपुगे । “किन बेर गरेकी रै’छन् त ?” मैले सोधेँ । “हाम्रो घर छेउबाट जाने गाडीले हाम्लाई नलिई किन जान्थ्यो । पर्खिन्छ नि केहीबेर ।” उनी यसै भन्दै बाख्रालाई घाँस काट्दै रहिछन् । उनका कुराले म हाँसेँ । ड्राइभरले भनेको सुनेँ, “घर–घरका मान्छे नटिप्ने हो भने फर्किनलाई बाटै पाइन्न ।”
चालीस सालको सुरुमै हुनुपर्छ म धनकुटाबाट धरान झर्दै थिएँ। तमोर पुग्ने–पुग्ने बेलामा घुम्ती पसल भेटियो। एक जना अलिक होचो–होचो मान्छे आएर मोटर रोके। बिहान ६ बजे छुटेको बस धरान पुग्न हुइँकिएको थियो। बस रोकेर उनी घुम्तीतिर चिच्याउन थाले, “तँ छिटो नआउने भए गाडीले छोड्छ है । चाँडो गर है ।” होचो–होचो मान्छेले यसो भनिरहे । गाडी घ्यार्र–घ्यार्र भइरह्यो । हामीले तीन गिलास चिया तु¥यायौँ । तैपनि गाडीमा बोलाएको मानिस आइनन् । मोटरमा हल्लीखल्ली भइरह्यो । “तँ मरेर खुट्टा पसारिस् कि क्या हो ? छिटो पस् न पस् ।” कराउनेको बोली झन्–झन् चर्का भइरहेथे । हामी पनि धेरै बेर खुट्टा तन्काएर पसिसकेथ्यौँ मोटरभित्र । हल्लीखल्ली झन्–झन् बढ्यो । अब त उसलाई नपर्खिने कुरा हुन थाल्यो । मसँगै गणेश थिए । भाषा बुझ्ने हिसाबले भनेँ, “जानु, काकी किन आइनन् । बुझ्नु त बुझ्नु ।” गणेश गए । हाम्रा आँखा अब उनी गएतिरै दगुरे । १० मिनेटपछि उनले निकै अग्ली महिला अघि लाएर मोटरभित्र पसाए । अनि सबै एकछिन उनीतिर हेरेका–हेरेकै भए । “आधी घण्टा ढिलो किन नि ?” गाडी रोक्ने मानिसले ड्राइभरको उत्तर फर्काउँदै भने, “जेठीको गहना कान्छीकोमा गएछ । कान्छीको गहना जेठीकोमा छुटेछ। यो जेठी परी। ऊ म जेठी हुँ, हरेक कुरा जेठी भनेको जेठी नै हुन्छे भनेर अड्डी लिएर बसेकी रै’छे। मरेर फकाई ल्याएँ।” उत्तर सुनेर खासखुस भो। मोटर बेलामा नपुग्ला भनेर हामीले करायौँ– लौ न, अब त हुइँकाऊ!
