• १० वैशाख २०८३, बिहिबार

अलपत्र सडकका काम सक्न ठेकेदारलाई सरकारी ताकेता

blog

जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीयरसर्वदलीय बैठकका सहभागीहरू । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, वैशाख १० गते ।
जिल्लामा निर्माणाधीन सडक संरचना अलपत्र पर्दा सरकारप्रति जनताको विश्वास कम हुँदै गएको भन्दै यहाँका सरोकारवालाले निर्धारित समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई ताकेता गरेका छन्।

जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीयरसर्वदलीय बैठकले जिल्लामा सञ्चालित सडक संरचनाका काम समयमै सम्पन्न गराउन निर्माण कम्पनीलाई ताकेता गर्ने र कार्यसम्पादन नभए आवश्यक कारबाही प्रक्रिया अघि बढाउने समझदारी गरेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो।

राष्ट्रिय गौरवका कालीगण्डकी करिडोरको बलेवा खण्ड, मध्यपहाडी लोकमार्गको बिहुँ खण्ड, बागलुङ–कुश्मीसेरा–राङखानी–बरेङ हुँदै शान्तिपुर जोड्ने सडकको कुश्मीसेरा–देवलधारा खण्ड तथा सालझण्डी–ढोरपाटन सडकलगायतका आयोजनामा तोकिएको समयमै काम सम्पन्न गर्न आवश्यक समन्वय तथा सहजीकरण गर्ने निर्णय भएको छ। सरोकारवालाबाट सहयोग हुँदा पनि विभिन्न बहाना बनाई काम नगरेमा निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाइने सहमति भएको हो।

बैठकमा सहभागी सडक आयोजनाका प्रमुख र ठेकेदारलाई प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले अलपत्र संरचनाको काम छिटो सम्पन्न गर्न ध्यानाकर्षण गराउँदै ठेकेदारले विभिन्न बहाना बनाएर काम रोक्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउनुभयो।

कालीगण्डकी करिडोरअन्तर्गत बलेवा–मालढुंगा सडक खण्ड तोकिएको समयमा नसकिँदा अलपत्रजस्तै बनेको छ। बलेवादेखि रिडीसम्मको खण्ड कालोपत्रे भए पनि छोटो दूरीको यो खण्ड अधुरो रहेको हो। गत वर्ष बागलुङ नगरपालिका–१३ को कालाखोलामा खसेको पहिरो देखाउँदै ठेकेदार कम्पनीले काम सम्पन्न गरेको छैन।

पहिरोबाट पानी रसिँदा सडक हिलाम्मे भई सवारीसाधन फस्ने गरेको जैमिनी नगरपालिका–७ का थानेश्वर सुवेदीले गुनासो गर्नुभयो। पहिरो नजिकको कच्ची सडक स्तरोन्नति नहुँदा बुटवलदेखि बागलुङ, म्याग्दी र मुस्ताङ जाने यात्रुवाहक सवारी पनि कालाखोलामा घण्टौँ जाममा फस्ने गरेका छन्।

निर्माण कम्पनीका प्रतिनिधि दिनबन्धु काफ्लेले पहिरोका कारण काममा ढिलाइ भएको बताउनुभयो। “असारसम्ममा कालोपत्रे गर्ने लक्ष्य छ,” काफ्लेले भन्नुभयो। सडकका कतिपय स्थानमा सब–बेस बिछ्याउन बाँकी छ भने कल्भर्ट निर्माण भइरहेको छ। कालीगण्डकी करिडोरका इन्जिनियर शिवलाल दाहालले ठेकेदारलाई समयमै काम सक्न ताकेता भइरहेको र बजेट अभाव नहुने जानकारी दिनुभयो।

यस्तै, मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–घोडाबाँधे खण्डमा पनि काम सम्पन्न भएको छैन। यस खण्डका दुई ठेकेदार अघिल्लो वर्ष कालोसूचीमा परेपछि नयाँ ठेक्का मार्फत काम सुस्त गतिमा भइरहेको छ। वर्षायाममा हिलाम्य र हिउँदमा धुलाम्य हुने यस सडकले यात्रु तथा बिहुँ क्षेत्रका बासिन्दा वर्षौँदेखि सास्ती खेप्दै आएका छन्।

लोकमार्ग आयोजना प्रमुख अनुक्षा घिमिरेले केही काम खरिद ऐनलगायत कारणले प्रभावित भए पनि ठेकेदार कम्पनीलाई छिटो काम सक्न ताकेता गरिरहेको बताउनुभयो। बिहुँ खण्ड अलपत्र हुँदा स्थानीयले सडक अवरोधदेखि प्रशासनको ध्यानाकर्षण गराउँदै आएका छन्।

मालढुंगा–कुश्मीसेरा सडकअन्तर्गत एक्लेसाल पहिरो नियन्त्रणको काम पाँच वर्षदेखि अलपत्र छ। अदालतचौपारीदेखि तित्याङ हुँदै भकुण्डेसम्मको १५ किलोमिटर सडक अझै निर्माण सम्पन्न भएको छैन। यो सडक एशियाली विकास बैंकको साझेदारीमा निर्माण भइरहेको हो। ठेकेदारकै कारण काममा ढिलाइ भएको सिनियर डिभिजन इन्जिनियर दयाराम शर्माले बताउनुभयो।