• ७ पुस २०८१, आइतबार

‘लालपुर्जा’ सधैँ चुनावी कार्यसूची

blog

मुना हमाल

सुर्खेत, कात्तिक २४ गते । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिका–४, मित्रनगर टोलमा वर्षौंदेखि लालपुर्जा वितरण चुनावी कार्यसूची बन्दै आएको छ । उक्त टोलमा करिब ६५ घरधुरी छन् । प्रदेश आयुर्वेद औषधालयसँगै उत्तरपट्टि जोडिएको उक्त टोल कुनै विकट गाउँभन्दा फरक छैन । 

यस टोलका बासिन्दा वर्षौंदेखि आफ्नो नाममा लालपुर्जा पाउने आशामा बसेका छन् । हरेक निर्वाचनमा मत माग्न जाने नेताहरूबाट लालपुर्जा पाउने आश्वासन पाएका यस टोलका बासिन्दाले अहिलेसम्म हातमा लालपुर्जा पाउने सपना पूरा हुन सकेको छैन । यस पटक पनि राजनीतिक दलका नेता तथा उम्मेदवारहरूले लालपुर्जा उपलब्ध गराउने आश्वासन दिन थालेका छन् । 

फेरि निर्वाचन नजिकिएको छ । फेरि पनि लालपुर्जाका बारेमा चर्चा हुन थालेको छ । स्थानीय नन्दा कसेरा वर्षौंदेखि लालपुर्जा पाउने आसमै दिन गएको बताउनुभयो ।  पछिल्ला तीन दशकसम्म उक्त टोलमा एउटै चुनावी कार्यसूची लिएर नेताहरू मत माग्ने गरेका छन् । टोलमा करिब डेढ सयको हाराहारीमा मतदाता नामवली रहेको सङ्ख्या छ । चुनावको समयमा भोट प्रयोगबाहेक आफूहरूले सोचेको जस्तो विकास हुन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बाजेको पालादेखि अहिले नातिको पालासम्म पनि लालपुर्जा पाउन सकिएको छैन् । मत दिनुस, लालपुर्जा दिन्छौँ भन्छन् तर चुनावपछि नेताहरूको अनुहार कहिले देखिँदैन ।” 

सोही ठाउँका जैसरा विकको गुनासो पनि उस्तै छ । उहाँको परिवार २०२५ सालदेखि उक्त ठाउँमा बस्दै आएको छ । लालपुर्जाको आश्वासन मात्र पाउने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “लालपुर्जा दिने भनेर मत माग्छन् ।  न हातमा लालपुर्जा प¥यो । न अन्य सुविधा पाइयो ।” टोलमा लालपुर्जा मुख्य समस्या भए पनि अन्य खानेपानी, सडक, रोजगारका समस्या पनि छन् । उक्त टोलका बासिन्दा केही यहीँ मजदुरी गर्छन् भने अधिकांश कमाउन कालापहाड जाने गर्छन् । स्थानीय काशीराम विकले युवालाई भोट र चुनावी आम सभामा प्रयोग गर्नेबाहेक नेताहरूले अरू केही गर्न नसकेको गुनासो गर्नुभयो ।

स्थानीय रामबहादुर नेपाली लालपुर्जा दिलाउने आशामा मत हाल्ने गरेको  वर्षौं बितेको बताउनुहुन्छ । मित्रनगर टोलवासीका लागि मुख्य अपेक्षा भनेकै लालपुर्जा रहेको उहाँको भनाइ छ । विपन्न बस्तीमा नेताहरू चुनाव जित्नका लागि मात्र आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म आफू बसेको ठाउँ आफ्नो नाममा हुन सकेको छैन् । लालपुर्जा पाउने आशामा भोट हाल्छौँ तर पाउँदैनौँ । अहिलेसम्म हामीले भनेको जस्तो भएको छैन ।”