दैलेखबाट म सुर्खेत झरिरहेको थिएँ। बिहानै हिँडेको खुबै थाकेथेँ। लामो थियो बाटो। दैलेख, दुल्लु सबै चहारेर सुर्खेत झरिरहँदा निकै अबेर भइरहेथ्यो। खोला छेउमा वादी बस्ती रहेछ। हाम्रो गाडीमा मानिस भरिभराउ थिए। अरू एक पाइला हाल्ने ठाउँ थिएन। पारिपट्टि एउटा बेग्लै संसार थियो। वारि झन् बेग्लै दुनियाँ।
एक जना कपाल पूरै फुलेका बूढा हामी जान लागेको मोटरको ढोकामा आएर उभिए। उनलाई सबैले भन्यौँ– ठाउँ छैन। अर्कोमा आउनु न। उनले मरिकाटे छोडेनन्, “यसमै जानुपर्छ। साँझमा फेरि अर्को आउने टुङ्गो छैन।” कुरा गर्दै जाँदा थाहा भो– उनी मात्र नभएर छोरी पनि लैजान खोजेका रहेछन्। भित्तातिर घर थियो। बूढा मान्छे बोलेका–बोल्यै थिए। उनले भनेको कुरा यस्तै थिए, “मैले कत्ति गरेर यहाँ गाडी रोकेको छु। तँ के गरेर मरिराखेकी छस्।”
“आएँ, आएँ !” बूढा कराए पनि उताको उत्तर एउटै भइरह्यो– “आएँ, आएँ।” मोटरमा बस्नेहरू अत्तालिन, कराउन र फन्किन थाले। उनीहरू तर्क–बितर्क गरेर चालकलाई कराउन थाले। “ए बाबु, किन चढ्न नआएकी होलिन् ती नानी। बुझ–बुझ,” मैले भनेँ। छेउका बूढा पनि ड्राइभरसँगै भएर डाकेतिर खोज्न गए। हराए उनीहरू त। यस्तै आधी घण्टा उनीहरू नै हराए।
मोटरभित्रकाहरू बम भएर पड्किन मात्र बाँकी थिए। म सबैका रातापिरा अनुहार देखिरहेको छु। असिनपसिन छन् सबै। बल्ल उनीहरू टुप्लुकिए। “किन बेर गरेको ?” मैले नै सोधेँ। “माइत खसी लानु परेन त। बल्लतल्ल काटेँ। गाडी आइपुग्दा भुँडी पखाल्न लागेकी, बेर भैगो नि।” केटीले त्यसो भन्दा मोटरमा बस्नेहरू रिसले झन्–झन् रातापिरा भएथे।
म च्यामसिंहबाट गाडी चढेँ। जानु थियो नाला। बाटाका ताथली, ब्याङढुङ्गा निकै रमाइला–रमाइला ठाउँ लाग्थे। गएको बर्खामा म त्यता लागेथेँ। धान, मकैको हरियाली तह–तह खेत र अन्नबाली। लोभै लाग्ने। बाटोमा मिनिबस रोक्दै एक जना बूढा घरबाट बाटोतिर हुत्तिए। उनले घुम बोकेथे, खाजाको पोको पनि काखीमा चेपेथे। कानमा सिउरेको पूmल ओइलाएको थिएन।
मिनीबसभरि मान्छेको टनाटन थियो। सबैलाई हतार रहेछ। दिउँसो भोकाएका, कलेज पढेर आएका केटाकेटीको हूल बढ्तै थियो। मै पनि भोकाएको थिएँ। मिनीबस रोकेर बूढाले घरतिर नेवार भाषामा कराइरहे– “छिटो गर् न छिटो।” “म छोडेर जाउँ त ? किन अल्मलिएकी ?” बूढा कराइरहे।
१५ मिनेट नाघेपछि मलाई पनि उकुसमुकुस भयो। ड्राइभरलाई भनेँ, “म हेरेर आउँ त ?” उनको सहमतिमा म त्यो छाप्रोतिर गएँ। छाप्रोका एकातिर भेडा थिए। अर्कातिर पराल, भान्सा र अनेक सरसामानले अँधेरो परेको देखिन्थ्यो।
“कता हो, खै ?” मैले नै कराएँ। एउटी बूढी नाङ्लामा चामल केलाइरहेकी थिइन्। उनलाई कुनै हतारो थिएन। मस्तले छिन्केर बसिरहेकी थिइन्। “बज्यै, गाडी छुटिसक्यो। जाने हैन । के गरेर अल्मलिएकी ?” मैले नै छटपटी पोखेँ।
