• १६ भदौ २०८१, आइतबार

करिब एक लाख राष्ट्रिय परिचयपत्र वितरण

blog

दोलखा समाचारदाता 

दोलखा, कात्तिक २३ गते । वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्ने सरकारको लक्ष्यअनुसार दोलखामा खटिएको टोलीले चार महिनामा करिब एक लाख राष्ट्रिय परिचयपत्र वितरण गरेको छ। 

गत असार १ देखि कात्तिक ५ गतेसम्म खटिएका ३५ टोलीले यहाँका ७४ वटै वडाबाट ९१ हजार ८६६ राष्ट्रिय परिचयपत्र वितरण गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। वडाबाट वितरण गरिए पनि जिल्ला प्रशासन कार्यालयबाट साउनदेखि असोजसम्म एक हजार ४७९ राष्ट्रिय परिचयपत्र वितरण गरिएको जानकारी दिँदै कार्यालयका सूचना अधिकारी औलाखबहादुर आलेले भन्नुभयो, “कार्यालयमा राष्ट्रिय परिचयपत्र लिनेको भीड कम भएको छैन।” 

भीड कम गर्न दैनिक ८० वटा कुपनको व्यवस्था गरिएको र भोलिपल्टका लागि पनि अग्रिम कुपन जाने गरेको छ। राहदानीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भएकाले पनि भीड बढ्दो क्रममा रहेको हो। राहदानी बनाउनेको भीड पनि उत्तिकै छ। कोरोना सङ्क्रमण कम हुँदै जान थालेपछि कार्यालय खुलेका दिन नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानी बनाउनेको भीड लागेको हो। 

कुपनको व्यवस्था गर्दा पनि चालू आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म नयाँ एक हजार ६९९ र प्रतिलिपि एक हजार ४०९ गरी तीन हजार १०८ वटा नागरिकता बनेको छ। 

अहिले कम्तीमा पनि दिनमा एक सयवटा नागरिकता बन्न थालेका छन्। यो महिनामा दुई हजारभन्दा बढी हुने देखिएको छ। नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी लिने ठाउँ छुट्टाछुट्टै व्यवस्था गरिए पनि सबै ठाउँमा उत्तिकै भीड लाग्ने गरेको छ।  

राहदानी पनि द्रुत ४० वटा गरी कुल दुई हजार ४७१ वटा बनेका छन्। आर्थिक वर्ष २०७८/७९ मा यहाँबाट आठ हजार ६३ वटा राहदानी, १२ हजार ५५६ वटा नागरिकता, १४६ वटा नाबालक परिचयपत्र, ११ हजार ७५९ वटा राष्ट्रिय परिचयपत्र बनेका थिए।