“मोटरले मलाई लान्छ नि। नलगी सुख पाउँछ। मैले आफ्नो जग्गा बाटोलाई दिएकी छु। मोटर हाम्रो जग्गामा कुद्ने, हाम्लाई नलैजाने गर्न मिल्छ ?” बूढीले उल्टै थर्काएपछि म केही बोलिनँ। थप १० मिनेटपछि उनी पूmल सिउरेर मिनीबसमा छिरिन्। अरूहरू रिसाए पनि मैले धेरै कुरा सुनेकाले उज्यालो अनुहारसाथ आएको थिएँ।
सल्लेरीबाट झिसमिसेमै झरेको थिएँ म। उदयपुरगढी छिचोलेर ओरालो लाग्दा मध्य दिन भएको थियो। बेलुकी विराटनगर जाने अन्तिम बस ५ बजे छुट्थ्यो मिर्चैयाबाट। त्यो मोटर जसरी नि समात्नै पथ्र्यो। त्यसका लागि उपाय यही थियो– यही बोलेरो चाँडै पुगोस्।
कटारी पुग्नुभन्दा दुई घण्टा वरै एउटा बस्तीमा बोलेरो रोकियो। एकछिन रोकियो। सबैले जिउ तन्काएर यसोउसो गरी समय कटाए। धेरै त गाडीबाट पनि निस्केनन्। म त थोकेको छु– बेलामा गाडी नपुगे मेरो अन्तिम मोटर पनि छुट्छ। “भाइ, जान पाए हुने!” मैले उकुसमुकुस पोखेँ।
ड्राइभरले हर्न लगाए। “एक जना काका आउनुपर्ने। नलगी जान मिल्दैन। लैजानलाई कति कुर्नु ?” उनले पीडा पोखे। फोन च्यापेर ड्राइभर घरी यता, घरी उता कुदिरहन्थे। मोटरमा बस्नेहरू रिसाएर चौपट छ। सबैका मुख फुलेर राता न राता भइसके। बिस्तारै बोले पनि धेरैले रिस पोखिसके। दिग्दारै भएँ मै पनि।
फोन राख्छ। फेरि उठाउने गरिरहेको देख्छु चालकलाई। “ए भाइ, जाऊँ न। अबेर हुने भो। कसलाई कुरेको हामीले ?” रिसको पारो चढेको रहेछ– एउटी बज्यै कराइन्। “हेर्नु न। मलाई पनि बस्न त काँ मन छ र ? तल्लाघरे काका भुँनीलाई बीर लगाउन गएका रे। बीर बिहानैदेखि कता लागेछ कता। पोथीलाई भालेसँग भेट नगराई आउन मिल्दैन रे। एकछिन्–एकछिन् भन्छन् काका।”
ड्राइभरले कुर्नु परेको पीडा सुनाएपछि एक पटक सबै राँक्किए। सबैका आँखामा एकचोटि हैरानीको डढेलो दन्केको थियो बेस्सरी।
“अब यो खाडल खनिसक्छु। अनि खाल्डो पोल्छु परालले। त्यसपछि पराल राख्छु, त्यसमाथि केराको पातले खाल्डो मिलाउँछु। अनि यो तोरीको साग हाल्दै खुट्टाले थिच्दै सबै राख्छु। जति थिचो उति अमिलो हुन्छ। त्यसपछि पराल, केराको पात मिलाएर राख्छु। मास्तिर माटोले पुर्छु। अनि बल्ल तोरीको गुन्द्रुक तयार हुन्छ। यति गरेपछि म सुगाहाट जान्छु। एकछिन गाडीले नकुरी हुन्छ त मलाई। मेरो धान फल्ने खेत काटी बनेको बाटोमा मैले भनेअनुसार गाडी नचलेर भो त !”
उर्लाबारीदेखि निकै तल सुतार साइँलाले बाटैमा ढाट राखेर मोटर चढ्दा रहेछन्। एक पटक मैले आफैँ एक घण्टा कुरेर उनीसँग गाली खानु परेको थियो। सडक जति अस्तव्यस्त छ हाम्रो समाजले बस चढ्नेहरूको मनस्थिति पनि फराकिलो नपारेकै हो त ? अचेल खुबै विचार फत्काउँछु म– समाजले नसिकेको कि सिकाउनेले नसिकाएको ?